प्रस, रौतहट, १८ मङ्सिर/

कृषि तथा पशुपक्षी विकास मन्त्रालय, ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनामा आर्थिक कोरिडोर कार्यालय बर्दिबास, महोतरीका प्रमुख डा चन्द्रप्रसाद रिमालले आयोजनाका प्रमुख कार्यहरू, आयोजनाको कार्य क्षेत्र, आयोजना लागू हुने स्थानीय तहहरू, आयोजनाको संरचनागत व्यवस्था, आयोजनाको निर्देशक कार्यालय, आयोजनाका लाभग्राहीहरूबारेमा विस्तृत जानकारी गराएका थिए । उनले १४ अर्ब नेपाली रुपैयाँमा उत्पादनमूलक साझेदारी कार्यक्रम सञ्चालन हुने बताए ।

२०७७ चैत ६ गतेदेखि शुरू भई पाँच वर्षसम्म सञ्चालन रहने उनले बताए । २४ हजार किसानलाई पूरक अनुदान दिने उद्देश्य रहेको बताउँदै छ करोड रुपैयाँमा विभिन्न सहकारी, समूह, संस्थालाई सहयोग गर्ने लक्ष्य रहेको बताए । कृषि भवन तथा कृषि बजारका लागि नगरपालिकाले जग्गा उपलब्ध गराए आर्थिक कोरिडोर कार्यालय, बर्दिबासले भवन निर्माण गर्न बजेटको व्यवस्था मिलाउने उनले बताए ।

सोही अवसरमा गौर नगरपालिकाका प्रमुख अजयकुमार गुप्ताले पशु भवनको लागि जग्गा उपलब्ध गराइ भवन निर्माण गर्न आफू अग्रसर रहने बताए । रौतहट जिल्ला बाढीपीडित जिल्ला रहेकोले प्रत्येक वर्ष किसानलाई मर्का पर्दै आएको उनले बताए । यस आयोजनाको कार्यक्रमबाट नगरवासीले धेरैभन्दा धेरै उपलब्धि हासिल गरून् भने आशा र विश्वास लिएको उनले बताए ।

यसैगरी, मौलापुर नगरपालिकाकी प्रमुख रीनाकुमारी साहले आफ्नो पालिकामा पालिका कार्यालयले १४ बिघा जग्गा खरीद गरेकोले भवन बनाउन जग्गाको अभाव नरहेको बताइन् ।

जिल्ला समन्वय समिति, रौतहटका सभापति रामएकबाल राय यादवले आयोजनालाई धन्यवाद तथा शुभकामना व्यक्त गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ प्रदेश नं २ का कार्यसमिति सदस्य शैलेन्द्र झा, भेटेरिनरी अस्पतालका प्रमुख रामपवित्र दास, कृषि ज्ञान केन्द्र, गौरका अधिकृत अशोककुमार सिंहलगायत स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत तथा सम्बन्धित फाँटका कर्मचारीहरूको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here