विद्यार्थीको प्रदर्शनपछि सुरक्षा समितिको आकस्मिक बैठक, अङ्ग्रेजी शिक्षक बहाल, आन्दोलन स्थगित

0

प्रस, परवानीपुर, १३ मङ्सिर/

वीरगंज महानगरपालिका–२१ स्थित नेपाल गीता गजेन्द्रराज जोशी मावि, सुखचैनामा बुधवारदेखि नियमितरूपमा कक्षा सञ्चालन हुने भएको छ ।

सोमवार र मङ्गलवार विद्यार्थीहरूले अङ्ग्रेजी र विज्ञान विषयको शिक्षक माग गर्दै परवानीपुर सडकखण्ड र विद्यालयमा प्रदर्शन गरेपछि जिल्ला प्रशासन कार्यालय, पर्सामा सुरक्षा समितिको आकस्मिक बैठक बसेर वीरगंज महानगरपालिकालाई शिक्षकको व्यवस्थापन गर्न निर्देशन दिएपछि आज एकजना अङ्ग्रेजी शिक्षकको व्यवस्था गरिएको र भोलिदेखि नियमित पठनपाठन हुने गरी सहमति भएको छ । सुरक्षा समितिको आकस्मिक बैठकपछि वीरगंज महानगरको शिक्षा महाशाखाका हरिराउत कुर्मी, सम्पर्क व्यक्ति दिनेश चौरसियाले विद्यालयमा गएर बैठक गरी सहमति गरेका हुन् ।

विद्यालयमा अङ्ग्रेजी शिक्षक आजै हाजिर गराइएको छ । वीरगंज–२७ तिलावे प्राविमा अध्यापन गराउने सुमन चौरसियालाई सो विद्यालयबाट आज नेपाल गीता गजेन्द्रराज जोशी मावि, सुखचैनामा हाजिर गराइएको र विज्ञान विषयको शिक्षकको तुरुन्त व्यवस्था गर्ने गरी बुधवारदेखि विद्यालय सुचारु गर्ने सहमति भएको छ ।

विद्यालयमा भएको बैठकमा प्रअ राजकुमार सिंह, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष जीतेन्द्र कुर्मी, पूर्वसदस्य सरोज यादव, प्रहरी चौकी परवानीपुरका प्रहरी नायब निरीक्षक सुरेशनारायण साहलगायतको सहभागिता थियो ।

नेपाल गीता गजेन्द्रराज जोशी मावि, सुखचैनामा आठ सय विद्यार्थी अध्ययनरत छन् र त्यहाँ १५ जना शिक्षकको मात्र दरबन्दी छ । दरबन्दीमा रहेका १५ जनामध्ये चारजना नियमित अनुपस्थित हुने र उपस्थित भएका शिक्षकहरूले पनि कक्षामा गएर अध्यापन नगराउने गरेका कारण विद्यार्थीहरू आक्रोशित भएका हुन् । आज भएको सहमतिमा प्रअ सिंहको आदेश शिक्षकहरूले पालना गर्नुपर्ने र तोकिएको जिम्मेवारी अनुसार कक्षा लिनुपर्ने जनाइएको छ ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here