सडक बन्यो तर स्थानीयले मुआवजा पाएनन्

0

प्रस, निजगढ, १४ मङ्सिर/

सडक निर्माण भइसक्दा पनि सडकमा जमीन परेकाहरूले मुआवजा पाउन सकेका छैनन् ।
तामागढी–सिम्रौनगढ हुलाकी सडक अन्र्तगत कोल्हवी हुँदै सिम्रौनगढसम्मका स्थानीयको जमीन सडकमा परेको छ तर सोबापतको मुआवजा भने पाँच वर्षदेखि सरकारले दिएको छैन ।
त्यस बेला प्रतिकट्ठा रु २ लाख सरकारी मुआवजा तोकिएको तर पाँच वर्ष बित्दा पनि नपाएको स्थानीयले दुःखेसो पोखेका छन् । मुआवजा नपाएको र जग्गाको मोल बर्सेनि बढ्दै गएकाले पुरानो दररेटमा मुआवजा पाउँदा मर्का पर्ने उनीहरूले बताए ।

जिल्ला प्रशासन कार्यालय, बाराको ढिलाइका कारण स्थानीयले समयमैं सरकारी मुआवजा पाउन नसकेका हुन् । तामागढी–सिम्रौनगढ हुलाकी सडक अन्र्तगत चार सयभन्दा बढी मानिसको जमीन सडकमा परेको कोल्हवी नपाका गोविन्द मैनालीले जानकारी दिए । समय अनुसारको उचित मुआवजा पाउँ भन्दै जिल्ला प्रशासन कार्यालय, बारामा पीडितहरूको हस्ताक्षरसहितको लिखित निवेदन बुझाएको वर्ष दिन नाघे पनि जिप्रका, बाराले कुनै वास्ता नगरेको जग्गाधनीहरूको भनाइ छ ।

कोल्हवी नपाका सुरेन्द्र चौधरी, उत्तम मैनाली, प्रकाश चौधरीलगायतले बारम्बार यससम्बन्धी ध्यानाकर्षण गराउँदा पनि अहिलेसम्म कुनै सुनवाइ नभएको बताए ।

यस विषयमा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले भोलि नै यससम्बन्धी सरोकारवाला निकायको बैठक गर्ने बताए । जग्गाधनीहरूले मङ्गलवार खानेपानीमन्त्री उमाकान्त चौधरीलाई गुनासो गरेपछि मन्त्री चौधरीले प्रजिअ कटुवाल, हुलाकी राजमार्ग निर्देशनालय आयोजना, वीरगंजका प्रमुख दरोगा प्रसादलाई यथाशीघ्र समस्या समाधान गर्न आग्रह गरेका छन् ।

एक साताभित्र समस्या समाधान नभए पूर्व–पश्चिम राजमार्गको निजगढ सडकखण्डमा चक्काजाम गर्ने मुआवजापीडितहरूले बताए ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here