सौराहा, १४ मङ्सिर/रासस

नेकपा (एमाले)को दशौं राष्ट्रिय महाधिवेशनले फराकिलो मतान्तरसहित अध्यक्षमा पुनः केपी शर्मा ओलीलाई निर्वाचित गरेको छ ।

कुल खसेको दुर्ई हजार ९६ मतमध्ये अध्यक्ष ओलीले एक हजार आठ सय ४० मत प्राप्त गरेको पार्टीको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । महाधिवेशनमा दुर्ई हजार एक सय ५३ प्रतिनिधि रहेका थिए । मत परिणामबारे केहीबेरपछि आधिकारिक घोषणा हुने आयोगका सचिव बाबुराम दाहालले बताए ।

यही मङ्सिर १० गतेदेखि चितवनको सौराहामा शुरू महाधिवेशनमा गएराति भएको मतदानमा ओलीका प्रतिस्पर्धी डा भीमबहादुर रावलले दुर्ई सय २३ मत प्राप्त गरेका थिए । विद्युतीय भोटिङ मेशिनका आधारमा गरिएको मतदान र गणनाका कारण छिट्टै परिणाम निस्किएको हो । कतिपय प्रतिनिधिले अध्यक्षका दुवै उम्मेदवारलाई मत दिएको बुझिएको छ । अध्यक्ष ओली गत नवौं महाधिवेशनमा माधवकुमार नेपाललाई झिनो मतान्तरले पराजित गर्दै विजयी भएका थिए । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शङ्कर पोखरेललगायत पदाधिकारी भने निर्विरोध निर्वाचित भएका छन् । तीन उपमहासचिवमा प्रदीपकुमार ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल पनि निर्विरोध निर्वाचित भएका छन् ।

महाधिवेशनको बन्दसत्रको पहिलो दिन यही मङ्सिर ११ गते अध्यक्षमण्डलका अध्यक्ष ओलीलाई ३०१ सदस्यीय केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यका उम्मेदवारको नामावली प्रस्तुत गर्न अधिकार दिइएको थियो । अध्यक्ष ओलीले विभिन्न नेतासँगको परामर्शमा १२ गतेको बन्दसत्रमा नामावली प्रस्तुत गर्दा अधिकांशले सहमति जनाएकामा डा रावल, नेता घनश्याम भुसाललगायतका नेताले अस्वीकार गरेपछि निर्वाचन भएको हो । उपाध्यक्ष पदमा हलमा प्रस्तुत भएको नामावली अतिरिक्त उम्मेदवारी दिएका भुसाल अन्य उम्मेवारका तुलनामा पछि परेका छन् ।

नयाँ केन्द्रीय कमिटीको शपथ ग्रहण र पहिलो बैठक आजै सौराहामा हुँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here