प्रस, वीरगंज, १३ मङ्सिर/
जीराभवानी गाउँपालिका–२ सेढवामा शनिवार राति करीब १० बजे भएको बलात्कारको घटना मिलाउन पीडकका परिवारले पीडितका बुबालाई धम्की दिएको समाचार छ।
१२ वर्षीया नाबालिका दलितलाई राति घरमा कोही नभएको बेला स्थानीय युवकले जबरजस्ती करणी गरिरहेको बेला छिमेकीहरूले थाहा पाएपछि युवकलाई पक्राउ गरी प्रहरीको जिम्मा लगाएको थियो। घटनामा संलग्न रहेको आरोपमा १८ वर्षीय युवक प्रभु साहलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। पीडित नाबालिकाका बुबाका अनुसार छोरा विशाललाई उपचार गराउन नेशनल मेडिकल कलेज, वीरगंजमा आएको बेला घरमा कोही नभएको मौका छोपी युवकले छोरीलाई करणी गरेको बताए। नाबालिका अहिले माइती नेपालको जिम्मामा रहेको तथा आफू अहिले अस्पतालमा छोराको उपचार गराइरहेको बेला पीडकका आफन्तहरू अस्पतालमा पुगी मिलापत्र गर्न दबाब दिइरहेको उनले बताए। उनले मिलापत्र गर्न दबाब दिनुका साथै धाकधम्की दिएको पनि बताए। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले प्रारम्भिक अनुसन्धानमा नाबालिकासँग जबरजस्ती गरिएको पाइएकोले पक्राउ परेका युवकमाथि सोही कसूर अनुसारको मुद्दा दायर गरी थप अनुसन्धान अगाडि बढाएको बताए। पक्राउ परेका कानूलाई पर्सा जिल्ला अदालतबाट सात दिने म्याद थप गरी अनुसन्धान अगाडि बढाएको जिप्रका पर्साले जनाएको छ।
यसैगरी, जिप्रका पर्साले वीरगंज–७ रामटोल निवासी २१ वर्षीय विक्रम पटेललाई पनि जबरजस्ती करणीको आरोपमा पक्राउ गरी पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थपाइ अनुसन्धान शुरू गरेको छ।
जिप्रका, पर्साका प्रवक्ता प्रनाउ ओमप्रकाश खनालले मङ्सिर १० गते १७ वर्षीया बालिकालाई अनुचित प्रभावमा पारेर कुर्मीले श्रीसिया खोलाको रहरबारीमा बेलुकी १० बजे जबरजस्ती करणी गरेको भनी अभिभावकहरूले मङ्सिर १२ गते दिएको जाहेरी दरखास्तको आधारमा हिजो दिउँसो पक्राउ गरेको र आज अदालतबाट म्याद थप गराइ अनुसन्धान शुरू गरेको बताए।