प्रस, ठोरी, १३ मङ्सिर/
ठोरी गाउँपालिकाका सबै आधारभूत र माध्यमिक विद्यालयमा कक्षा ८ उत्तीर्ण छात्राहरूलाई गत हप्ता साइकल वितरण गरियो। प्रदेश २ सरकारको मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान अन्तर्गत ठोरी गापाका सबै सामुदायिक विद्यालयबाट गत शैक्षिकसत्र २०७७ मा कक्षा ८ उत्तीर्ण छात्राहरूले साइकल पाए।
साइकल पाएपछि अहिले कक्षा ९ मा अध्ययनरत छात्राहरूलाई माध्यमिक तह अध्ययन गर्न सहज भएको छ। ठोरीका कतिपय ठाउँका छात्राहरूलाई कक्षा ९ अध्ययनका लागि आधा घण्टाभन्दा धेरै हिंड्नुपर्ने बाध्यता थियो।
ठोरी गापा–४ निर्मलबस्तीबाट सोही वडाको घ्याङडाँडामा पढ्नका लागि आधा घण्टाभन्दा धेरै समय हिंड्नुपरेको ज्ञानज्योति मावि कक्षा ९ मा अध्ययनरत छात्रा डोल्मा गोलेले बताइन्। तर साइकल पाएपछि अहिले विद्यालय १० मिनेटमा पुग्ने गरेको बताइन्।
अर्की छात्रा मोनिका तामाङले पनि साइकल पाएपछि आफूलाई सहज भएको प्रतिक्रिया दिइन्। उनीजस्तै निर्मलबस्तीबाट ज्ञानज्योति पढ्न आउने धेरैजसो छात्रा अहिले समयमा नै विद्यालय आइपुग्ने गरेका छन्। विद्यालयमा अतिरिक्त समयमा सञ्चालन भइरहेको कोचिङ कक्षा पढ्न नपाएका उनीहरू अहिले भने कोचिङ कक्षा पढ्न थालेका छन्। यसअघि कोचिङ पढेर घर पुग्दा र फर्कंदा विद्यालयमा पहिलो घण्टी नै पढ्न नपाइने भएकोले कोचिङ पढ्न नसकेको सोही विद्यालयमा अध्ययनरत ठोरी गापा–४, स्याउलीबस्तीकी छात्रा मनमाया गोलेले बताइन्। प्रदेश सरकारको सहयोगमा साइकल पाएपछि आफूहरू पैदल विद्यालय जान बाध्य हुनुपर्ने समस्याबाट मुक्त भएको छात्राहरूको भनाइ छ।
घरबाट विद्यालय जान र विद्यालयबाट घर पुग्न लाग्ने समयकै कारण घरको सामान्य कामसमेत गर्न नभ्याएको बेला अहिले साइकलमा ओहोरदोहोर गर्न थालेपछि सहज भएको उनीहरूको भनाइ छ।
यसैगरी, छात्राहरूले प्राप्त गरेको साइकल लामो समयदेखि थन्क्याएर राखेका हुनाले कतिपयको चलाउन गा–हो भएको गुनासोसमेत छ। साइकल पाएपछि विद्यालय आउन–जान र कोचिङ कक्षा पढ्न पाएकाले पढाइमा सुधार भएको गोलेले बताइन्।
ठोरी गापामा छवटा माध्यमिक विद्यालय छन्। अधिकांश माध्यमिक विद्यालयको सेवा क्षेत्र करीब तीनदेखि पाँच किलोमिटरसम्मको दूरीमा रहेकाले साइकल पाएका छात्राहरूलाई अध्ययनको लागि विद्यालय जान सहज भएको छ।