प्रस, वीरगंज, १३ मङ्सिर/

भारत सरकारको नेरु एक करोड २७ लाख आर्थिक सहयोगमा दार्चुला जिल्लाको खलङ्गा, तिङ्करमा रहेको मोती महिला सङ्घ प्राथमिक विद्यालयको नयाँ भवनको हिजो आइतवार भारतीय राजदूतावासका नियोग उपप्रमुख नामग्य सी खम्पा, जिल्ला समन्वय समिति, दार्चुलाका संयोजक, विद्यालय व्यवस्थापन समिति पदाधिकारी र स्थानीय प्रतिनिधिहरूले संयुक्तरूपमा उद्घाटन गरेका थिए। सन् १९६० मा स्थापना भएको सो विद्यालयले लामो समयदेखि प्राथमिक तहको गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी दार्जुला जिल्लाका सीमान्तकृत तिङ्करी र भुटिया समुदायका छन्। हाल विद्यालयमा अध्ययनरत ३९१ जना विद्यार्थीमध्ये ५० प्रतिशत छात्रा छन्। नवनिर्मित भवनले ग्रामीण क्षेत्रको सिकाइ वातावरणलाई सुधार गर्नुका साथै सो जिल्लाको शैक्षिक विकासमा टेवा पु–याउने भारतीय राजदूतावासको कार्यालयले जनाएको छ।

हिजै भारत–नेपाल विकास सहकार्य अन्तर्गत भारत सरकारको नेरु दुई करोड ३३ लाख आर्थिक सहयोगमा दार्चुला जिल्लाको महाकाली–७ धापस्थित  मालिकार्जुन नमूना माध्यमिक विद्यालयको नयाँ  भवनको पनि भारतीय राजदूतावासका नियोग उपप्रमुख नामग्य सी खम्पा, महाकाली नगरपालिका, दार्चुलाका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र स्थानीय जनप्रतिनिधिहरूले संयुक्तरूपमा उद्घाटन गरेका थिए। सन् १९६६ मा स्थापना भएको यो विद्यालय सन् १९८४ मा माध्यमिक तहमा स्तरोन्नति भएको हो।

विद्यालय सुदूरपश्चिम क्षेत्रमा छ। विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई अध्ययन गराउन यसअघिको पूर्वाधार अपर्याप्त भएकोले भारत–नेपाल विकास सहकार्य अन्तर्गत निर्माण भएको र दुर्गम क्षेत्रमा अध्ययनका लागि राम्रो वातावरण सिर्जना गर्नुका साथै जिल्लाको शैक्षिक विकासमा समेत योगदान पुगेको भारतीय राजदूतावासको कार्यालयले जनाएको छ।

सन् २००३ यता भारतले नेपालमा ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाइसकेको छ। हालसम्म ४५९ वटा परियोजनाको निर्माण सम्पन्न भइसकेको छ, जसमध्ये दार्चुला जिल्लाका छ गरी सुदूरपश्चिम प्रदेशमा ३२ वटा रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here