प्रस, सौराहा, १३ मङ्सिर/
चितवनमा जारी नेकपा एमालेको दशौं महाधिवेशनमा पदाधिकारी सदस्यहरू सर्वसम्मत हुन नसकेपछि निर्वाचन विधिबाट पदाधिकारी सदस्यहरूको चयन हुने भएको छ।
आइतवार बन्दसत्रले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व चयनको जिम्मेवारी दिएको थियो। पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय समितिको चयनमा अध्यक्ष ओलीले तयार पारेको सूचीमा धेरैजनाले असन्तोष जनाएका थिए। अध्यक्ष ओलीको सूची सार्वजनिक भएसँगै असन्तोष बढेको र महाधिवेशनलाई वैधानिकता दिन निर्वाचन कार्यक्रम अनिवार्यरूपमा तय गर्ने क्रममा असन्तुष्टहरूले सूचीविपरीत उम्मेदवारी दिएपछि सर्वसम्मत हुन नसकेको हो।
सर्वसम्मत नभएपछि सोमवार बिहानदेखि उम्मेदवारी दर्ता भएको थियो। केही पदमा निर्विरोध भएको छ। राति ९ बजेदेखि निर्वाचन तय गरिएको छ। राति ९ बजेदेखि मङ्गलवार बिहान १ बजेसम्म निर्वाचन र त्यसपछि मतगणनाको समय तय गरिएको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले बताए।
निर्वाचन आयोगले जारी गरेको उम्मेदवारी सूचीमा अध्यक्ष पदमा केपी शर्मा ओली र भीम रावलले उम्मेदवारी दर्ता गराएका छन्। वरिष्ठ उपाध्यक्ष पदमा ईश्वर पोखरेल निर्विरोध भएका छन्। उपाध्यक्ष खुला ६ पदका लागि ७ जनाको उम्मेदवारी परेकाले निर्वाचन हुँदैछ। यो पदमा अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुवासचन्द्र नेम्वाङ र सुरेन्द्रप्रसाद पाण्डे उम्मेदवार छन्।
महासचिवमा शङ्कर पोखरेल र उपमहासचिवमा पृथ्वी सुब्बा गुरुङ, प्रदीप ज्ञवाली, विष्णु रिमाल निर्विरोध भएका छन्। सचिव खुलातर्फ सातवटा पदमा गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टङ्कप्रसाद कार्की, टोपबहादुर रायमाझी, पद्माकुमारी अर्याल, भीम आचार्य, योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्ट गरी नौजनाको उम्मेदवारी परेकाले निर्वाचन हुँदैछ।
प्रदेशका अधिकांश पद निर्विरोध भएका छन्। प्रदेश २ को भौगोलिक क्ष्Fेत्रबाट केन्द्रीय सदस्यमा अरविन्द सिंह, उपेन्द्र साह, प्रभु साह, राजकुमार लेखी, लीलानाथ श्रेष्ठ र सुमन प्याकुरेल निर्विरोध भएका छन्। तराई मधेस आरक्षित केन्द्रीय सदस्यमा राजकुमार गुप्ता र प्रभु हजरा तथा महिलामा निर्मला देवकोटा पनि निर्वाचित भएका छन्। पर्सा जिल्लाबाट चारजना केन्द्रीय सदस्य निर्वाचित भएका हुन्।
यसैगरी, प्रदेश २ को महिलातर्फ कल्पना कटुवाल, रञ्जना सरकार र रेखाकुमारी झा पनि निर्विरोध भएका छन्।
मधेसी महिलामा कमलादेवी महतो, जुलीकुमारी महतो, ज्वालाकुमारी साह, रीतादेवी साह, शीला यादव, सरिता गिरी यादव निर्विरोध भएका छन्। मुस्लिम महिलामा साजिदा खातुन सिद्धिकी र दलित महिलामा विष्णुमाया विक, रामरतीदेवी राम, शिवकुमारी गोतामे र सविता रसाइली पनि निर्विरोध भएका छन्। श्रमिक खुलातर्फ विनोद श्रेष्ठ, रमेश बडाल, कमल गौतम, बाबुराम थापा र श्रमिक महिलातर्फ मञ्जुकुमारी थापामगर, सीता लामा पनि निर्विरोध भएका छन्। उपत्यका विशेषमा
खुलातर्फ माधव ढुङ्गेल र महिलामा बिनाकुमारी श्रेष्ठ निर्विरोध भएको निर्वाचन आयोगका अध्यक्ष डा सुब्बाले बताए।