प्रस, पोखरिया, १३ मङ्सिर/
पोखरिया युवा समाजद्वारा पोखरिया नपा–७ तेराखेल मैदानमा जारी टी–२० मेयर कप क्रिकेट प्रतियोगिताको सोमवारदेखि सेमिफाइनल चरणको खेल शुरू भएको छ।
आज भएको पहिलो सेमिफाइनल खेलमा पोखरिया नगरपालिकाले विन्ध्यवासिनी गाउँपालिकालाई पराजित गर्दै फाइनलको यात्रा सुरक्षित गरेको छ। टस जितेर पोखरिया नपाले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाइ दुई सय रन बनाएको थियो। प्रतिउत्तरमा २०१ रनको विजय लक्ष्य लिएर मैदानमा उत्रेको विन्ध्यवासिनी गापा २० ओभरमा ९ विकेट गुमाएर १८६ रनमा सीमित रह्यो।
पहिलो सेमिफाइनलको म्यान अफ दी म्याच पोखरिया नपाका अभिषेक प्रजापति घोषित भए। उनले ४ विकेट र १५ रन लिएका थिए।
दोस्रो सेमिफाइनल खेल मङ्गलवार छिपहरमाई गापा र कालिकामाई गापाबीच हुने पोखरिया युवा समाजका सदस्य राकेश महतोले बताए।