जेरुसेलम, १२ मङ्सिर/सिन्ह्वा
हालै अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएपछि इजरायलले आफ्ना नागरिकलाई अफ्रिकी देशहरूको भ्रमणमा प्रतिबन्ध लगाएको छ। प्राप्त समाचारहरूमा इजरायलले हाल कुनै थप प्रतिबन्धहरूको घोषणा गरेको त छैन तर हालका लागि अफ्रिकी देशहरूको भ्रमणमा आफ्ना नागरिकहरूलाई रोक लगाएको जनाएको छ।
बिहीवार इजरायलले सातवटा अफ्रिकी देशलाई रातो सूचीमा राखेर ती देशको यात्रामा प्रतिबन्ध गरेकामा शनिवार सबै अफ्रिकी देशमा नजान आफ्ना नागरिकमाथि प्रतिबन्ध लगाएको हो। त्यस्तै, इजरायलले हाल करीब ५० वटा अफ्रिकी देशहरूमा रहेका आफ्ना नागरिकहरूलाई पनि स्वदेश फर्किन भनेको छ। इजरायलले भनेको छ कि आफ्ना नागरिकहरू ती अफ्रिकी देशमा रहेका भए कम्तीमा सात दिनभित्रमा स्वदेश फर्किन पनि भनेको छ।
यो नयाँ भेरियन्ट विश्वका विभिन्न देशहरूमा देखिन थालिसकेको समाचारहरू आएका छन्। उता यो भेरियन्ट भेटिएपछि बेलायतले अहिलेको भन्दा थप कडा प्रतिबन्धहरूको घोषणा गरेको छ। त्यस्तै, अस्ट्रेलियामा पनि अफ्रिकी देशहरूबाट हुने यात्रामा कडाइ गरिएको छ। अस्ट्रेलियाले अरू देशबाट आउने उडानहरूका साथै विशेषगरी अफ्रिकी देशको यात्रामा थप निगरानी बढाइएको जनाएको छ।
हालै अफ्रिकामा देखिएको यो भेरियन्ट अहिलसम्मकै सबैभन्दा बढी खतरनाक पाइएको अनुसन्धानबाट देखिएको छ। यो भेरियन्ट देखिएपछि यसको अनुसन्धान शुरू भएको बताइएको छ।
बेलायतमा थप प्रतिबन्धको घोषणा
लन्डन/सिन्ह्वा
हालै अफ्रिकामा भेटिएको भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएपछि बेलायतले थप प्रतिबन्धहरूको घोषणा गरेको छ। प्राप्त समाचारहरूमा बेलायतले अहिलेको भन्दा थप कडा प्रतिबन्धहरूको घोषणा गरेको हो। त्यस्तै, बेलायत आउने अरू देशका उडानहरूमा पनि निगरानी बढाइएको छ।
बेलायत आउने हरेक यात्रीले दुर्ई दिन मात्र यताको स्वास्थ्य रिपोर्ट अनिवार्यरूपमा देखाउनुपर्ने र बेलायत पुगेपछि पनि पिसिआर परीक्षण गरिनेछ। यसरी गरिएको परीक्षणमा यदि कोरोना भाइरस पोजेटिभ देखिएमा आफैं आइसोलेशनमा बस्नुपर्ने र नेगेटिभ रिपोर्ट आएपछि मात्र बाहिर निस्किन पाउने बताइएको छ।
हालै अफ्रिकामा देखिएकोे भनिएको नयाँ भाइरस बेलायतमा देखिएको कुरा यहाँका स्वास्थ्यमन्त्री साजिद जाभिदले शनिवार जानकारी दिएका छन्।
यो भाइरसको सङ्क्रमण देखिएका दुर्ईजनालाई आइसोलेशनमा राखिएको र उनीहरूको थप स्वास्थ्य अनुसन्धान जारी रहेको पनि उनले बताए। बेलायतका प्रधानमन्त्रीले यो भाइरसको प्रभाव अहिलेको भन्दा निकै खतरनाक रहेको भन्दै थप प्रतिबन्धहरूका बारेमा जानकारी दिएका हुन्।
उनले हाललाई विदेशबाट आउने उडानहरूमा सतर्कता अपनाइने र यात्रीहरूको पिसिआर परीक्षणलाई अनिवार्य गरिने जानकारी दिएका हुन्।
साथै बेलायतमा यात्राका क्रममा तथा सार्वजनिक यातायातमा अनिवार्यरूपमा मास्कको प्रयोग गर्नुपर्ने नियम पनि सार्वजनिक गरिएको बताइएको छ।
अस्ट्रेलियामा ओमिक्रोन भेरियन्ट भेटियो
सिड्नी/एएफपी
अस्ट्रेलियाका स्वास्थ्य अधिकारीहरूले आइतवार सिड्नीमा उडेका दक्षिणी अफ्रिकाका दुई यात्रीहरूको स्वास्थ्य परीक्षण गर्दा पहिलोपटक कोभिड ओमिक्रोन स्ट्रेन पत्ता लागेको जनाएका छन्।
पूर्वी राज्य न्यू साउथ वेल्सको स्वास्थ्य प्राधिकरणले शीघ्र जिनोमिक परीक्षणमा उक्त सङ्क्रमण भेटिएको जनाएको छ।
भारतमा एकै दिन आठ हजार ७७४ नयाँ कोरोना सङ्क्रमित
नयाँ दिल्ली/एएनआई
भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा थप आठ हजार ७७४ जना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइतवार जानकारी दिएको छ। यसै अवधिमा कोरोना सङ्क्रमणबाट ६२१ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ। यसैसँगै भारतमा कोरोना शुरू भएबाट हालसम्म कोरोनाबाट चार लाख ८ हजार ५५४ जनाको मृत्यु भएको छ।
भारतमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख ५ हजार ६९१ रहेको जनाइएको छ। सक्रिय सङ्क्रमितको यो सङ्ख्या ५४३ पछिकै सबैभन्दा कम भएको पनि मन्त्रालयका अधिकारीले जनाएका छन्।
पछिल्लो २४ घण्टामा भारतमा नौ हजार ८६८ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन्। भारतमा अहिलेसम्म सङ्क्रमण मुक्ति भएकाको सङ्ख्या तीन करोड ३९ लाख ७७ हजार ८३० रहेको मन्त्रालयले जनाएको छ। हिजो शनिवार ९ हजार ४८१ व्यक्ति कोरोनाबाट मुक्त भएका थिए। भारतमा कोरोना मुक्ति दर कुल सङ्क्रमितको ९८.३३ प्रतिशत पुगेको छ। कोरोना सङ्क्रमण निको भएकाको यो दर २०२० को मार्चपछिकै सबैभन्दा धेरै भएको मन्त्रालयका अधिकारीको भनाइ रहेको छ। यसैसँगै भारतमा कोरोना शुरू भएयता हालसम्म तीन करोड ३९ लाख ९८ हजार २७ व्यक्ति कोरोना भाइरस सङ्क्रमणबाट निको भएको जनाइएको छ।
यहाँ हालसम्म ६४ करोडभन्दा बढी व्यक्तिको कोरोना भाइरसको परीक्षण भएको जनाइएको छ। भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरू भएको थियो। सो समयदेखि हालसम्म एक अर्ब २१ करोड ९४ लाखभन्दा बढी मात्रा खोप लगाइएको छ। रासस