जनकपुर, १२ मङ्सिर/रासस
धार्मिक आस्थासँग जोडिएको ऐतिहासिक सीताराम विवाह पञ्चमी महोत्सव भव्यपूर्वक मनाउन तयारीमा जुटेका जनकपुरवासी बढ्दो फोहरको डङ्गुरले चिन्तित बनेका छन्। जनकपुर उपमहानगरपालिकाका कर्मचारीको आन्दोलनका कारण विगत एक सातादेखि फोहर नउठ्दा नगर क्षेत्रका सडकमा फोहरको डङ्गुर बढेर दुर्गन्ध फैलिन थालेकाले जनकपुरवासी चिन्तित बनेका हुन्।
यहाँका मुख्य सडक तथा गल्लीसँगै धार्मिकस्थलमा समेत फोहरको डङ्गुर लागेपछि महामारी फैलिने त्राससमेत बढेको स्थानीयवासीले बताए। फोहर थुपिंदै गएपछि यहाँका सडक सुङ्गुर खेल्ने र रमाउने स्थलका रूपमा परिणत हुन थालेको जनकपुर उपमहानगरपालिका– २ कदम चोकका श्याम साहले चिन्ता व्यक्त गरे।
“उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीबीचको विवादले विगत एक सातादेखि नगर क्षेत्रको फोहर उठ्न सकेको छैन,” उनले भने, “जनकपुरका सबै सडक र गल्लीमा फोहर थुप्रिएर दुर्गन्ध फैलिन थालेको छ भने लामखुट्टेको प्रकोप पनि बढ्दै गएको छ। यस्तै रहे जनकपुरमा हैजा नफैलिएला भन्न सकिन्न।”
भगवान् रामसीताको विवाहसँग जोडिएको विवाह पञ्चमी महोत्सव यस वर्ष पनि जनकपुरमा साताव्यापीरूपमा मनाउने तयारी गरिएको छ। मङ्सिर १७ देखि २३ गतेसम्म विविध कार्यक्रम गरी धूमधामका साथ मनाउने तयारी भइरहेका बेला जनकपुरका सडकमा थुप्रिएको फोहरले सबैलाई निराश बनाएको प्रदेशसभा सदस्य रामअशिष यादवले बताए।
सिङ्गो हिन्दू समुदायको धार्मिक आस्थासँग जोडिएको विवाह पञ्चमी महोत्सव शुरू हुन एक साताभन्दा पनि कम समय बाँकी रहँदासमेत उपमहानगरपालिकाले फोहर उठाउन चासो नदिंदा जनकपुरवासीमा चिन्ता बढेको उनको भनाइ थियो।
“जनकपुर उपमहानगरपालिकाले फोहर सङ्कलनमा गम्भीर नभएकाले नगर क्षेत्र दुर्गन्धित भएको हो,” प्रदेशसभा सदस्य यादवले भने, “जनप्रतिनिधि र कर्मचारीको विवादका कारण सिङ्गो जनकपुर नै फोहर थुप्रेर कुरूप बन्न पुगेको छ। यो कदापि उचित होइन, तसर्थ छिटोभन्दा छिटो फोहर उठाएर नगर क्षेत्रलाई सफा बनाउनुपर्छ।”
“विवाह पञ्चमीका समयमा नेपाल तथा छिमेकी मुलुक भारतबाट लाखौंको सङ्ख्यामा श्रद्धालु भक्तजन जनकपुर आउने गर्छन्,” उनले बताए, “यस्तै अवस्था रहे जनकपुर महामारीको चपेटामा पर्ने र यहाँको पहिचान नै सङ्कटमा पर्न सक्ने खतरा छ।”
त्यसैले आन्तरिक घरझगडाका कारण सिङ्गो जनकपुरवासीलाई फोहरको चपेटामा पार्न नहुने प्रदेशसभा सदस्य यादवको भनाइ थियो। नगर क्षेत्रको चारैतिरका सडक, गल्ली र धार्मिकस्थलमा फोहरको डङ्गुर बढ्दै गएकाले नजीकिंदै गरेकोे विवाह पञ्चमी महोत्सवमैं असर पार्ने चिन्ता बढेको जानकी मन्दिरका महन्त रामरोशन दास श्रीवैष्णवले बताए।
“हामीले विवाह पञ्चमीका दिन भारतको अयोध्याबाट आउने जन्तीको स्वागत गर्नेदेखि श्रद्धालुको सुविधाका लागि पण्डाल तथा स्वागतद्वार निर्माणलगायत तयारीमा जुटेका छौं,” उनले भने, “तर नगर क्षेत्रमा बढ्दो फोहरले गर्दा समस्यामा परेका छौं।” नगर क्षेत्रको फोहर उठाएर विवाह पञ्चमीमा आउने श्रद्धालुका लागि सरसफाइ र खानेपानीको व्यवस्था मिलाइदिन उपनगरप्रमुखसँग आग्रह गरे पनि कुनै प्रगति नभएको उनको गुनासो थियो।
वडा नं ४ का अध्यक्ष सुदर्शन सिंह र वडा सदस्य पङ्कज मण्डलले कुटपिट गरेको भन्दै कर्मचारी विगत एक सातादेखि सरसफाइलगायत सम्पूर्ण कामकाज ठप्प पारेर आन्दोलनमा उत्रेका छन्। गत मङ्गलवार वडा ३, ४ र ७ का वडाध्यक्ष तथा वडा सदस्यले नगरको सरसफाइका विषयलाई लिएर उपमहानगरपालिका कार्यालयमा नाराबाजी गर्नाका साथै उपमहानगरप्रमुख लालकिशोर साहको कार्यकक्षमा तालाबन्दीसमेत गरेका थिए। जनप्रतिनिधि र कर्मचारीबीचको विवाद साता बित्न लाग्दासमेत समाधान गर्नेतर्फ कुनै पहल नभएको स्थानीयवासीको गुनासो थियो।
एकातिर विवादकै कारण लामो समयदेखि फोहर उठ्न नसक्दा जनकपुर दुर्गन्धित बनेको छ भने अर्कोतिर दैनिकरूपमा उत्पादन हुने फोहरको व्यवस्थापन कहाँ गर्ने भन्ने चुनौती थपिएको छ। बढ्दो शहरीकरण र जनसङ््ख्याका कारण नगर क्षेत्रमा दैनिक फोहर बढ्दै गएको छ। “प्रदेश २ को अस्थायी राजधानी हुनुपूर्व अर्थात् केही वर्षअघिसम्म उपमहानगरपालिका क्षेत्रमा दैनिक छ/सात मेट्रिक मात्र फोहर उत्पादन हुन्थ्यो,” उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेघीलाल यादवले भने,“अहिले जनकपुरमा दैनिक १० मेट्रिक टन फोहर उत्पादन भइरहेको छ तर फोहर फाल्ने डम्पिङ साइट बनाउन सकिएको छैन। जसका कारण फोहर फ्याल्नै गा–हो भइरहेको छ।”
नगर क्षेत्रमा फोहर उठ्न नसकेको भन्दै चौतर्फी गुनासो उठ्न थालेपछि आफूले फोहर व्यवस्था गर्न पहल गरे पनि उपमहानगरपालिकाबाट सहयोग नपाएकाले सफल नभएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले बताए।
“फोहरले नगर नै दुर्गन्धित भयो भनेर धेरैतिरबाट गुनासो आएपछि मैले आफैं नगरप्रमुखलाई फोन गरेर विवाद समाधान गरी फोहर व्यवस्थापन गर्न आग्रह गरें तर नगरप्रमुखज्यूले म किन वडाध्यक्षसँग कुरा गर्नु भन्दै पन्छिनुभयो,” प्रजिअ बाँस्तोलाले भने, “त्यसपछि सुरक्षाकर्मी र अन्य सरोकारवाला निकायको सहयोगमा फोहर उठाउने प्रयास गरें तर नगर क्षेत्रमा फोहोर फ्याँक्ने डम्पिङ साइट नभएकाले समस्या भएको छ।” फोहरले ठूलो समस्या निम्त्याउन सक्ने भएकाले समयमैं यसको व्यवस्थापन गर्नेतर्फ उपमहानगरपालिका चनाखो हुनुपर्ने र त्यसका लागि सरोकारवालाले पनि पहल गर्नुपर्ने उनको भनाइ थियो।