सौराहा, १२ मङ्सिर/रासस
नेकपा (एमाले)को महाधिवेशनमा नयाँ सहमतिमा नेतृत्व चयनका लागि निर्णायक पहल भइरहेको छ।
चितवनको सौराहामा आइतवार बिहान १० बजे शुरू हुने भनिएको बन्दसत्रको दोस्रो दिन दिउँसो २ः३० बजेसम्ममा समेत शुरू हुन सकेको थिएन। प्रतिनिधि बिहानको खानापछि बन्दसत्र हलमा प्रवेश गरिसकेका थिए भने पार्टीका अध्यक्ष केपी शर्मा ओलीलगायतका नेता आवासका लागि प्रबन्ध गरिएको होटेलमा अनौपचारिक छलफलमा जुटेका थिए।
केन्द्रीय कमिटीको पदाधिकारी र सदस्यका आकाङ्क्षी प्रतिनिधिकाबीच मत माग्नतिर भन्दा अध्यक्ष ओली र उनी निकटका शीर्ष नेतालाई आफ्नो नाम नछुटाउन लबिङ गरिरहेका छन्। त्यसरी जाने नेता र प्रतिनिधिलाई अध्यक्ष ओलीले ठोस जवाफ नदिई फर्काउने गरेको बुझिएको छ। सहमतिको नाम प्रस्ताव गर्ने अधिकार बन्दसत्रले अध्यक्ष ओलीलाई दिएकोले सबैको दबाब र आशाको केन्द्रमा अध्यक्ष ओली परेका छन्।
अध्यक्ष ओली बसेको होटेल पार्क सफारीमा नेता कार्यकर्ताको आउने जानेक्रम चलिरहेको छ। अध्यक्ष ओलीले विभिन्न नेतासँग सामूहिक र अलग–अलग छलफल गरिरहेका छन्। आज बिहान विदेशी पार्टीका प्रतिनिधिसँग आपसी भेटघाटपछि अध्यक्ष ओलीले पार्टीका नेतालाई परामर्शमा बोलाएको जनाइएको छ।
अध्यक्ष ओलीसँग उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल, स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डे, शङ्कर पोखरेललगायत नेताले छलफल गरेका थिए। महासचिव पोखरेल र उपमहासचिव पौडलले सोही होटेलमा बेग्लै छलफल पनि गरेका जनाइएको छ। अन्य नेताहरू रहेका होटेलमा पनि विभिन्न नेताबीच छलफल भइरहेका छन्।
महाधिवेशनमा अधिकांश नेता र प्रतिधिनिले सर्वसम्मतिमा अध्यक्ष ओलीको नेतृत्वमा नयाँ केन्द्रीय समिति चयन गर्न दबाब दिएपछि शनिवारको बन्दसत्रले ३०१ सदस्यीय केन्द्रीय कमिटीको उम्मेदवारको नामावली प्रस्तुत गर्ने जिम्मेवारी अध्यक्ष ओलीलाई दिएको थियो। उपाध्यक्ष भीम रावलले सहमतिमा नभई निर्वाचनबाट नेतृत्व चयन हुनुपर्ने र आफूले अध्यक्षमा उम्मेदवारी दिने अडान लिएपछि सर्वसम्मतिको प्रयासमा कठिनाइ उत्पन्न भएको छ।
एमालेका सचिव योगेश भट्टराईले दशौं महाधिवेशन एक विशिष्टरूपमा सञ्चालन भइरहेको र महाधिवेशनको हलले सहमतिमा नेतृत्व ल्याउने भनिसकेपछि आकाङ्क्षीको व्यवस्थापन र मूल्याङ्कन गर्ने काम नेतृत्वको भएको बताए। उनले प्रतिनिधिले मत दिएर नचुनेमा प्रतिनिधिको विवेकको मूल्याङ्कन ठानिने तर निर्वाचन नहुने भएकाले अब सही मूल्याङ्कन नहुने भन्ने नेतृत्वमा भर पर्ने प्रतिक्रिया दिए। “नेतृत्वले कार्यकर्ताको मनोभावना बुझेर नेतृत्वले विवेकसम्मतरूपमा प्रस्ताव ल्याउने र अध्यक्ष ओलीले उपाध्यक्ष रावललगायत सबैसँग संवाद गरेर समेट्न र अन्य नेताले अध्यक्ष ओलीलाई साथ दिन सक्नुपर्छ,” नेता भट्टराईले भने।
उनले आफूहरूले सोही अनुसारको सुझाव अध्यक्ष ओलीलाई दिएको जनाउँदै जनताको बहुदलीय जनवादको सिद्धान्तबमोजिम संवाद, परामर्श र छलफल गरेर निष्कर्ष निकाल्न सकिने र आम प्रतिनिधिको चाहनाबमोजिम सहमति हुने र अन्तिममा मिल्नै नसकिने भएमा निर्वाचनको विधिलाई पनि कायमै राखिने बताए। बन्दसत्र स्थल बाहिर प्रतिनिधि र कार्यकर्ता व्यग्रतापूर्वक नयाँ नेतृत्वको प्रतीक्षा गरिरहेका छन्। निर्वाचन लड्ने आकाङ्क्षा राखेका प्रतिनिधि पनि सहमतिमा नेतृत्व भएमा आफू नपरे पनि सन्तुष्ट हुने बताउँछन्।
पार्टीका केन्द्रीय सदस्य देवी ज्ञवाली अध्यक्षमा केपी ओली सर्वसम्मत भएमा आफूहरू सूचीमा नपरे पनि फरक नपर्ने बताए। अखिल नेपाल महिला सङ्घकी नेत्री शर्मिला कार्कीले हलमा आम प्रतिनिधिले सहमतिका म्यान्डेट दिइसकेकाले उपाध्यक्ष रावल वा अरूले अर्गेलो गर्न नहुने बताइन्।
संविधानसभाका सदस्य एवं एमाले नेत्री रञ्जु झाले आम प्रतिनिधिको भावनालाई मान्नुपर्ने र त्यसमा नेतृत्वले विवेकसम्मतरूपमा प्रस्ताव ल्याउने
अपेक्षा व्यक्त गरिन्। युवा नेत्री रचना खड्काले हलले दिएको कार्यादेश बमोजिम नेतृत्वले विवेकसम्मतरूपमा प्रस्ताव ल्याउने विश्वास व्यक्त गर्दै प्रतिनिधि त्यस्तो प्रस्तावको प्रतीक्षा गरिरहेको जनाइन्।