१० गते प्रतीकमा विश्वराज अधिकारीको लेख ‘आन्तरिक पर्यटनद्वारा गरीबी कम गर्न सकिन्छ’ पढें। चरम पूँजीवादी देश अमेरिकामा बसेर पनि समाजवादी विचार राख्ने लेखकका लेख मलाई धेरै मन पर्छ। त्यसैले त त्यसै विचारकी नेपाली सरहाना श्रेष्ठ अमेरिकामा राज्यसभाको चुनाव लड्दैछिन्।

समानता, लोकतन्त्र र स्वतन्त्रताका लागि समाजवाद आजको अपरिहार्य आवश्यकता बनेको छ। तर अपशोच अमेरिका समाजवादको मूल्यमा लोकतान्त्रिक छ र चीन लोकतन्त्रको मूल्यमा समाजवादी छ। दुवै मलाई ठीक लाग्दैन। अतः नेहरू भारतमा र विपी नेपालमा उदाए। तर आज भारत पनि अमेरिकाको बाटो लागेको छ भने विपीको घाँटी त राजा महेन्द्रले नै निमोठिदिए। समाजवादका दुश्मन यिनै धनाढ्य, तानाशाह र कर्पोरेटजगत् हुन्। त्यसैले अमेरिकामा पनि गरीब छन्। म लेखकको गरीबी निवारणको मतसँग शतप्रतिशत सहमत छु। तर नेपालको अवस्था पनि अफगानिस्तानजस्तो हुनेछ भन्ने उनको भनाइसँग सहमत छैन। यसका कारण छन्। जहाँ अफगानिस्तानका सीमा विभिन्न विचारका छ देशसँग मिल्छ, नेपालको केवल भारत र चीनसँग। भारतले कहिले पनि अन्य देशलाई नेपालमा पस्न दिंदैन। नेपालमा अमेरिकाले रजगज ग–यो, युरोपले रजगज ग–यो। अब चीन त्यस बाटोमा छ। तर चीनले रूसको हबिगत राम्ररी नियालेको छ। त्यही हबिगत भोग्न चीन अवश्य चाहँदैन। चीन अब विचार होइन, व्यापार र सामान निर्यात गर्ने बाटोमा छ। चीनको अर्को व्यवधान स्वयम् तिब्बत हो, जो नेपालको लागि बफरको काम गर्छ, त्यो सुविधा अफगानिस्तानमा नदारद छ। रह्यो कुरा भारतको, उसले नेपाललाई आपूmभन्दा भिन्न मानेकै छैन। अतः भारतलाई नेपाल पस्न जरुरी छैन। चीन पस्दैन, भारत पस्दैन भने अरू पस्ने कुरै आउँदैन। यहाँ विश्व आतङ्कवादको पनि खतरा किन छैन भने नेपाल मूलतः हिन्दू राष्ट्र हो। जुन आन्तरिक आतङ्कवादको चर्चा लेखकले गरेका छन्, त्यो पनि यही कारणले सेलायो। म ग्यारेन्टीका साथ भन्न सक्छु कि नेपाल कहिले पनि अफगानिस्तानको हालतमा पुग्नेछैन। जुन दिन नेपाल स्वयम्को बलमा उफ्रिन थाल्नेछ, त्यो नेपालको लागि खतराको दिन हुनेछ। जबसम्म नेपाल भारत र चीनको सन्तुलनमा रहन्छ, तबसम्म नेपाल जीवित र सकुशल रहन्छ।

डा शिवशङ्कर यादव, छपकैया, वीरगंज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here