खोप लिन गएका विद्यार्थीद्वारा अस्पतालमा ढुङ्गामुढा

0

प्रस, वीरगंज, ९ मङ्सिर/

कोभिड–१९ विरुद्धको फाइजर खोप लिन बिहीवार विद्यार्थीहरूको भीड एक्कासि बढेपछि नारायणी अस्पतालमा तनाव सिर्जना भएर अस्पतालले खोप बन्द गर्नुपरेको छ । कात्तिक २८ गतेदेखि अमेरिकी सहयोगमा आएको फाइजर खोप अस्पतालमा लगाउँदै आइएको थियो ।

नारायणी अस्पतालको लागि २४ सय खोप आएको तर यो अवधिमा दैनिक ८ देखि १३ जनाभन्दा बढीले खोप लगाएका थिएनन् । १२ वर्षमाथिका र १५ थरीका असाध्य रोगीहरूलाई सो खोप लगाउने लक्ष्य छ ।

मङ्सिर ७ गतेसम्म खोप अभियान निर्धारण गरिए पनि अस्पतालमा आधाभन्दा बढी खोप मौज्दात रहेको कारण समयावधि बढाइएको थियो ।

बिहीवार एक्कासि हजारभन्दा बढी विद्यार्थी खोप लिन आकस्मिक कक्षमा गएपछि त्यहाँ तनाव भएको हो । खोप लगाउन र रजिस्टर मेन्टेन गर्न ५/६ जना स्वास्थ्यकर्मी खटेका थिए । उनीहरूले एक्कासि बढेको भीडलाई खोप दिन ढिला भएपछि विद्यार्थीहरूले आकस्मिक कक्षमा ढुङ्गामुढा गरेका थिए ।

२५ जनाले खोप लगाएपछि उत्पन्न तनावलाई नियन्त्रणमा लिन अस्पतालले खोप लगाउन बन्द नै गर्नुप¥यो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा वीरेन्द्र प्रधानले विद्यार्थीहरू आकस्मिकरूपमा आएको र उनीहरूलाई खोप दिने कार्यमा ढिला भएपछि विद्यार्थीहरूले होहल्ला, ढुङ्गामुढा गरेको बताए ।

निर्धारित समयपछि मौज्दात खोप दिन सिद्धार्थ, कन्या र त्रिजुद्ध माविका विद्यार्थीहरूलाई दुई दिनको समयावधि दिइएको स्वास्थ्य कार्यालय, वीरगंजका खोप अधिकृत जयमोद ठाकुरले बताए । उनले एक्कासि भीड बढेपछि प्रहरी परिचालन गर्नुपरेको जानकारी गराएका छन् । प्रहरी परिचालनपछि पनि भीड नियन्त्रण नभएपछि खोप लगाउन नै बन्द गर्नुपरेको अस्पताल प्रशासनले जनाएको छ ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here