राजीनामा नआउन्जेलसम्म बारको आन्दोलन जारी –दाहाल

0

प्रस, वीरगंज, ८ मङ्सिर/

नेपाल बार एशोसिएशनका पूर्वअध्यक्ष वरिष्ठ अधिवक्ता हरिहर दाहालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा नआउन्जेलसम्म बारको आन्दोलन जारी रह्ने बताएका छन् ।

पर्सा, बारा, रौतहट र उच्च बार वीरगंजको संयुक्त आयोजनामा बुधवार आयोजित विरोधसभामा दाहालले बहालवाला प्रधानन्यायाधीश जबराको राजीनामाको माग एकैपटक नआएको बताए । उनले प्रधानन्यायाधीशविरुद्ध बारमा पटक–पटक कुरा चलेको र यसबारेमा प्रधानन्यायाधीशको ध्यानाकर्षण गराउँदा सुधार नभएकोले अहिलेका विकसित घटनाक्रमसँगै राजीनामाको माग गरिएको बताए ।

प्रधानन्यायाधीश जबरासँग स्वतन्त्र न्यायपालिकाको अपेक्षा गर्ने र गरेका कुनै पनि गुण विशेषताहरू अब बाँकी नरहेको उनले आरोप लगाए । प्रधानन्यायाधीश भएर मन्त्रिपरिषद्मा भाग खोजेको, आफन्तलाई नियुक्ति गराउने काम गरेको र कार्यपालिकासँग अनुचित साँठगाँठ गरेको जस्ता घटनाले उनको राजीनामा माग गरिएको बताए ।

नेपाल बार एशोसिएशनले राजीनामा मागको बुँदागत सत्रवटा कारण सार्वजनिक गरेको र यथावस्थामा माग पूरा नहुन्जेलसम्म आन्दोलन नरोकिने बताए । उनले अहिले मुलुकका सबै अदालत एकजना व्यक्तिको कारण ठप्प हुने अवस्थामा पुगेको र यस्तो कहिले नभएको बताए ।
नेपाल बार एशोसिएशनका केन्द्रीय सदस्य भीम बन्जाराले न्यायालयमा प्रधानन्यायाधीशका कारण असहजता बढेको र राजीनामा दिनुको अर्को विकल्प नभएको बताए ।

उनले आरोपै आरोपको पुलिन्दा बनिसक्दा पनि प्रधानन्यायाधीशले आफ्नो गरिमालाई बुझ्न नसकेको बताए । उच्च बार वीरगंजका पूर्वअध्यक्ष अधिवक्ता सुधीर कर्णले प्रजातन्त्र, लोकतन्त्र र अधिकारप्राप्तिका लागि नेपालका कानून व्यवसायीहरू बेलाबखत आन्दोलित हुँदै सडक तताउँदै आए पनि आफ्नै पेशागत सुधारका लागि भने पहिलोचोटि आन्दोलित भएर सडकमा आएको बताए ।

उच्च बार वीरगंजका अध्यक्ष प्रमोद साहको अध्यक्षतामा भएको विरोधसभामा पर्सा बारका अध्यक्ष ओमप्रकाश गुप्ता, बाराका सन्तोष गुप्ता, रौतहटका रामराज यादव, कानून व्यवसायीहरू देवेन्द्र सिंह, विनय सिंह, शिव कोइराला, जुली कर्ण, पन्नालाल गुप्ता, नेपाल पत्रकार महासङ्घ, पर्साका अध्यक्ष अनुप तिवारीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसअघि बिहान १० देखि मध्याह्न १२ बजेसम्म दुई घण्टा प्रधानन्यायाधीशको राजीनामा माग गर्दै धर्ना दिइएको थियो ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here