धार्मिक अतिवाद र आतङ्कवादबाट राष्ट्रिय सुरक्षा चुनौती

0

प्रस, परवानीपुर, ८ कात्तिक/

धार्मिक अतिवाद र आतङ्कवादबाट मुलुकलाई जोगाउन सरोकारवालाहरूले आग्रह गरेका छन् । उनीहरूले यी दुवै क्रियाकलापले नेपालको राष्ट्रिय सुरक्षामा चुनौती थप्ने वीरगंजमा आयोजित एक परिचर्चामा बताएका हुन् । ‘नेपालको राष्ट्रिय सुरक्षा र २६/११ मुम्बई हमला’ विषयक परिचर्चाको आयोजना राष्ट्रिय एकता अभियान, पर्साले गरेको थियो । धार्मिक अतिवादी सङ्गठन र बाह्य आतङ्कवादी सङ्गठनहरूबाट भारतमा विभिन्न आपराधिक घटना भएको बताउँदै उनीहरूले त्यसतर्फ राज्य गम्भीर हुनुपर्नेमा जोड दिए ।

भारतमा जाली नोट पक्राउ पर्दा नेपालमा बनाएको कुरा आउनु, नेपालबाट भटकल र टुन्डा जस्ता आतङ्कवादी पक्राउ पर्नु र पाकिस्तानबाट नियोजित आदापुर–छौडादानोमा रेल उडाउने जस्ता आतङ्कवादी योजना बारा जिल्लामा समसुलको समूहले लागू गर्न खोज्नु सुरक्षाको लागि ठूलो चुनौतीको रूपमा हेर्नुपर्ने परिचर्चाका वक्ताहरूले बताएका थिए ।

कार्यक्रममा पत्रकार अनिल तिवारीले नेपालको राष्ट्रिय सुरक्षा र २६/११ मुम्बई हमलाको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । नेपाली भूमिमा भारतविरोधी कार्य गर्न नेपालका विभिन्न धार्मिक तथा आपराधिक सङ्गठनको प्रयोग भइरहेको, हतियार ओसारपोसार, भारतीय जाली नोटको कारोबार बढेको, म्यानमाको रोहिंग्या, बङ्गलादेश, अफगानिस्तानलगायतका आतङ्कवाद प्रभावित मुलुकबाट अनधिकृतरूपमा शरणार्थीको रूपमा नेपालमा प्रवेश भइरहेको कार्यपत्रमा उल्लेख गरिएको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले एकअर्कालाई सम्मानजनक हिसाबले व्यवहार गर्नुपर्नेमा जोड दिए । उनले शङ्कास्पद गतिविधि भइरहेको जानकारी प्रहरी प्रशासनलाई गराउन आग्रह गरे ।

कार्यक्रममा राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले समाजमा आएर सेल्टर लिएर आतङ्कवादी गतिविधि सञ्चालन भइरहेकोमा सचेत हुन आग्रह गरे । नेपाल ब्राह्मण समाजका अध्यक्ष हरिनारायण मिश्रले मुम्बई घटना भारतका लागि मात्रै नभएर विश्व समुदायका लागि चेतावनी भएको बताए ।

सङ्घीय समाजवादी पार्टीका जिल्ला अध्यक्ष रामनरेश यादवले आवागमन सहज भएकोले जुनसुकै समयमा अप्रत्याशित घटना हुन सक्ने बताए । कुनै वर्ग समुदायलाई दोष दिनुको साटो भाइचारा, धार्मिक सहिष्णुता खलबलिरहेकोप्रति अध्ययन गर्नुपर्नेमा जोड दिए ।

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका पर्सा जिल्ला अध्यक्ष बालगोपाल थापाले आतङ्कवादीको कुनै जाति, धर्म र राष्ट्र नहुने बताए । उनले आतङ्कवादले राष्ट्रलाई तहसनहस पार्ने भएकोले कसैले पनि त्यसलाई प्रशय दिन नहुनेमा जोड दिए ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here