आगो र प्लास्टिकको उपयोगबारे

0
  • सञ्जय साह मित्र

आगो त आविष्कार नै मानवको लागि । आगोको आविष्कारको विषयमा विज्ञान र पुराणका दुई मत रहेका छन् । यसबारे यहाँ बहस गर्नु आवश्यक छैन तर आगोको उपयोगको विषयमा भने अब नयाँ किसिमले सोच्नुपर्ने समय आउँदैछ ।

आगो हामी जताततै बालिरहेका छौं । यसरी हे¥यौं– हाम्रो दैनिक जीवन व्यवहारमा आगोको उपयोग कसरी भइरहेको छ । हरेक दिन चिया र खाजा पकाउन, खाना पकाउन तथा अन्य काममा पनि आगोको उपयोग भइरहेको छ । गाउँटोलको फोहोर कतै थुपारिएको छ भने सबैभन्दा सजिलो हुन्छ आगो बालेर डढाइदिनु । यस्तै विभिन्न घरेलु उद्योगहरूमा पनि आगोको उपयोग भइरहेको छ । मुख्यगरी अहिले ईंटा उद्योगमा आगोको उपयोग भइरहेको देखिन्छ ।

अहिले दाउराको उपयोग पहिलेको तुलनामा कम भएको अवश्य हो तर घटेको हो, हटेको होइन । अहिले पनि हरेक दिन जङ्गलबाट दाउरा ओसार्ने धेरै भेटिन्छन् । दाउरा ओसार्नेहरूले बाल्नकै लागि उपयोग गरेको हुनुपर्छ । भान्छामा बाले पनि वा अन्य काममा दाउराको उपयोग गरे पनि दाउराको उपयोग बालेरै हुन्छ ।

भान्छामा एलपी ग्याँसको प्रयोग बढेको छ । दाउरा बाल्दा वन विनाश तथा रूखहरूको जीवन सङ्कटमा पर्ने डर हुन्छ भने एलपी ग्याँसको प्रयोग गर्दा देशमा यसको उत्पादन हुँदैन । देशमा उत्पादन नहुँदा विदेशबाट मगाउनुपर्छ अर्थात् किन्नुपर्छ । स्वदेशमा दाउरा उत्पादन त हुन्छ तर यसले वातावरणमा गम्भीर असर पु¥याउने डर हुन्छ ।

यहाँ विचारणीय र विशेष महŒवको पक्ष्F के छ भने दाउरा बाले पनि वा एलपी ग्याँस बाले पनि बल्ने त आगो हो । घुर बालेर, उद्योग चलाएर, भान्छामा तथा अन्य उपयोगमा आगोको उपयोग अहिले जसरी भइरहेको छ, यसले वातावरणमा धेरै नकारात्मक प्रभाव परिरहेको छ । यसको विकल्पबारे चर्चा चल्न थालेको पाइएको छ ।

अहिले नेपालमा जति विद्युत् उत्पादन भइरहेको छ, त्यति खपत हुन नसकेकोले घर, उद्योग तथा सिंचाइ र अन्य काममा विद्युत् उपयोग बढाउने सुझाव आइरहेका छन् । दाउरा बाल्दा वा एलपी ग्याँस बाल्दा, बल्ने आगो हो तर, विद्युत्को आगो धेरै किसिमले फलदायी हुने बताउन थालिएको छ । पहिलो कुरो त आफ्नो देशको उत्पादन खपत हुने र अर्को अन्य किसिमको आगोको तुलनामा यसबाट निकै कम प्रदूषण हुन्छ । प्रदूषण नियन्त्रण गर्न सजिलो हुने, देशको पैसा बचाउन सकिने तथा स्वास्थ्य पनि राम्रो हुने विश्लेषण गरिन थालिएको छ ।

केही वर्ष पहिलेसम्म नेपालमा लोडसेडिङ थियो । देशमा बिजुलीको अभाव थियो । भारतबाट बिजुली ल्याइन्थ्यो । केही वर्षको अन्तरालमा बिजुलीको उत्पादनमा नेपालले फड्को मारेको छ। अहिले निर्माणाधीन विद्युत् गृहहरूबाट विद्युत् उत्पादन हुन थाल्ने हो भने निकै उपलब्धता हुने निश्चित छ । अब त नेपालले नै भारततिर बिजुली पठाउन शुरू गरिसकेको छ । अब नेपालले भारतलाई बिजुली बेच्न शुरू गरिसकेको र बिस्तारै बङ्गलादेशलाई पनि बिजुली बेच्न शुरू गर्ने कुरो समाचारहरूमा आएका छन् । बिजुली बेचेर नेपालले राम्रो आम्दानी गर्ने कुरामा अहिले नेपालीहरू विश्वस्त हुन थालेका छन् । एकातिर बिजुलीको उत्पादन पर्याप्त भएको तथा अर्कोतिर बिजुलीको आपूर्ति करीब–करीब नियमित भइसकेको अहिलेको अवस्थामा बिजुलीको उत्पादन भविष्यमा अझ धेरै बढ्दै छ भन्ने कुरा पत्याउन सजिलो भएको छ । यद्यपि बिजुलीको खपत देशमा नै बढाउनुपर्ने र नेपालीले पाउने बिजुली सस्तो हुनुपर्ने माग पनि उठिरहेको छ ।

यस महीनादेखि नेपालमा बिजुलीको भाउ केही घटेको छ । सबैतिर अधिकांश कुराको भाउ बढिरहेको समयमा नेपालमा बिजुलीको भाउ कम हुनु खुशीको कुरा हो । बिजुलीको भाउ कम भएको र यसै समयमा केही अघि पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएको अवस्था छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर वृद्धि भइरहेकोले त्यसैको असरले नेपालमा पनि यसको मूल्य वृद्धि भएको हो भन्ने कुरामा धेरैको असहमति नहोला, किनभने छिमेकमा हाम्रोभन्दा महँगो छ । पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि हुनु र बिजुलीको भाउमा कटौती हुनु संयोग मात्र हुन सक्ला तर यसले केही हदसम्म भए पनि बिजुलीको उपयोग बढाउनुपर्छ भन्ने कुरालाई बहसमा ल्याइदिएको छ ।

हो, बिजुलीको उपयोग बढाउनुपर्छ भन्ने कुरामा सबैको एकमत छ । अहिले सरकारले एलपी ग्याँसमा अनुदान दिइरहेको भनिन्छ । एलपी ग्याँसमा अनुदान दिनुभन्दा बिजुलीको उपयोगमा अनुदान बढाउनु धेरै राम्रो हुनेछ । किनभने बिजुली उत्पादनमा नेपाल धनी देश बन्ने सम्भावना छ । बिजुलीको उत्पादन अहिले पर्याप्त भइसकेको र हरेक दिन उत्पादित बिजुली खेर गइरहेकोले अझ सस्तो बनाउन सकिए धेरै मानिस भान्छामा एलपी ग्याँसको सट्टा बिजुलीको उपयोग बढाउन सक्छन् । अहिलेको भन्दा बिजुली अझ सस्तो भयो भने बिजुलीबाट चल्ने चुलोको खरीदतिर सर्वसाधारण आकर्षित हुन थाल्छन् । यस्तो समयमा बिजुलीबाट बल्ने चुलो पनि बजारमा सस्तो र सर्वसुलभ हुन सके सर्वसाधारणलाई ग्याँस चुलो र एलपी ग्याँस किनिरहनुपर्दैन । सर्वसाधारणले एलपी ग्याँस किन्दा एकैपटक धेरै रकम तिर्नुपर्दछ र एक सिलिन्डर एलपी ग्याँस जति दिन चल्दछ, त्यसको तुलनामा बिजुली यदि सस्तो हुन्छ भने सर्वसाधारणलाई दोहोरो फाइदा हुन्छ । सर्वसाधारणले चाहेको पनि यही हो ।

अझै कतिपयले बिजुली भरपर्दो हुन नसकेको बताइरहेका छन् । कहिलेकाहीं लाइन जाने समस्या अहिले पनि छ । गृहिणीहरूको गुनासो छ कि साँझमा अहिले पनि कहिलेकाहीं एक छिनको लागि लाइन जान्छ । यदि खाना पकाउने बेला लाइन गयो वा चिया पकाउँदा पकाउँदै लाइन गयो भने फेरि ग्याँस बाल्नुपर्छ । ग्याँस बाल्दा नबाल्दै लाइन आइपुग्छ । यस किसिमले लाइन आउनेजाने समस्या हुँदा भान्छामा मात्र होइन, धेरै किसिमका विद्युतीय सामग्रीमा पनि प्रतिकूल असर पर्छ । यद्यपि यस प्रकारको समस्या बिस्तारै कम हुँदैछ र आशा गर्न सकिन्छ कि अब ट्रिपिङ समस्या रहने छैन ।

भरपर्दो लाइन भएमा बिस्तारै बिजुलीको उपयोग बढ्ने कुरामा दुईमत नहोला । बिस्तारै सवारी साधन पनि विद्युत्बाट चल्ने हुँदै जानेछ । विद्युत्बाट चल्ने सवारी साधनको उपयोग बढ्न थाल्छ भने बिजुलीको खपत बढ्छ, निरन्तर भाडामा जुन किसिमले वृद्धि भइरहेको छ त्यसमा धेरै हदसम्म विराम लाग्छ, यसले गर्दा महँगी नियन्त्रणमा सजिलो हुन्छ, देशको धेरै पैसा जोगिन्छ जसले गर्दा देश विकासको नयाँ आयाम शुरू हुन्छ । बिजुलीको उपयोग बढेमा निस्सन्देह दाउराको उपयोग पनि कम हुन्छ तथा धूवाँबाट धेरै गृहिणीको स्वास्थ्यमा पर्ने कुप्रभाव कम गर्न र वायु तथा वातावरणीय प्रदूषण कम गर्न सहयोग पुग्ने कुरामा विश्वस्त हुन सकिन्छ ।

आगोले गर्मी बढाउने, प्रदूषण बढाउने जसले विश्वव्यापी तापक्रममा सहयोग पुग्छ । यसको साथै जताततै प्लास्टिक फालिएको देखिन्छ । प्लास्टिकलाई पनि बालेरै डढाउने गरिएको छ । सम्भव भएसम्म प्लास्टिकलाई बाल्नै नपर्ने अवस्था सिर्जना गर्नुपर्छ । प्लास्टिकको झोला र अन्य सामग्री जताततै फालेको देखेर मनै खिन्न भएर आउँछ । जल प्रदूषण र धरती प्रदूषणमा प्लास्टिकको योगदान बढ्दै गएको छ ।

अहिलेको समयमा प्लास्टिकको उपयोग निर्बाध भइरहेको छ । कस्तो प्लास्टिकको उपयोग गर्नुपर्ने वा कस्तो उपयोग गर्दा हानि हुन्छ भन्ने कुरामा समाज गम्भीर हुन सकेको छैन । प्लास्टिकले पनि प्रदूषण बढाइरहेको र यसले भविष्यमा गम्भीर असर पर्ने देखिएको छ । यस विषयमा समाजले बहस गर्न ढिलो नगरेको राम्रो !

वर्तमान अवस्थामा परम्परागत आगोको उपयोगको ठाउँमा सम्भव भएसम्म बिजुलीको आगोले काम चलाएको राम्रो । अझ सम्भव छ भने सबै किसिमका सवारी साधनमा हामी आफ्नै देशमा उत्पादित बिजुलीको उपयोग बढाउनतिर गम्भीरतापूर्वक लाग्नुपर्ने समय आएको छ । यो हाम्रो आवश्यकता हो र यस दिशातिर समाजलाई अग्रसर गराउनुपरेको छ ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here