आवश्यकताका आधारमा पिपिए गरिंदै

0

काठमाडौं, ६ मङ्सिर/रासस

सरकारले कुन वर्षका लागि कति मेगावाट बराबरको बिजुली थप आवश्यक पर्छ भन्ने तथ्य निर्धारण गरेर विद्युत् खरीद सम्झौता (पिपिए) गर्ने भएको छ । त्यसरी सम्झौता गर्दा नदी प्रवाहीभन्दा अर्धजलाशय र जलाशय प्रकृतिका आयोजनालाई विशेष प्राथमिकतामा राखिने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले छ हजार मेगावाट क्षमताका नदी प्रवाही आयोजनाको पिपिए गरिसकेको छ । यस्तै, नौ हजार मेगावाट क्षमताका आयोजना पिपिएका लागि प्रतीक्षारत छन्। पछिल्लो तीन वर्षदेखि पिपिए रोकिएको छ । पिपिए रोकिएको भन्दै निजी क्षेत्रले आपत्ति मात्रै जनाएको छैन, तत्काल खुलाउन माग गरेको छ । सरकारले रोकिरहेको र निजी क्षेत्रले खुलाउनुपर्ने माग गरिरहेको सन्दर्भमा कुन वर्षका लागि के कति क्षमताका आयोजना आवश्यक पर्ने हो, त्यो निर्धारण गरेर पिपिए गर्ने तयारीमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय रहेको छ ।

ऊर्जामन्त्री पम्फा भुसालले पनि आवश्यकता निर्धारण गरेर पिपिए हुने पटक–पटक सार्वजनिकरूपमा अभिव्यक्ति दिंदै आएकी छन् । भारतमा आयोजना निर्माणको समझदारी मात्रै हुन्छ । आयोजना निर्माण भइसकेपछि मात्रै पिपिए हुने गरेको छ । बढी लागत पर्ने आयोजनाको पनि एउटै र कम लागतका आयोजनाको समेत एउटै दरमा पिपिए हुने गरेको छ । प्राधिकरणले हाल वर्षामा प्रतियुनिट चार रुपियाँ ८० पैसा र हिउँदमा आठ रुपियाँ ४० पैसामा पिपिए गर्दै आएको छ ।

लागतका आधारमा पिपिए गर्नुपर्छ, भन्ने माग पनि बेलाबेलामा उठेको छ । सबै तथ्य र अवस्थालाई ख्याल गरेर प्रतिस्पर्धाका आधारमा पनि प्रक्रिया अगाडि बढाउने सोच मन्त्रालय र प्राधिकरण दुवैको देखिन्छ । ऊर्जामन्त्री भुसाल आगामी १० वर्षपछिको बिजुलीको मागलाई हेरेर सम्झौता गर्दा त्यो नै बढी वस्तुवादी हुने बताउँछिन् । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नदी प्रवाही आयोजनाको तत्कालका लागि पिपिए नभए पनि अर्धजलाशय र जलाशययुक्त आयोजनाको पिपिए नरोकिएको बताए ।

प्राधिकरणले जलाशययुक्त आयोजनाका लागि औसतमा प्रतियुनिट रु १२ उपलब्ध गराउने गरी २०७४ सालमा नै निर्णय गरिसकेको छ । त्यसमा पनि मौसमी दर तय गरिएको छ । मुलुकको ऊर्जा सुरक्षाका लागि पनि जलाशययुक्त आयोजना अत्यावश्यक देखिन्छ ।

ऊर्जाविज्ञ एवं त्रिभुवन विश्वविद्यालय इन्जिनीयरिङ अध्यक्ष संस्थानका प्राडा अमृतमान नकर्मी ऊर्जा सुरक्षाका लागि हरेक देशले थप ३० प्रतिशत बराबरको ऊर्जा जगेडामा राखेका हुन्छन् । नेपालको हकमा जलाशययुक्त आयोजना नै प्रभावकारी हुने भएकाले त्यसैमा जोड दिनुपर्ने उनको भनाइ छ ।

प्रणालीमा दुर्ई हजार मेगावाटभन्दा बढी बिजुली जोडिइसकेको छ । यस्तै, तीन हजार ५०७ मेगावाट क्षमता बराबरका १३८ आयोजना निर्माणका चरणमा छन् । यसैगरी, एक हजार ८५१ मेगावाट क्षमताका ९९ आयोजना निर्माणमा जाने तयारीमा छन् ।

स्वतन्त्र ऊर्जा, उत्पादकको संस्था नेपाल (इपान)का अनुसार १६ हजार ५७४ मेगावाट क्षमताका २०८ आयोजना अध्ययनको विभिन्न चरणमा छन् । यस्तै, निकासी प्रयोजनका लागि एक हजार ५७९ मेगावाट क्षमताका दुर्ई आयोजना पनि निर्माणका चरणमा छन् । कुल २५ हजार ४१७ मेगावाट क्षमताका कुल ६११ आयोजना कुनै न कुनै रूपमा निर्माणको प्रक्रियामा रहेको इपानको विवरणमा समावेश गरिएको छ । आर्थिक तथा प्राविधिक हिसाबले ५७ हजार मेगावाट क्षमताका आयोजना नेपालभित्र निर्माण हुन सक्ने अवस्थामा छन् । सरकारले प्रदेश नं २ बाहेक हरेक प्रदेशमा जलाशययुक्त आयोजना निर्माण गर्ने विषयलाई रणनीतिकरूपमा अगाडि बढाएको छ । प्रदेश नं १ को तमोर जलाशययुक्त आयोजना अध्ययनको चरणमा छ ।

चिनियाँ कम्पनी पावर चाइनासँगको सहकार्यमा एचआइडिसिएले अध्ययन जारी राखेको छ । यस्तै, वाग्मती प्रदेशमा सुनकोशी दोस्रो र तेस्रो अध्ययन भइरहेको छ । वाग्मती र गण्डकी प्रदेशको सीमामा रहेको एक हजार २०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना अध्ययन सम्पन्न भएको लामो समय भएपनि निर्माणमा जान सकेको छैन ।

सरकारले सो आयोजनाको निर्माण ढाँचा टुङ्गो लगाउने तयारी गरेको छ । यस्तै, गण्डकी, कर्णाली, लुम्बिनी, सुदूरपश्चिममा पनि जलाशययुक्त आयोजना निर्माण गर्ने गरी प्रक्रिया अगाडि बढाइएको छ । ऊर्जा सुरक्षाका लागि जलाशययुक्त आयोजना महŒवपूर्ण र अर्थपूर्ण रहेको ठहरसहित त्यसैमा जोड दिइएको छ ।

जलाशययुक्त आयोजना लागत र समयका हिसाबले पनि बढी जटिल हुने भएकाले निजी क्षेत्रले आँट गरिहालेको छैन । सरकारले आन्तरिक स्रोत तथा बहुपक्षीय दातृ निकायको सहयोगमा अर्धजलाशय र जलाशययुक्त आयोजना निर्माण शुरू गरिहाल्नुपर्ने निजी क्षेत्रको पनि सुझाव छ । संखुवासभामा भारतीय कम्पनीले ९०० मेगावाट क्षमताको अरूण तेस्रोको निर्माण गरिरहेको छ ।
यस्तै प्राधिकरणले माथिल्लो अरूण अगाडि बढाउने तयारी गरेको छ । यसैगरी दूधकोशी समेत छिट्टै निर्माणमा जाँदैछ । यसले मुलुकको आर्थिक समृद्धिको ढोकासमेत खोल्ने छ ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here