शिकारीबासका किसानहरू घरमा सुत्न पाउँदा खुशी

0

माधव तिमिल्सिना, ठोरी, ५ मङ्सिर/

ठोरी गाउँपालिका–३, शिकारीबासका दुखाराम महतो थारूलाई मन्सुली धान भिœयाएपछि अब चैतसम्म घरमा सुत्न पाउने कुराले खुशी तुल्याएको छ । पाँच दशकअघि माडीबाट बसाइँसराइ गरेर शिकारीबास आएका ६० वर्षीय थारू वर्षको आधा समय खेतमा नै रात बित्दै आएको छ । खेतमा रात बिताउनु उनको रहर नभई बाध्यता थियो ।

जङ्गली जनावर धपाउन सधैं खेतमा सुत्नुपर्ने बाध्यताले आजित बनेका शिकारीबासकै बमभोला महतो थारू पनि अब चैतसम्म घरमा नै सुत्न पाइने भएकोले खुशी छन् । तीन पुस्तादेखि शिकारीबासमा बसोबास गर्दै आइरहेका ५४ वर्षीय थारूलाई धान भिœयाएको खुशीसँगै अबको चार महीना घरमा आरामले बिताउन पाउने कुराले आनन्दित तुल्याएको छ ।

दुखाराम र बमभोलाजस्तै शिकारीबासका किसानहरू मङ्सिरे धान भिœयाएपछि जनावरबाट यस वर्षको दुःख ट¥यो भनेर खुशी छन् । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जको जङ्गलभित्र खेतीपाती गर्ने शिकारीबासका किसानहरू जङ्गली जनावरबाट धानखेतीको बेलामा प्रत्येक वर्ष पीडित हुँदै आएका छन् । कहिले हात्ती, कहिले बँदेल, कहिले घोडगधालगायतका जङ्गली जनावर आएर बाली नोक्सान गर्ने गरेकाले यहाँका किसानहरू धानबाली हुर्कने क्रममा रातभर जाग्राम बस्छन् ।

वैशाखदेखि कात्तिकसम्मको रात उनीहरूको खेतमा नै बित्दै आएको छ । यहाँका किसानले खेतको एक छेउमा रूखको आड लगाएर अग्ला–अग्ला मचान बनाएका छन् र त्यसैमा रातभर जङ्गली जनावर धपाउन जाग्राम बस्छन् । मचानबाट खेतको सबै भाग देखिने भएकोले यो क्षेत्रमा तीसवटाभन्दा बढी मचान बनाएर किसानहरूले जङ्गली जनावरको निगरानी गर्दै आएका छन् ।

वर्षमा दुई बाली धान मात्र लगाउने यस क्षेत्रका किसानहरूको रात यही काठको छाप्रोभित्र बित्ने गरेको छ । मचानमा लामखुट्टेको प्रकोपबाट जोगिन झुल हाल्न पनि नमिल्ने दुखाराम बताउँछन् । झुल हाल्दा भुसुक्क निदाइन्छ भनेर उनीहरू झुलको साटो प्लास्टिकको ठूलो बोराभित्र पसेर मचानमा सुत्छन् । बोराभित्र सुत्दा अनुहार खुला छोड्ने र त्यसो गर्दा मुखमा मात्र लामखुट्टेले टोक्ने भएकाले रातभर जाग्राम बस्न सकिने दुखारामले बताए ।

जनावरका कारण धानखेती मात्र

सिंचाइको सुविधा र उर्वर माटो भएपनि शिकारीबासका किसानहरूले धानखेती मात्र गर्छन् । यहाँका किसानले अल्छी मानेर खेत बाँझो छाडेका होइनन् । यहाँको खेतमा धानका साथै मकै, तोरी, कोदोको राम्रो खेती हुन्छ तर जङ्गली जनावरको त्रासका कारण किसानले अन्य बालीको खेती गर्न सकेका छैनन् ।

अन्य बालीको खेती गर्नुपर्दा वर्षभरि मचानमा कुनुपर्ने हुन्छ । यसैले अगहनी धान भिœयाएपछि यहाँको ८० बिघा जमीन चैतमा धान नरोपेसम्म बाँझो हुन्छ । धानखेतीमा सबैजनाको सहभागिता हुन्छ र सबैले समानुपातिकरूपमा जङ्गली जनावरको निगरानी गर्छन् । तर तोरी, मकै, गहुँ, कोदो खेती गर्दा जनावर कुर्न गा¥हो हुने उनीहरू बताउँछन् ।

पाँच वर्षदेखि धानखेतीबाहेक अन्य खेती शिकारीबासका किसानले गर्न छाडेका छन् । २०७३ मङ्सिरमा रुघाइ चौधरीलाई मकैखेतीको निगरानी गर्ने क्रममा हात्तीले मचान भत्काएर मारेपछि कसैले पनि धानबाहेक अन्य खेती गरेका छैनन् । जङ्गली जनावरका कारण अन्य खेती नगरिएको यहाँका किसानहरू बताउँछन् ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here