राधेश्याम पटेल, वीरगंज, ५ मङ्सिर/

खाद्यान्न व्यवसायमा नाम कमाएको वीरगंजको रूँगटा घरानाको अर्काे सुविधा सम्पन्न मल निर्माण कार्य पूरा भएको छ । वीरगंज–६ आदर्शचोकभन्दा पूर्व लोहारपट्टि रोडमा दुर्ई वर्षदेखि निर्माण भइरहेको मलको काम अन्तिम चरणमा पुगेको छ । करीब डेढ कठ्ठा जग्गामा निर्मित सात तले मलको नाम आरबी कम्प्लेक्स राखिएको छ । करीब रु ६ करोडको लागतमा मल निर्माण भएको सञ्चालक सौरभ रूँगटाले बताए ।

कोरोना महामारीमा वीरगंजको उद्योग व्यवसाय चौपट भइराख्दा व्यावसायिक मलमा लगाइएको लगानी नडुब्ने उद्देश्यका साथ मलमा लगानी गरिएको उनले बताए । मलमा ग्राउन्ड फ्लोर मिलाएर सात तल्ले स्ट्रक्चरमा डिजाइन गरिएको छ ।

मलमा खानेपानी, शौचालय, पार्किङ, लिफ्टलगायत सुविधा रहेको छ । आगामी डिसेम्बर १३ का दिन उद्घाटन हुने मलको बूकिङ खुला गरिएको र अधिकांश तलाको फ्ल्याट बूक भइसकेको पनि बताइएको छ । एक तलामा करीब ३ हजार ३ सय वर्गफिट क्षेत्रफलमा फल्याट निर्माण भएको छ । प्रतिवर्गफिट रु ३०–४० को दरमा मासिक भाडामा बूकिङ भइरहेको बताइएको छ ।

ग्राउन्ड फ्लोरमा पार्किङ, पहिलो तला खाली छ, दोस्रो तलामा मोडलर्स किचेनको शोरूम, तेस्रोमा जिम क्लब, चौथोमा बालबालिकाको लागि प्ले स्टेशन, पाँचौं तला खाली छ । त्यसैगरी, छैटौं तलामा वीरगंजकै तीनजना व्यवसायीको संयुक्त लगानीमा रेस्टुरेन्ट सञ्चालनमा ल्याउने लक्ष्य छ ।

यो मल वीरगंजमा पहिलो एलइडी स्क्रिन भएको मल भएकोले काठमाडौंजस्तै विज्ञापनको लागि मलको पश्चिमपट्टिको पर्खालमा १२० वर्गफिटको टिभी स्क्रिन पनि लगाइएको छ । जसमा २४ घण्टै व्यापारिक विज्ञापनको लागि सुविधा दिइएको छ । यसबाट वीरगंजका व्यावसायिक घरानाले आआफ्नो उत्पादनको विज्ञापन दिन सक्नेछन् । यसअघि ६ महीना पहिले आदर्शनगरमैं करीब २० करोडको लगानीमा छ तले रूँगटा मल सञ्चालनमा आइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here