कोरोनाकालमा केटाकेटीहरूको मनो–विश्लेषण

0
  • अनन्तकुमार लाल दास

घरबाट बाहिर ननिस्किनु, कसैलाई नभेट्नु, वरिपरिको शून्यता र दिनभरि टेलिभिजनमा कोभिडबारे प्रसारण भइरहेको खबरले हामीमाथि यति ठूलो असर परिरहेको थियो भने यी सबैको केटाकेटीहरूमाथि कस्तो असर परिरहेको होला ? अध्ययनले के देखाएको छ भने तनावले केटाकेटीहरूको मानसिक स्वास्थ्य र सिक्ने प्रक्रियालाई गहिरोरूपले प्रभावित गर्दछ । तनावपूर्ण परिस्थितिमा जीवन व्यतीत गर्नाले बेचैनी, डर, मूड तलमाथि हुनु र अन्य मानसिक रोगबाट ग्रसित हुने सम्भावना बढ्ने खतरा हुन्छ ।

यसबारे अझ प्रस्ट हुन घर वरिपरिका केटाकेटीहरूसँग कुराकानी गरें, साथै साथीहरूसँग मोबाइलमा सम्पर्क गरेर त्यहाँको स्थिति कस्तो छ बुझ्ने प्रयास गरें । कुराकानीबाट के थाहा भयो भने एउटै समुदायमा बस्ने केटाकेटीहरू जहाँ परस्पर भेट्न सक्छन्, कुराकानी गर्न सक्छन् र खेल्न सक्छन्, त्यहाँ कम्तिमा उनीहरू डर वा शकको बेग्लै श्रेणीमा बसिरहेका छैनन् तर उनीहरूको आर्थिक स्थितिले उनीहरूमाथि बेग्लै किसिमको प्रभाव पारेको थियो ।

एक महीनापछि मोबाइलको माध्यमले केही विद्यार्थीसँग कुरा गर्ने अवसर प्राप्त भयो । उनीहरूको मनस्थिति बुझ्ने प्रयास गर्दै उनीहरूको दिनचर्यामा केही हस्तक्षेप गर्ने कोशिश पनि गरियो जसबाट केटाकेटीहरू केही सामान्य हुन सकून् । केटाकेटीहरूको मनका कुरा बाहिर ल्याउन आवश्यक थियो र कि यथास्थितिमा उनीहरू केही सकारात्मक हस्तक्षेप गर्ने प्रयास गर्न सकून्। त्यसपछि हामी शिक्षक साथीहरूले हाम्रो सम्पर्कमा आएका केटाकेटीहरूलाई सानासाना समूहमा विभाजन गरेर उमेर समूह अनुसार उनीहरूलाई विषय तोकी चित्र बनाउन, कविता लेख्न, कथा लेख्न, कुनै विषयमाथि आफ्नो विचार व्यक्त लगायौं । आफ्नो कुरा व्यक्त गर्न प्रेरित ग¥यौं । उनीहरूका आमाबुवासँग पनि कुरा गरियो । यसरी अभिभावक र विद्यार्थीबीच फोन र विभिन्न एपको माध्यमबाट सम्पर्कमा रही उनीहरूको कुरा सु्न्ने र बुझ्ने प्रयास गरियो ।

केटाकेटीहरूमा तनावको प्रमुख कारण

उनीहरूसँग कुनै प्रश्न सोध्नासाथ मनभित्र गुम्सिएर बसेका कैयन कुराजस्तै पढाइप्रति चिन्ता, उनीहरूले भोग्नुपर्ने परेशानी र उत्सुकता उनीहरूको बोल्ने हाउभाउबाट व्यक्त हुन्थ्यो । यससँगै धेरै विद्यार्थी कोभिड–१९ का सम्बन्धमा बढी भन्दा बढी जानकारी चाहन्थे । खासगरी उनीहरूमा तनावका यी सब कारण महसूस गरियो ः

आर्थिक चुनौतीहरू

मजदूर वर्ग हरेक दिन कमाएर खान्छ । काम नपाउँदा घरमा पहिलो दिन देखि नै पैसाको कमी महसूस हुन्छ । केटाकेटीहरूको लागि आमाबुवासँग पैसा माग्नु, यद्यपि त्यो उनीहरूको न्यूनतम बानी थियो, त्यसमा बदलाव उनीहरूमा तनावको एउटा प्रमुख कारण बन्यो । कोरोनाकालमा जागीर छुट्नु र काम न पाउनुजस्ता समस्याबाट देशको जनसङ्ख्याको धेरैजसो आबादी ग्रसित हुनाले वञ्चित समुदायको स्थिति झन् जटिल र दयनीय भयो । पुरुषसँगै गाउँघरमा काम गर्ने महिलाहरूलाई पनि काम पाउन गा¥हो भयो । उनीहरूलाई कि काम गर्न बोलाइएन र जसलाई बोलाइयो उसलाई पनि कम तलबमा काम गर्न लगाइयो । यसको असर परिवार र केटाकेटीहरूमाथि पनि देखिन थाल्यो ।

एउटा १० वर्षकी केटीले लेखिन्–“हामीलाई थाहा छैन साँझ खाना दिन आउँछन् कि आउँदैनन् । भोलि आउँछन् कि आउँदैनन् त्यसको चिन्ता भइरहेको छ । जुन खानेकुरा पाइएको छ त्यो सबै खाउँ कि भोलिको लागि पनि जोगाएर राखौं ।” गोपाल (११वर्ष) ले लेख्यो–“घरमा राशन खत्म हुन लागेको छ । यस कारण एक दिन बिराएर खाना पाक्छ । कहिलेकाहीं यताउताबाट मागेर पनि खाने गर्छु । लक–डाउन बढ्ने कुरा सुन्दा राम्रो लाग्दैन्थ्यो ।” एउटी केटीले हामीसँग सोधिन्–“राशन बाँड्न आउँदा नागरिकता हेरेर मात्र राशन दिन्थे । उनीहरूले यसो किन गर्छन् ?” केही केटाकेटीले लक–डाउनको बेला भोक पनि बढी लाग्छ लेखेका थिए । यसबाहेक यस परिस्थितिमा जहाँ सरसफाइमा बढी ध्यान दिनु आवश्यक थियो र नियमित हात धुने कुरा गरिन्छ त्यहाँ कैयन मानिससँग खाना खान त पैसा थिएन, साबुन कहाँबाट किन्न सक्थे ?

पढाइमा खतरा

कोरोना महामारीको कालमा विद्यालय, क्याम्पस र सबैखाले शिक्षण संस्थाहरू बन्द गरिएका थिए र विद्यार्थीहरू लामो समयदेखि घरमैं कैद थिए । जो सक्षम थिए उनीहरूको लागि अनलाइन कक्षा प्रारम्भ भइसकेको थियो तर वञ्चित समुदाय जोसँग खानको लागि पैसा थिएन, उनीहरूको लागि मोबाइल किन्नु र इन्टरनेटसम्म पहुँच बनाउनु सम्भव थिएन । यस्ता केटाकेटीहरूको एउटा ठूलो समूह पढाइबाट धेरै टाढा भइरहेको थियो । आमाबुवालाई पढेका कुरा बिर्सने चिन्ताले सताइरहेको थियो । यो चिन्ता उनीहरूले गर्ने कुराकानीबाट प्रस्ट हुन्थ्यो । धेरैजसो केटाकेटीहरू अनलाइन कक्षाको बेला उदास बसिरहन्थे किनभने कैयनसँग मोबाइल फोन थिएन र कसैसँग थियो भने पनि डाटा किन्ने पैसा थिएन । लाली (१५ वर्ष) को कथनानुसार उसका आमा र बुवा दुवै ज्यालादारीमा काम गर्दथे, जसबाट घर खर्चसहित दुईटी बहिनी र भाइको स्कूल फी भुक्तान गरिन्थ्यो । हाल आमाबुवा दुवै कामबाट वञ्चित छन् । यस कारण हामी दुवै बहिनीको नाम बोर्डिङबाट काटिएको छ । हामी दुवै चिन्तित छौं र अब त मलाई पनि काम गर्नुपरिरहेको छ ।”

साथीहरूसँग भेट नहुनु

कोरोनाकालमा साथीहरूसँग भेट्न नपाउनु केटाकेटीहरूको परेशानीको सबैभन्दा ठूलो कारण थियो । केटीहरूको लागि यो झन् चिन्ताजनक स्थिति थियो किनभने उनीहरूमाथि घरको जिम्मेवारी थपियो, जसबाट उनीहरू तनावमा थिए त्यहीं अर्कोतिर साथीहरूसँग पनि भेट भइरहेको थिएन । सीमा (९ वर्ष) आफ्नो साथीसँगै पढाइ–लेखाइ, खेलकूद, गपशप र हरेक कुरा साझा गर्थिन् तर कोभिड–१९ को कारण उनी एक्लोपना महसूस गर्न थालिन् । हुनत भाइबहिनीसँग कुराकानी हुन्थ्यो तर तनावले गर्दा सानो बहसमा पनि झगडा हुन थालेको थियो जसले गर्दा उनकी आमा पनि तनावमा थिइन् ।

एक्लोपना

विद्यालय नजानु र घरमैं बस्दा मनमा चलिरहेका कैयन कुरा कसैसँग साझा गर्न नपाउनु पनि केटाकेटीहरूमा तनाव बढाउनुको कारण थियो । कोरोना कालमा आमाबुवा कामको खोजी र खानाको प्रबन्धमा लागिरहन्थे र यता केटाकेटीहरू घरमा एक्लै समय व्यतीत गरिहन्थे । केहीले यस बेला मोबाइललाई आफ्नो साथी बनाए तर जोसँग मोबाइल थिएन, उनीहरू तनावमा थिए र एक्लै आफ्नो समय व्यतीत गरिरहेका थिए ।

कोभिडको आतङ्क

चारैतिर कोरोना भाइरसको डर र थरीथरीका अफवाहले केटाकेटीहरूको मनमा बेचैनी र चिन्ता बढिरहेको थियो । अपरिचितलाई देख्नासाथ मानिसहरू लुक्न थाल्थे । यसबारे खोतल्दा केटाकेटीहरूलाई के लाग्थ्यो भने उनीहरू केटाकेटीहरूलाई समातेर लग्छन् र १४ दिनसम्म एक्लै बसाइदिन्छन् । कोरोनाकालमा पैmलाइएको भ्रमले गर्दा केटाकेटीहरूलाई आतङ्कित पारेको थियो ।

छुवाछूतको अनुभव

एकातिर कोरोनाकालमा जागीर गुमाउनुको परेशानी थियो भने अर्कोतिर काम पाए पनि मालिकको व्यवहारले धेरै परेशान गरिरहेको थियो । चन्दनका अनुसार जब उनी काम गर्न जान्थे त्यहाँ कुनै पनि कुरा छुनुभन्दा पहिला हात धुनु, हातलाई सेनेटाइज गर्नु आवश्यक थियो। रोशनका अनुसार यो छुवाछूतजस्तै रोग थियो । उसको समुदायमा कोही तरकारी बेच्न आउँदा सबै मिलेर उसलाई भगाइदिन्थे ।

आमाबुवाको चिन्ता

केटाकेटीहरू परिवारमा ठूलाबडाको तनाव पनि अनुभव गरिरहेका थिए र उनीहरूको दुःख हटाउने प्रयास गरिरहेका थिए । तनावले गर्दा घरमा हुने झगडा पनि केटाकेटीहरूमा तनावको एउटा कारण थियो । छिमेकीले बताए अनुसार– घरमा काम गर्ने एउटी महिला छोरीसहित मालिकको घर पैसा माँग्न गइन्, तर मालकिनले घरभित्र पस्न नदिएपछि रुन थालिन् र छोरीले आमाको हात समातेर घर ल्याइन् ।

समाचारको प्रभाव

कोभिड–१९ कसरी फैलिरहेको छ, कुन देशमा के भइरहेको छ जस्ता समाचारहरूले पनि केटाकेटीहरूलाई प्रभावित गरिरहेको थियो । के पनि हेर्न पाइयो भने आफूभन्दा टाढा रहेका नातेदारहरूबारे पनि उनीहरू चिन्तित थिए । केटाकेटीहरूसँग धेरै प्रश्न थिए तर त्यसको जवाफ दिने कोही थिएन । आफ्नो समुदायमा उनीहरू खेलि पनि रहेका थिए तर स्वतन्त्रताको अनुभूति थिएन । उनीहरू विद्यालयलाई बढी सम्झना गरिरहेका थिए । आआफ्नो समस्याबाहेक उनीहरू देश–दुनियाँको समस्याबाट पनि ग्रसित थिए ।

केटाकेटीहरूको स्थितिलाई कोरोना कालमा नियाल्दा के अनुभव भयो भने उनीहरूसँग लगातार कुरा गर्नु र घर वरिपरि केही गतिविधि हुनु आवश्यक थियो तर त्यो भइरहेको थिएन । यस विश्लेषणबाट के प्रस्ट हुन्छ भने यस प्रकारको भूमिका धेरैले निर्वाह गर्न सक्छन् चाहे घरका व्यक्ति हुन् वा शिक्षक वा समाजको कोही अन्य । खाँचो केटाकेटीहरूको कुरा सुन्नु र उनीहरूको तनाव साझा गर्ने अवसर प्रदान गर्न दिनु थियो । हालसम्म कोरोनामाथि पूर्ण नियन्त्रण हुन सकेको छैन । यस परिवेशमा केटाकेटीहरूसँग नियमित छलफल गर्नु र उनीहरूको दिशा–निर्देश गरिराख्नु आवश्यक छ र सँगसँगै, सबैले विश्व स्वास्थ्य सङ्गठनले यस सम्बन्धमा निर्धारित गरेको कार्यक्रम अनुसार दिनचर्या बनाउनु आवश्यक छ ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here