उद्योग र प्रदूषण

0

जहाँ उद्योग हुन्छ, त्यहाँ प्रदूषण हुन्छ । यस कुरालाई नेपाल सरकारले आफ्नो बुद्धि–विवेक गुमाएर स्वीकार गरिसकेको छ । सरकारले नै स्वीकार गरिदिंदा, उद्योगहरूलाई हाइसञ्चो भएको छ । नतीजा हिजोसम्म नेपालका प्रायः सबै शहरहरू प्रदूषण झेल्दैछन् । किनकि उद्योगहरू शहर वा शहर आसपास फस्टाएका छन् । उद्योगहरूले आफूले विसर्जन गरेका प्रदूषणप्रति जिम्मेवारी लिने आवश्यकता महसूस गरेका छैनन् । धूलो, कसिङ्गर, रासायनिक तरल सडक छेउको नालीमा, नदीमा, कसैको जग्गामा जहाँ पोखे पनि हुने भएको छ । आफूले उत्पादन गरेको फोहरको विसर्जनको दायित्व आफ्नै हो भन्ने मानवीय चेत निकै पैसा भएका उद्योगीहरूमा पलाउन सकेको छैन । साँच्ची भन्ने हो भने पलाउन नसकेको होइन, दायित्व पूरा गर्दा रकम खर्च हुने, नगर्दा कुनै बात नलाग्ने भएकोले अरूको स्वास्थ्य बिगारेर भए पनि आफ्नो नाफामा क्षति हुन नदिने उद्योगहरूको सोच हो । झन् सरकारले नै यसमा ध्यान नदिंदा, आन्दोलन मात्र गर्न जानेको जनताका लागि पापको घैंटो भरियोस् र आन्दोलनका नाममा तहसनहस पार्न सकियोस् भन्ने अवसर कुर्नुको विकल्प छैन ।

उद्योग जहिले पनि मानव बस्तीभन्दा पर स्थापित हुनुपर्ने मान्यता हो । तर उद्योगका साथ यो पनि विडम्बना रहेको छ कि जहाँ उद्योग स्थापित हुन्छ, त्यहाँ मानिसको भीड हुन थाल्छ । तिनका लागि चिया–चमेना बनाउने छाप्रोबाट शुरू भएर दश वर्षभित्र बाक्लै बस्ती बस्न पुग्दछ। र तिनै बस्तीहरू प्रदूषण बढ्यो भनेर कोकोहोलो गर्न थाल्दछन् । तर नेपालमा यस अनिवार्य अव्यवस्थाका साथ उद्योगहरूले आफैं पनि प्रदूषणप्रति सरोकार देखाउने गरेका छैनन् । उद्योगपछि आबाद भएका बस्तीको कुरा छाडिदिने हो भने उद्योगहरूले ठूला–ठूला नदीदेखि, नालासमेतलाई आफ्नो पेवा किन ठान्दछन् ? आज पर्यावरणको कुरा चलिरहेको छ, ती नदीहरूमा बस्ने जलचरहरूको उद्योगका विषाक्त पानीले अस्तित्व नाश भएको छ, मानिसको धार्मिक, सामाजिक जीवनमा बदलाव आइसकेको छ । यसप्रति उद्योगहरूले किन नैतिक जिम्मेवारी महसूस गर्दैनन् ? हुनत कानूनी जिम्मेवारी पनि छ, तर कानूनी जिम्मेवारी पूरा गराउने दायित्व सरकारको हो, जसलाई प्रदूषणसँग दुराग्रह छैन । अनि कसरी हुन्छ, प्रदूषणरहित कामनाको पूर्ति ? देशलाई लोकतन्त्र त भनिएको छ तर लाठीतन्त्र विद्यमान छ । लाठी भनेपछि अहिलेको वित्त–प्रधान समाजमा रुपियाँमात्र हो । त्यो उद्योगसँग बग्रेल्ती हुन्छ ।

अहिले नेपाल केही बढी आधुनिकतातर्फ लम्केको छ । जनप्रतिनिधिहरूले अधिकार पाएका छन्। शहर वरपर कि जग्गा छैन, कि ज्यादै महँगो छ । त्यसैले उद्योगहरू अब ग्रामोन्मुख भएका छन्। अब यिनले स्वस्थ, सदा जवान गाउँलेलाई पनि मानसिक र शारीरिकरूपले रोगी बनाउने नै छन् । सरकार र नागरिकको पनि मान्यता छ, उद्योगको लाभ गाउँहरूले पनि पाउनुपर्छ । गाउँले लाभ पाउनु भनेको रोजगारको अवसर हो । उद्योग स्थापना भयो भने गाउँलेहरूले रोजगार पाउँछन् । यहाँसम्म त कुरा ठीक हो, तर उद्योगहरूको वातावरणप्रति स्वच्छन्द व्यवहारले गर्दा भोलि वातावरणीय प्रदूषण, रोजगारको सानो राहतको बदला, ठूलो आपत्ति बनेर आउँछ । अहिले सानासाना उद्योगहरू मात्र गाउँ पसेका छन् र पटेर्वा सुगौलीजस्ता गाउँलाई प्रदूषणले विदग्ध पार्न थालेका छन् । ठूला उद्योग पसे भने के होला ?

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here