प्रस, वीरगंज, ४ मङ्सिर/

वीरगंज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले कोभिड महामारीले शिक्षामा पारेको प्रभाव न्यूनीकरणका लागि महानगरपालिकाले चालेको कदम सही रहेको दाबी गरेका छन् ।

अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा चाइल्ड हब नेपालले शनिवार वीरगंजमा आयोजना गरेको वक्तृत्वकला प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि नगरप्रमुख सरावगीले कोरोना महामारीले लामो समयसम्म विद्यालय बन्द हुँदा विद्यार्थीहरूको शिक्षामा नकारात्मक प्रभाव पार्नुका साथै अभिभावकहरू चिन्तित भएको बेलामा महानगरपालिकाले शुरूमा कक्षा ८ देखि माथिको पठनपाठन शुरू गर्ने निर्णय गरेको र सोही निर्णयकै आधारमा देशभरका विद्यालयहरू खुला भएको दाबी गरे ।

कोभिड–१९ को हटस्पट बनेको वीरगंजमा शुरूमा कोभिड सङ्क्रमण नियन्त्रण र व्यवस्थापनमा अपनाइएको पद्धति पनि देशकै लागि उदाहरणीय बनेको र शिक्षा क्षेत्रमा पनि महानगरपालिकाले अपनाएको मोडालिटी सही साबित भएको नगरप्रमुख सरावगीले बताए । कोरोनाको जोखिम कायमै रहेको अवस्थामा पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर जोखिम कम हुने कक्षाहरू मात्रै सञ्चालनमा ल्याइएको र यसले धेरै बालबालिकाको शिक्षामा नकारात्मक प्रभाव पर्नबाट जोगिएको बताए ।

नगरप्रमुख सरावगीले तेस्रो लहरको कोभिडको जोखिम हुन सक्ने सम्भावनालाई दृष्टिगत गरी नारायणी अस्पतालमा निजी क्षेत्रले स्थापना गरेको सघन बाल उपचार कक्ष स्थापनासँगै बालबालिकाहरूलाई जोखिम न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रमहरू महानगरपालिकाले निरन्तर दिंदै आएको पनि बताए । उनले सीमा क्षेत्र भएकोले अझै पनि कोभिड सङ्क्रमणको जोखिम कायमै रहेकोले बालबालिकाहरूलाई जोखिमबाट बचाउनका लागि अभिभावकहरू पनि गम्भीर हुनुपर्ने सुझाव दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here