प्रस, वीरगंज, ३ मङ्सिर/
वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा सुबोध गुप्ताले वीरगंज–रक्सौल सीमालाई हैप्पी बोर्डरको रूपमा परिणत गर्न सुझाव दिएका छन् ।
शुक्रवार सङ्घको कार्यालयमा भारत, मुजफ्फरपुर संसदीय क्षेत्रका सांसद अजय निषादसँग छलफलमा उनले सो कुरा बताएका हुन् । अध्यक्ष डा गुप्ताले रक्सौल वरपर क्षेत्रको भौतिक पूर्वाधारको अवस्थाप्रति सांसद निषादको ध्यानाकर्षण गराउँदै सडकलगायत भौतिक स्तरोन्नतिका लागि पहल गर्न आग्रह गरे ।
उनले सन् १९७५ अगाडि सञ्चालनमा आएको र त्यसपछि बन्द भएको रक्सौल एयरपोर्टको स्तरोन्नति गरी सञ्चालनमा ल्याउन पहल गर्न आग्रह गरे । उनले वीरगंज–रक्सौल नाकाबाट दैनिक हजारौं यात्रीहरूको आवागमन हुने भएकोले यो क्षेत्रलाई हैप्पी सीमाको रूपमा परिणत गर्न सांसद निषादको ध्यानाकर्षण गराए । उनले यसका लागि सीमा क्षेत्रको दुवैतर्फ २५/२५ किलोमिटरमा भौतिक पूर्वाधार विकास गरी यात्रीहरूलाई कुनै पनि किसिमको कष्ट नहुने वातावरण निर्माण गर्न सुझाव दिए । यसो गरेको खण्डमा दुवैतर्फ पर्यटकहरू आकर्षित हुने उनको सुझाव थियो ।
प्रदेश २ का ऊर्जा तथा खानेपानी मन्त्री ओमप्रकाश शर्माले नेपाल–भारत सीमा क्षेत्रको विकासको लागि प्रदेश सरकारबाट हुन सक्ने सहयोगको लागि आफूले इमानदार पहल गर्ने बताए ।
सांसद निषादले वीउवासङ्घले उठान गरेको विकाससम्बन्धी मुद्दालाई आफूले सकारात्मकरूपमा लिएको बताए । उनले यी मुद्दाहरूलाई मूर्तरूप दिन आफ्नो तहबाट हुने सबै प्रयास गर्ने आश्वासन दिए । उनले आफूले प्रदेश र केन्द्र सरकारको यस विषयमा ध्यानाकर्षण गराउने पनि बताए ।
कार्यक्रममा बोर्डर फर मिडिया हार्मोन भारतका अध्यक्ष अमरेन्द्र तिवारी, सङ्घका पूर्वअध्यक्ष अशोककुमार बैद, वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्ष माधव राजपाल, सचिव आशीषकुमार लाठ, सदस्य नरेश टिबडेवाललगायतले नेपाल–भारत सीमा क्षेत्रसँग जोडिएका विषयमा धारणा राखेका थिए ।