राधेश्याम पटेल, परवानीपुर, ३ मङ्सिर/

पर्सा, बहुदरमाई नगरपालिका–८ रामनगरीस्थित देवनन्दन देवराज नमूना माविका विद्यार्थीहरूले आज बिहानैदेखि तालाबन्दी गरेका छन् । विद्यालयका प्रधानाध्यापक, वडा नं ८ का वडा अध्यक्ष पुनिलाल साह र विद्यालय व्यवस्थापन समितिका सदस्य राजेन्द्र पडितलाई प्रअकै कार्यकक्षमैं थुनेर तालाबन्दी गरेका हुन् ।

विद्यार्थीको तुलनामा विषयगत शिक्षक नभएको भन्दै शिक्षकको व्यवस्था मिलाउनुपर्ने माग गर्दै बाध्य भएर आन्दोलन गरिएको विद्यार्थीहरूले बताएका छन् । विद्यालयमा १२ सम्म पढाइ हुन्छ। प्लस टुमा शिक्षा र वाणिज्य सङ्काय चल्छ ।

८४० विद्यार्थी रहेको विद्यालयमा जम्मा सातजना शिक्षकले पढाउँदा पढाइ पनि राम्ररी हुन नसकेको र यसैबीच नगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले प्रावि स्थायी शिक्षक मनोज सहनीलाई भङ्गी साह विश्रामपुरमा सरुवा गरेपछि अवस्था झनै बिग्रेकोले बाध्य भएर विद्यार्थीहरूले आन्दोलनमा उत्रिनुपरेको बताएका छन् ।

कक्षा ११ की छात्रा बबिताकुमारी गोसाइँले शिक्षक अभावको कारण ६ घण्टीमा दैनिक २ घण्टी मात्र पढाइ हुने गरेको र आफूहरूको भविष्यसँग खेलवाड भइरहेको बताइन् । उनी शिक्षक समस्याबारे विद्यालयका प्रधानाध्यापक र विव्य समितिका पदाधिकारीलाई जानकारी गराउँदा समेत कुनै सुनुवाइ नभएपछि प्रअ तथा अन्य पदाधिकारीलाई थुनेर सडक जाम गर्नुपरेको स्पष्ट पारिन् ।

यस विषयमा विद्यालयका प्रधानाध्यापक मनोजकुमार श्रीवास्तवले शिक्षक पदपूर्तिको सवालमा नगरपालिकाले सहयोग नगरेको बताउँदै नमूना विद्यालयको बजेट पनि विद्यालय व्यवस्थापन समितिले पूर्णता नपाउँदा दिन नमानेको आरोप लगाए । पटकपटक नगरपालिकालाई विद्यालयको समस्या जानकारी गराउँदा पनि मेयर नितेन्द्र साह र प्रमुख प्रशासकीय अधिकृत विदुरप्रसाद उप्रेतीले कुनै चासो नदिएर यस्तो अवस्था सृजना गराएको आरोप लगाए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उप्रेतीले विद्यालयमा स्थानीयले राजनीति गरिरहेकाले विद्यार्थी उग्र भएका बताए । उनले सरूवा गरिएको शिक्षकले विद्यार्थीलाई उचालेर यस्तो गतिविधि गराएको बताए । उनले विद्यालय व्यवस्थापन समितिले पूर्णता पाएपछि नमूना विद्यालयको बजेट फुकुवा दिने बताए । विद्यालयमा माविमा जम्मा एक, निमाविमा दुई र प्राविमा तीनवटा दरबन्दी छ, केही शिक्षक करारमा नियुक्त रहे तापनि उनीहरूले तलब पाएका छैनन् ।

नगरपालिकाको बजेट रोकिएकोले विद्यालय मात्र होइन, पोखरी र खेतको टेन्डर पनि हुन सकेको छैन । विद्यालय व्यवस्थापन समितिले पूर्णता नपाएर अध्यक्ष चयन हुन सकेको छैन । यसले गर्दा पनि विद्यालयमा समस्या तेर्सिएको विद्यालय व्यवस्थापन समितिका सदस्य राजेन्द्र पडितले बताए । उनले नगर प्रमुख साहको कारण विद्यालयको अवस्था बर्बादीको दिशामा लाग्न थालेको आरोप लगाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here