सरकार किसानमैत्री भएन

0

किसानहरूलाई अहिले गहुँखेती गर्ने समयमा पनि मलको समस्या झेल्नुपरेको छ । सरकारले मलको समस्या हुँदैन भनेको कैंयन वर्ष बितिसक्यो तर जबजब खेतीबालीको बेला आउँछ, यो समस्याले उनीहरूलाई पिरोल्न भने छाडेको छैन । सरकारसँग देशभर हुने खेतीपातीको तथ्याङ्क छ । यसैगरी, वर्षभरि गरिने खेतीपातीको लागि आवश्यक पर्ने मलबारेमा पनि जानकारी छ । तर प्रत्येक वर्ष कुनै न कुनै कारणवश मलको अभाव हुने क्रम पनि टुटेको छैन । यस वर्ष धानखेतीको बेलामा पनि मलको अभाव रह्यो । आवश्यक मलको पूर्ति साल्ट टे«डिङ र कृषि सामग्री कम्पनीले गर्न सकेनन् । मलको आपूर्ति सहज पार्नका लागि सरकारले आयातकर्तासँग गरेको सम्झौता अनुसारको मल देशमा आएन । मल आयातको जिम्मेवारी लिएको आयातकर्ता कम्पनीले तोकिए अनुसारको मल आपूर्ति गर्न नसकेर दण्डित बन्यो । नेपालमा आवश्यक मल भारतबाट आयात हुन्छ वा तेस्रो मुलुकबाट भारतको बाटो भएर आउने गर्छ । भारतले मल आयातमा ढिला मात्र गरेन, त्यहाँको बन्दरगाहमा आएको मल समयमा पठाउनेतर्फ पनि बेवास्ता ग¥यो, जसको परिणाम नेपाल सरकारले बङ्गलादेश सरकारसँग मलको लागि गुहार लगाउनुप¥यो । बङ्गलादेशले नेपाल सरकारको आग्रहमा ५० हजार बोरा मल फास्ट ट्र्याकबाट उपलब्ध पनि गरायो । तर त्यहाँबाट आएको ५० हजार बोरा मल देशभरका किसानहरूको लागि पर्याप्त भएन । फलतः मलको अभावमा उत्पादन प्रभावित भयो । अहिले धानबाली भिœयाउने र गहुँखेतीको लागि बीउ छर्न किसानहरू व्यस्त छन् ।

धान भिœयाएसँगै खेत खनतोज गरेर गहुँको बीउ छर्ने कार्यमा व्यस्त हुनुपर्ने किसानहरू अहिले मलको जोहो गर्न लाग्नुपरेको छ । गहुँको बीउ छरेको दुई सातामा किसानहरूले मल छर्नुपर्छ । तोकिएको अवधिमा मल छर्न नसकेको खण्डमा उत्पादन घट्न सक्छ । किसानको उत्पादन बढाउनका लागि आवश्यक मल, बीउबिजन, सिंचाइ आदिको व्यवस्था तीन तहको सरकारले गर्नुपर्ने हो । किसानले खेतीपाती सहजरूपमा गर्न सकेको खण्डमा उत्पादन बढ्छ र देश खाद्यान्नमा आत्मनिर्भर बन्न सक्छ । नेपाललाई कृषिप्रधान देश भनिन्छ, तर यहाँका किसानहरू जहिले पनि कुनै न कुनै समस्याबाट जेलिएकै हुन्छन् । किसानहरू खेती कर्म गर्दा समस्यामुक्त हुने हो भने मात्र उनीहरू उब्जनी बढाउने गरी खेती कार्यमा खट्न सक्छन् । वैदेशिक रोजगारको नाममा बर्सेनि लाखौंको सङ्ख्यामा युवा विदेशिदै गरेकाले खेती कर्मको लागि नेपालमा जनशक्तिको कमी हुँदै गएको छ । घरमा भएका बूढापाकाहरूले कृषि कार्य गर्दै आएको यथार्थ कसैबाट लुकेको छैन ।

युवा जनशक्तिको अभावमा कृषि कार्यबाट सोचेअनुरूपको उपलब्धि हासिल हुन सकिरहेको छैन । उपलब्ध थोरै जनशक्तिबाट कृषि कार्य हुँदै आएकोमा त्यो शक्तिले खेत खनजोत गर्ने, बीउबिजन, मल, सिंचाइको व्यवस्था गर्ने जस्ता समस्या विद्यमान छ । केन्द्र, प्रदेश र अहिले स्थानीय तह गरी तीनथरीको सरकारबाट पनि किसानहरू समस्याग्रस्त हुनु आफैंमा लाजमर्दाे कुरा हो । भन्ने बेलामा केन्द्र, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरू आफूलाई किसानको छोरा भन्न गर्व गर्छन् । तर त्यही किसानका छोरा भनाउँदाहरू आफ्नो पैतृक पेशालाई मजबूत र समस्यारहित बनाउन क्रियाशील हुनै सकेका छैनन् । शायद यसको एउटै कारण होला सत्ताको विलासिता ?

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here