द्रोण पर्व–५२

0

महाभारतबाट सङ्कलन तथा अनुवाद

  • उमाशङ्कर द्विवेदी

यदि आज कुष्णकुमार प्रद्युम्नजी यहाँ भएको भए म उनलाई तपाईंको रक्षाको भार सुम्पिदिन्थे र उनी अर्जुनकै समान तपाईंको रक्षा गर्न सक्दथे, अब यदि म यहाँबाट गइहाले भने तपाईंको रक्षा कसले गर्नेछ ? र अर्जुनतिरबाट तपाईंले फिक्री गर्नुपर्ने छैन । उनी कुनै पनि किसिमको दायित्व आफूमाथि लिएर कति पनि आतिंदैनन् । तपाईंले जुन सौवीर, सिन्धुदेशीय, उत्तरीय र दक्षिणात्य योद्धाहरूको कुरा गर्नुभयो तथा जुन कर्ण आदिको नाम लिनुभयो, ती जम्मै त रणाङ्गणमा कुपित भएका अर्जुनको सोलहौ अंश बराबर पनि छैनन् ।

यदि पृथ्वीभरिका देउता, असुर, मानिस, राक्षस, किन्नर र नाग आदि चराचर जीव अर्जुनसित युद्ध गर्न तयार भएपनि तिनीहरू उनको सामु टिक्न सक्दैनन् । यी जम्मै कुराको विचार गरेर तपाईंले अर्जुनको विषयमा कुनै आशङ्का गर्नुहुँदैन । जहाँ महापराक्रमी वीरवर श्रीकृष्ण र अर्जुन छन्, त्यहाँ काममा कुनै पनि किसिमको आपत्ति आउन सक्दैन । तपाईंले आफ्नो भाइको दैवीशक्ति, शस्त्रकुशलता, योग, सहनशीलता, कृतज्ञता र दयामाथि ध्यान दिनुहोस् ।

म उनको छेउमा गइसकेपछि द्रोणाचार्यले जुन विचित्र अस्त्रहरूको प्रयोग गर्नेछन्, त्यस विषयमा पनि विचार गर्नुहोस् । राजन्, आफ्नो प्रतिज्ञा रक्षाको कारण आचार्यले तपाईंलाई समात्नको लागि अति नै उत्सुक छन् । अतः तपाईंले आफू बच्ने उपाय गर्नुहोस् । म गइसकेपछि तपाईंको रक्षा कसले गर्नेछ ? यदि यस कुराको मलाई पूर्ण विश्वास भएपछि मात्र म अर्जुनको छेउमा जान सक्दछु ।

युधिष्ठिरले भने– सात्यकि, तिमीले भनेको कुरा बेसै हो तर जब म आफ्नो रक्षाको लागि तिमीलाई मसित बस्न तथा अर्जुनको सहायताको लागि तिमीलाई पठाउनेबारेमा विचार गर्दा तिमीलाई अर्जुनको रक्षाको लागि जानु नै बेस ठान्दछु । अतः अब तिमी अर्जुनको छेउमा पुग्ने प्रयत्न गर । मेरो रक्षा त भीमसेनले पनि गर्न सक्दछन् । यसबाहेक भाइहरूसहित धृष्टद्युम्न, अनेकौं महाबली राजा, द्रौपदीका पुत्रहरू, पाँचजना केकय राजकुमार, राक्षस घटोत्कच, विराट, दु्रपद, महारथी शिखण्डी, महाबली धृष्टकेतु, कुन्तिभोज, नकुल, सहदेव तथा पाञ्चाल र सृञ्जयवीरहरू पनि सावधानीका साथ मेरो रक्षा गर्नेछन् ।

यिनीहरूको कारण आफ्नो सेनासहित द्रोण र कृतवर्मा मसम्म पुग्न वा मलाई कैद गर्न समर्थ हुने छैनन् । किनाराले जसरी समुद्रलाई रोकिराख्दछ, त्यसै प्रकार धृष्टद्युम्नले आचार्यलाई रोकिदिनेछन् । यिनले कवच, बाण, खड्ग, धनुष र आभूषण धारण गरेर द्रोणको नाश गर्नकै लागि जन्म लिएका छन् । त्यसैले तिमी यिनीमाथि भरोसा गरेर जाऊ, कुनै पनि प्रकारको फिक्री नलेऊ ।

सात्यकिले भने– यदि तपाईंको विचारमा तपाईंको रक्षाको प्रबन्ध भइसकेको छ भने म अर्जुनको छेउमा अवश्य जानेछु र तपाईंको आज्ञाको पालना गर्नेछु । म सत्य भन्दैछु– तीनै लोकमा कुनै पनि व्यक्ति यस्तो छैन, जो मेरोलागि अर्जुनभन्दा बढी प्रिय होओस् तथा मेरोलागि जति उनको वचन मान्य छ त्यसभन्दा पनि बढी तपाईंको आज्ञा शिरोधार्य छ । श्रीकृष्ण र अर्जुन यी दुवै तपाईंको हितमा तत्पर रहन्छन् र मलाई तपाईंले उनीहरूकै प्रिय साधनमा तत्पर ठान्नुहोस् । म अहिले नै यस दुर्भेद्य सेनालाई चिरेर पुरुषसिंह पार्थको छेउमा जानेछु ।

जुन ठाउँमा उनीसित भयभीत भएर जयद्रथ आफ्नो सेनासहित अश्वत्थामा, कृप र कर्णको रक्षा कवचमा उभिएको छ तथा पार्थ उनको वध गर्न गएका छन्, त्यो यहाँबाट तीन योजन टाढा छ, तापनि मलाई पूर्ण विश्वास छ कि जयद्रथको वध हुनुभन्दा पहिले नै म त्यहाँसम्म पुगिहाल्नेछु। तपाईंले आज्ञा दिएपछि कसले युद्ध गर्नेछैन ? राजन्, जुन ठाउँमा मलाई जानु छ, त्यो मलाई राम्ररी थाहा छ । म हलो, शक्ति, गदा, प्रास, ढाल, तरबार, ऋष्टि, तोमर, बाण तथा अन्यान्य अस्त्रशस्त्रबाट यस सैन्य समुद्रलाई सजिलै तर्न सक्दछु । यसपश्चात् महाराज युधिष्ठिरको आज्ञाबाट सात्यकि अर्जुनसित भेट्नको लागि तपाईंको सेनाभित्र छिरिहाले ।

सात्यकि युद्ध गर्नको लागि तपाईंको सेनाभित्र छिरेपछि आफ्नो सेनासहित महाराज युधिष्ठिरले द्रोणचार्यलाई रोक्नको निम्ति उनको रथमाथि आक्रमण गरे । त्यति बेला रणोन्मत्त धृष्टद्युम्न र वसुदानले पाण्डवको सेनालाई डाँक्दै भने–आऊ, आऊ शत्रुसेनामाथि आक्रमण गर, जसले गर्दा सात्यकि सहजमैं अघि बढ्न सकून् । हेर, कौरवपक्षका अनेकौं महारथीले उनलाई परास्त गर्ने प्रयत्न गरिरहेका छन् । यति भन्दै अनेकौं महारथी बडो वेगले हामीमाथि आइलागे तथा उनीहरूलाई पछि पार्नको लागि हामीले पनि उनीहरूमाथि आक्रमण ग¥यौं । यसैबेला सात्यकिको रथतिर बडो कोलाहल हुन थाल्यो ।

त्यस महारथीको बाणको प्रहारबाट तपाईंको पुत्रको सेनाको सयकडौं टुक्रा भइहाल्यो तथा उनीहरू यताउति भाग्न थाले । उनीहरू छिन्नभिन्न भएपछि सात्यकिले सेनाको मुहानमा उभिएका सातजना वीरलाई मारिदिए । यसपछि अरू पनि अनेकौं राजालाई आफ्नो अग्निसदृश्य बाणहरूबाट यमलोकमा पठाइदिए । उनले धेरैजसो हात्तीसवार र हात्तीहरूलाई, घोडसवार र घोडाहरूलाई तथा रथी र घोडासहित रथहरूलाई नष्ट पारिदिए । यस प्रकार फुर्तिलो सात्यकिले बाणहरूको झरी लगाइदिए, त्यति बेला तपाईंको सैनिकमध्ये कसैलाई उनको सामु जाने साहस भइरहेको थिएन । उनको बाणवर्षाबाट घाइते भएर उनीहरू तर्सिंदै युद्धभूमिबाट भाग्न थाले । क्रमशः…

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here