शैक्षिक संस्था हुन् कि विद्यार्थी उत्पादन गर्ने कारखाना ?

0
  • राजेश मिश्र

‘ना चलनीया हँसेवाला बा, ना सुपुलीया दुषेवाला बा’ अर्थात् समान दुई पक्षको कार्यप्रणाली नीतिसङ्गत नलागेको सन्दर्भमा यो भोजपुरी उखान सदियौंदेखि प्रचलनमा छ । यहाँ सरकारी र निजी शैक्षिक संस्थाहरूप्रति यो भोजपुरी उखान उद्धृत छ । किनभने शैक्षिक संस्थाहरू वस्तु उत्पादन गर्ने कारखानाको स्वरूपमा परिणत हुँदै गइरहेकोे कुरा विभिन्न गतिविधिले स्पष्ट देखिन्छ । एकातर्फ सरकारी विद्यालयहरूमा भौतिक पूर्वाधार, शैक्षिक सामग्री र तालीमप्राप्त शिक्षकलगायत संसाधनका बावजूद प्रतिफल प्रशंसायोग्य भन्ने अवस्था छैन । अर्कोतर्फ निजी विद्यालयहरूको गतिविधि हेर्दा आर्थिकलगायतका सम्पूर्ण व्यवस्थापन आफ्नै काँधमा भएकोले व्यापारिक केन्द्रको रूपमा उदीयमान छन् ।

हुनत सरकारी वा निजी जुनसुकै विद्यालय भए तापनि कार्यप्रणाली संविधानतः सञ्चालन हुने नियम छ । सबै प्रकारका विद्यालय शिक्षा ऐन र नियमावलीको दायराभित्र पर्छन् । अहिले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार विद्यालयहरूको जिम्मेवारी पालिकामा निहित छ । प्रत्येक पालिकामा छुट्टै शिक्षा शाखा छ, जो शिक्षा क्षेत्रसँग सम्बन्धित ऐन, नियम कार्यान्वयनका साथै प्रगति उन्मुख कार्य गर्ने र गराउने निकाय हो । कर्मचारीको रूपमा व्यक्ति जो कोही भए तापनि निष्ठापूर्वक जिम्मेवारी निर्वहन गर्ने हो भने शिक्षा क्षेत्रको बेथिति निर्मूल नहुने कुरै छैन । तर त्यसको लागि स्वार्थवाद, नातावाद र कृपावादबाट उन्मुक्त नभई हुँदैन ।

केही महीनाअघिको एक घटना यहाँ प्रस्तुत गर्नु उपयुक्त हुन्छ । वीरगंज मनपाको शिक्षा शाखाबाट विभिन्न विद्यालयको अनुगमन भएको सूचना र तस्वीर सामाजिक सञ्जालमा सम्प्रेषण भए । समाचारमाध्यमहरूमा प्रकाशित र प्रसारित भए । विद्यालयहरूमा अनुगमन र छड्के हुन थालेको विषयले खूब चर्चा पायो । फलस्वरूप वीरगंज महानगरको शिक्षा क्षेत्रको दुरवस्था सुधार हुने आशा जनमनमा पलायो । तर वास्तविकता भने ‘हात्तीको खाने दाँत र देखाउने दाँत’ भन्दा भिन्न रहेनछ ।

खासमा के हो भने वीरगंज मनपाले एक राष्ट्रिय टेलिविजनसँग वीरगंजको समग्र क्षेत्रलाई समेटेर श्रव्यदृश्य छायाङ्कन गरी प्रसारण गर्ने सम्झौता गरेको रहेछ । सोही क्रममा छायाङ्कन युनिटसहित शिक्षा शाखाका अधिकारीको टोली दुई/तीन दिनसम्म मातहतका विभिन्न विद्यालयमा पुग्यो । छड्केको आवरणमा श्रव्यदृश्य छायाङ्कन गर्ने काम भयो । सकारात्मक पक्षहरू समेटिएका श्रव्यदृश्य टेलिभिजनबाट प्रसारित पनि भइसकेको छ । कहिल्यै नहुने छड्के अचानक हुन थालेपछि शिक्षा क्षेत्रमा हड्कम्प नमच्ने कुरै थिएन । तर ‘हात्ती आयो, हात्ती आयो फुस्सा’झैं अनुगमन कार्य स्थगन छ । यो त केवल उदाहरण मात्र हो ।

सरुवा, बढुवा, नयाँ नियुक्ति, भवन निर्माण आदि नियमसङ्गत कार्यमा अनियमित फाइदा हुने सम्भावना बढी रहेकाले प्रगति उन्मुख कार्य ओझेलमा छन् । थोरै भएपनि नियामक निकायको सक्रियता सरकारी विद्यालयतर्फ देखिए तापनि निजी शैक्षिक संस्थाको कामकारबाहीप्रति तदारूकता शून्य छ । निजी शैक्षिक संस्था व्यक्तिको हो र उसले जे पनि गर्न सक्छ भन्ने आम मनोविज्ञान पाइन्छ । निजी शैक्षिक संस्थाहरू विद्यार्थीहरूलाई आकर्षित गर्ने काममा माहिर छन्। केही प्रतिशत विद्यार्थीको तस्वीरसहित प्राप्ताङ्क तथा शैक्षिक भ्रमणलगायतका बाह्य क्रियाकलापलाई अघि सारेर नियमविपरीतका क्रियाकलापहरू ढाक्छन् ।

जस्तै निजी विद्यालयले भर्ना शुल्क र शिक्षण शुल्कलगायतका विविध शुल्कहरू निर्धारण गर्ने कानूनी प्रावधान शिक्षा ऐनले निर्दिष्ट गरेको छ । विद्यालयले उपलब्ध गराउने सुविधालाई मध्यनजर गरी शिक्षक, व्यवस्थापन समिति तथा अभिभावकको उपस्थिति र सहमतिमा नियामक निकायले शुल्क निर्धारण गर्नुपर्ने नियम छ । तर त्यस्तो नभएपछि पारदर्शी हुने कुरै भएन । कोेठे बैठक गरी मनपरी तरीकाले शैक्षिक संस्था र नियामक निकायको साँठगाँठमा शुल्क निर्धारण गर्ने परम्परा कहिले हट्छ ? भौतिक पूर्वाधार कस्तो छ ? कक्षा कोठा, शैक्षिक सामग्री, शौचालय र खानेपानीको अवस्था कस्तो छ ? सबै विद्यार्थी उभिन सक्ने कम्पाउन्ड छ कि छैन ? खेलकूदको लागि मैदान छ कि छैन ? शैक्षिक स्तर कस्तो छ ? आदि कहिल्यै र किन अनुगमनको दायरामा पर्दैन ?

यसको अलावा विद्यार्थीहरूमा पास र फेलको त्रास अङ्कुरित गरिंदैछ । तत्कालीन एसएलसी परीक्षाको नतीजामा राष्ट्रिय प्रथम वा जिल्ला प्रथम देखाउने नियम अहिलेको शिक्षा प्रणालीमा छैन । यद्यपि निजी शैक्षिक संस्थाहरूमा शैक्षिक प्रगतिको नाममा भारत, राजस्थानको कोटा जस्तै पद्धति विकसित हुँदै जानु खेदपूर्ण छ । तीक्ष्ण, उत्तम, मध्यम र मन्द प्रकृतिका विद्यार्थीहरूको वर्गीकरण गरी पढाउने होड चलिरहेको छ । मिश्रित प्रणालीको शैक्षिक महŒवको थोरै पनि अनुभूति छैन । तीक्ष्ण विद्यार्थीहरूको वर्ग छुट्ट्याएर अन्य विद्यार्थीमा मनोवैज्ञानिक वितृष्णा अङ्कुरित गरिंदैछ ।

प्रतिभाशाली विद्यार्थीलाई छनोट गरी फरक वर्गमा राखेर पढाउँदा विद्यालयलाई के फाइदा छ ? विद्यालयले युवा मनोविज्ञानमा प्रभाव पार्ने हर्कत किन गरिरहेको छ ? जब शुल्क आदिमा तीक्ष्ण, मन्द, धनी र गरीबको मूल्याङ्कन गरिंदैन भने पढाइमा किन हुँदैछ ? यदि यसो हो भने तीक्ष्ण विद्यार्थीबाहेक भर्ना किन लिनुप¥यो ? उदाहरणको लागि मानौं कुनै शैक्षिक संस्थामा चार सय विद्यार्थी अध्ययनरत छन् भने उनीहरूमध्ये करीब १० प्रतिशत अर्थात् ४० जना विद्यार्थी तीक्ष्ण प्रकृतिका होलान् । ९० प्रतिशत अर्थात् ३६० जना विद्यार्थीसँग किन विभेद भइरहेको छ ? अदृश्यरूपमा विभेदमा परेका विद्यार्थीहरूको शुल्कले शैक्षिक संस्थाको आर्थिक प्रगति उकालोलाग्दो छ ।

मलाई पढाउनुभएका एकजना सरकारी शिक्षक अहिले भौतिक शरीरमा हुनुहुन्न । यद्यपि उहाँको मुखारबाट निस्किएका शब्दहरू मरणोपरान्त मेरो स्मरणमा रहनेछन् । उहाँका कैयौं उदाहरणमध्ये यो पनि एक होे, “मैले दुईपटक एसएलसी दिएँ । अङ्ग्रेजी विषयमा पास भइनँ । मन दुःखी नभएको होइन । तर परिश्रम र प्रयास गर्न छाडिनँ । तेस्रोपटकको परीक्षामा राम्रो अङ्कसहित उत्तीर्ण भएँ । आइएड र बिएडमा अङ्ग्रेजी मूल विषय लिएर पढें । आज म अङ्ग्रेजी विषयको शिक्षकको रूपमा कार्यरत छु । त्यसैले फेल हुनु भनेकोे कमजोरी सच्याउनुपर्छ भन्ने कुरा बोध गराउँछ ।” यसरी उहाँले विद्यार्थीको हौसला बढाउँदै निदान र उपचारात्मक निर्देशन पनि दिनुहुन्थ्यो ।

विद्यार्थी भर्नाका बेला ठूलठूला विज्ञापन बोर्ड विद्यालय तथा शहरदेखि गाउँका मुख्य स्थानहरूमा झुन्ड्याउने चलन बढ्दो छ । ती विज्ञापन बोर्डमा उच्च अङ्क हासिल गरेका विद्यार्थीहरूको तस्वीरसहित नाम उल्लेख रहन्छ । अर्को शब्दमा भन्ने हो भने १० प्रतिशत विद्यार्थीको नाम भजाउने कार्यमा शैक्षिक संस्थाहरू उद्यत छन् । यसरी नै प्रत्येक वर्ष भर्नाको चक्र चलिरहेको छ। वास्तवमा सफलता हात पारेर जाने विद्यार्थीको तुलनामा कुण्ठा लिएर फर्किने विद्यार्थीको सङ्ख्या बढी छ । यदि पूर्वविद्यार्थीहरूको कुण्ठा वर्णन गर्ने हो भने आक्रोशको चाङ लाग्छ । शैक्षिक संस्थाका सञ्चालककै निर्देशन बमोजिमका प्रक्रिया लागू हुनाले बढी जिम्मेवार उनीहरू नै छन् ।

भारतको कोटा जस्तो नहोस्

भारतीय राज्य राजस्थानको एक शहर हो ‘कोटा’ । कोटालाई कोचिड्ढो कारखाना पनि भनिन्छ। त्यहाँ प्रतिवर्ष हजारौं विद्यार्थी भविष्य उज्ज्वल पार्न जान्छन् । ती विद्यार्थीहरूको करोडौं रुपैयाँले शैक्षिक संस्था, शिक्षक तथा स्थानीयहरूको आर्थिक उन्नति भइरहेको छ । तर झन्डै पाँच प्रतिशत विद्यार्थी मात्र लक्ष्य प्राप्त गर्न सफल हुन्छन् । झन्डै ९५ प्रतिशत विद्यार्थी मनोरोगी भएर घर फर्कन्छन् । कोटाबाट फर्केर आए पनि त्यहाँको भोगाइ वर्षौंसम्म मनमस्तिष्कमा रहन्छ । सामान्य परिस्थितिमा फर्किन वर्षौं लाग्छ ।

सिद्धान्ततः वस्तु उत्पादन गर्ने कारखानामा दुईदेखि तीन प्रतिशत ¥हासलाई सामान्य मानिन्छ। यदि १० प्रतिशत वा सोभन्दा माथि ¥हास भएमा कारखाना धराशयी हुन्छ । तर ठीक उल्टो शैक्षिक क्षेत्रमा केवल १० प्रतिशत पनि उत्पादन राम्रो भएमा सोको प्रतिफल शैक्षिक संस्थाहरूका लागि आगामी वर्षमा २५ प्रतिशतले वृद्धि हुन्छ । अर्थात् विज्ञापन बोर्डमा ती १० प्रतिशत विद्यार्थीको नाम, फोटो र अङ्क छापेर नयाँ विद्यार्थी र अभिभावकलाई आकर्षित गरिन्छ । जबकि शैक्षिक संस्थाको आर्थिक प्रगतिमा ती ९० प्रतिशत विद्यार्थीको योगदान बढी छ, जो भर्ना शुल्क, शिक्षण शुल्क, पुस्तकालय शुल्क आदि विभिन्न शुल्क एक समान तिरेर पनि जुन लक्ष्यका साथ भर्ना भएका थिए, त्यो हासिल हुन सकेन ।

थ्री इडियट्स

हिन्दी फिल्म ‘थ्री इडियट्स’ प्रायः सबैले हेरेकै होलान् । उक्त फिल्मले आजको शैक्षिक संस्थाहरूप्रति व्यङ्ग्य गरेको छ । फिल्मको पात्र ‘चतुर’ प्रकृतिका विद्यार्थी उत्पादन गर्ने शैक्षिक कारखानाहरूको आर्थिक प्रगति दिन प्रतिदिन बढ्दै गइरहेको छ । रेन्चो प्रकृतिका विद्यार्थीलाई शैक्षिक कारखानाहरूले महŒवहीन ठान्छन् । रेन्चोले साथीहरूलाई योग्यता र सफलताबीचको अन्तर बताउँछ । रेन्चोको विचारसँग कलेजका प्रिन्सिपल सहमत छैनन् । प्रतिस्पर्धाको नाममा प्रिन्सिपलले कारखानामा वस्तु उत्पादन गरेझंै विद्यार्थीहरूलाई प्रतिवर्ष उत्पादन गरिरहेका छन्। ‘अब्बल विद्यार्थी रेन्चो हो, चतुर होइन’ भन्ने फिल्मको मूल सन्देश हो ।

यही सेरोफेरोमा शिक्षाविद्, मनोचिकित्सक तथा विद्यार्थीहरूलगायत विभिन्न व्यक्तिहरूसँग भएको संवादमध्ये केही व्यक्तिहरूका अनुभव तथा विचार प्रस्तुत छ ।

डा सुरेन्द्रनाथ तिवारी (सेवानिवृत्त शिक्षक)

शैक्षिक संस्था विद्याको मन्दिर हो । यहाँ धनी, गरीब, धर्म, लिङ्ग, जात, वर्ण आदि कुनै पनि प्रकारको भेदभाव वाञ्छनीय छैन । शिक्षालयमा पढ्ने विद्यार्थीहरूमध्ये प्राकृतिकरूपले कोही तीक्ष्ण वा कोही मन्द स्वभावका हुन सक्छन् । यद्यपि शैक्षिक संस्थाका लागि उनीहरू सबै एक समान हुन् । पाठ्यक्रम, शिक्षक, कक्षा कोठा र पोशाक सबैका लागि समान हुन्छ । त्यसैले शिक्षा सबैका लागि समान हो भने बुझाउँछ । तसर्थ तीक्ष्ण, मध्यम र मन्द प्रकृतिका विद्यार्र्थी छुट्टयाएर पढाउनु भनेको तीक्ष्ण बुद्धिका विद्यार्थीमा अहम् बढ्ने र अन्य विद्यार्थीहरूमा हीनभावना विकसित हुने सम्भावना प्रबल हुन्छ । जसरी काँचो माटोलाई आकार प्रदान गर्नको लागि कुम्हालेले पसिना बगाउँछन्, त्यसरी नै शिक्षकहरूले विद्यार्थीमा शैक्षिक गुण स्थापित गर्नको लागि कटिबद्ध नभई हुँदैन । सिद्धान्ततः मिश्रित प्रणाली अर्थात् तीक्ष्ण, मध्यम र मन्द सबै प्रकृतिका विद्यार्थीलाई सँगै पढाउनुपर्छ ।

बलियो घरलाई थोरै परिश्रम गरेर थप बल प्रदान गर्न सकिन्छ । अपितु कमजोर आधारशिला भएको घरलाई संरक्षण र संवर्धन गर्नु नितान्त चुनौतीपूर्ण कुरा हो । त्यसैले शैक्षिक संस्था र शिक्षकहरूले चुनौतीलाई सहर्ष स्वीकार गर्नुपर्छ । मूल्याङ्कनको उद्देश्य विद्यार्थीलाई सही वा गलत प्रतिक्रिया बताउने मात्र होइन, निदान र उपचारात्मक निर्देशन दिनु पनि हो । नकारात्मक मनोविज्ञान हाबी भएमा विद्यार्थीको व्यक्तित्वको विघटन हुन्छ । त्यसैले प्रगतिको नाममा विद्यार्थीमा नकारात्मक वा हीनभावना उत्पन्न हुने प्रकृतिका क्रियाकलाप कुनै पनि दृष्टिकोणले मान्य छैन । एक कुशल निर्देशक र असल मार्गदर्शकको रूपमा शिक्षकको भूमिका हुनुपर्छ ।

डा भरतकुमार गोइत (मनोचिकित्सक)

बाल मस्तिष्कमा परिवार, समाज, वातावरण आदिले प्रभाव पार्दछ । हुर्किरहेको बाल मस्तिष्क संसारसँग अनभिज्ञ हुन्छ । बाल मस्तिष्कमा प्रश्न गर्ने र जिज्ञासा मेटाउने मनोविज्ञान बढी पाइन्छ । एउटा प्रश्नको उत्तर नपाउँदै अर्को प्रश्न गर्छन् । उत्तर फर्काउन अप्ठ्यारो लाग्ने प्रकृतिको प्रश्न पनि गर्न सक्छन् । अभिभावकले लालाबालाकोे जिज्ञासाको समाधान सत्य र सरल तरीकाले दिनुपर्छ । ढाँट्ने वा रिसाउने बानीले बाल मस्तिष्कमा नकारात्मक प्रभाव पार्छ भन्ने कुराको बोध हुनु जरुरी छ । झन्डै सात/आठ वर्षको उमेरपछि प्रश्न गर्ने बानी बिस्तारै घट्दै जान्छ । किन घट्छ भने उमेर र कक्षा बढ्दै जाँदा उसको मनोविज्ञान शैक्षिक प्रमाणपत्रतर्फ केन्द्रित हुन्छ । प्रमाणपत्र प्राप्त गर्नको लागि पढ्नुपर्छ । उच्च अङ्क हासिल गर्नको लागि झन् कडा परिश्रम गर्नुपर्ने शैक्षिक संस्थालगायत विभिन्न स्रोतबाट थाहा पाउँछन् । अन्ततः ऊ किताबी प्रश्नहरूको उत्तर जान्ने र खोज्ने कार्यमा उद्यत हुन्छ ।

तिमी पढाइमा अरूभन्दा कमजोर छौ । तिमीभन्दा त फलानो राम्रो छ । अर्थात् यस्ता कुराहरूले विद्यार्थीमा हीनभावना अङ्कुरित हुन्छ । कुण्ठाको कारण उसमा भएको फरक प्रतिभा पनि हराएर जान्छ । संसारमा एक व्यक्ति जस्तै ठ्याक्कै अर्को व्यक्ति हुँदैन । हरेक व्यक्ति अर्को व्यक्तिसँग भिन्न हुन्छ । अन्य क्षेत्र जस्तै शैक्षिक क्षेत्रमा मनोविज्ञानको ज्ञानविना विद्यार्थीमा प्रभावकारी गुण प्रतिस्थापन गर्न सकिन्न । किनभने एउटै कक्षामा फरक–फरक मानसिकताका विद्यार्थीहरूलाई पढाउनुपर्छ । त्यसैले शिक्षकमा मनोविज्ञानको ज्ञान हुनुपर्छ । यसको अलावा शैक्षिक संस्थाहरूमा मनोचिकित्सक परामर्श केन्द्र राख्नु फाइदाजनक सिद्ध हुन सक्छ ।

अशोक मिश्र (विद्यार्थी, पिएचडी)

झन्डै १० वर्षअघिको कुरा हो । आजीवन बिर्सन सक्दिनँ । नर्सरीदेखि कक्षा १० सम्म वीरगंजको निजी अङ्ग्रेजी विद्यालयमा पढें । त्यसपछि कक्षा ११ र १२ मा व्यवस्थापन विषय पढ्नको लागि वीरगंजकै एक निजी शैक्षिक संस्थामा भर्ना भएँ । शैक्षिक संस्था परिवर्तन भयो । विद्यालय, शिक्षक, भवन, कक्षा कोठा, साथी आदि सबै मेरा लागि नयाँ थिए । भर्ना भएको केही दिनपछि कक्षा सञ्चालन हुनेबारे सूचना प्रकाशित भयोे । पहिलो दिन नयाँ पोशाकमा सजिएर, नयाँ पुस्तक झोलामा बोकेर विद्यालय जाने खुल्दुली मनमा थियो । सम्भवतः नयाँ भर्ना भएका सबै विद्यार्थीमा म जस्तै कौतुहलता थियो होला ।

यसैगरी, नयाँ साथीहरूसँग तीन/चार महीना पढ्दै बित्यो । केही समयपछि आन्तरिक मूल्याङ्कन परीक्षा भयो । त्यसपछि साथीहरू छुट्टियौं । किनभने म सामान्य विद्यार्थी थिएँ । तीक्ष्ण प्रकृतिका साथीहरू विशेष सेक्सनमा गए । उनीहरूले आफूलाई अब्बल मान्न थाले । म जस्ता विद्यार्थीहरूलाई देखेर पनि नदेखेझैं गर्न थाले । अब अब्बल प्रकृतिका विद्यार्थीहरूको झुन्ड हामीसँग टाढा हुन थाल्यो । उहिले अब्बलमा वर्गीकृत भएका धेरैजसो साथी अहिलेसम्म पनि स्नातक तह उत्तीर्ण गरिसकेका छैनन् ।

म पिएचडी गर्न कसरी पुगें ? भन्ने कुरा पनि रोचक छ । कक्षा १२ पछि त्यो शैक्षिक संस्थाको वातावरणबाट उन्मुक्ति पाएको जस्तो महसूस भइरहेको थियो । स्नातक पढ्न जुन विश्वविद्यालयमा गएँ, सौभाग्यवश एकजना गुरु (प्राध्यापक)जीसँग भेट भयो । उहाँको प्रेरणा नै मेरो जीवन परिवर्तनको खुड्किलो साबित भयो । मेरोे मनभित्र जरा गाडेको कुण्ठा विलय भयो। नयाँ उमङ्ग र ऊर्जाका साथ स्नातक तथा स्नातकोत्तरको अध्ययन पूरा गरें । र अहिले पिएचडी गरिरहेको छु । मेरो बुझाइमा वीरगंज मात्र होइन, नेपालको शिक्षा प्रणालीमा मनोमानी नियम बढी छ । शिक्षालयहरू शैक्षिक प्रगतिका नाममा कारखाना साबित भइरहेको प्रस्ट छ ।

रोशन साह (विद्यार्थी, स्नातकोत्तर, फार्मेसी)

एसएलसीपछि वीरगंजको एक निजी शिक्षण संस्थामा विज्ञान विषय लिएर कक्षा ११ र १२ पढें । झन्डै दुई सयजना विद्यार्थी थिए । प्राप्ताङ्क अनुसार बढी अङ्क हासिल गर्नेहरूलाई छुट्याउँदै विभिन्न सेक्सनमा विद्यार्थीहरूलाई विभाजित गरियो । एउटा यस्तो सेक्सन नै थियो, जसमा उच्च अङ्क हासिल गरेका विद्यार्थीहरू मात्र थिए । नियमित कक्षाबाहेक कोचिङ पनि हुन्थ्यो । कोचिङ कक्षामा विभेदको पराकाष्ठा नै थियो । शैक्षिक संस्थाले अब्बलको श्रेणीमा दर्ज गरेका ३० जना विद्यार्थीको समूहलाई ‘सुपर–थर्टी’ नामकरण गरेको थियो । आज मलाई लाग्छ, शैक्षिक संस्थाहरूले उत्तम, मध्यम तथा मन्द विद्यार्थीहरूको वर्गीकरण गरेर विद्यार्थीमा मनोवैज्ञानिक कुप्रभाव पारिरहेका छन् ।

सुपर थर्टीमा छनोट हुने विद्यार्थीको अनुहारमा अह्म भाव प्रस्ट झल्किन्थ्यो । यहाँसम्म कि सुपर थर्टीबाहेकका विद्यार्थीहरूप्रति शिक्षकहरूको मनोविज्ञान पनि फरक महसूस हुन्थ्यो । यसरी एउटै शिक्षालयको समान कक्षामा अध्ययनरत विद्यार्थीहरूप्रति अदृश्यरूपमा भेदभावजन्य मनोदृष्टि महसूस हुन्थ्योे । सो बेला मेरो उमेर, अनुभव र परिपक्वता आज जस्तो थिएन । अहिले सो बेलाको परिस्थिति उपर विचार गर्दा अत्यन्तै आश्चर्य लाग्छ ।

प्रियङ्का कुमारी (विद्यार्थी, स्नातक चौथो वर्ष, शिक्षा सङ्काय)

दोस्रो वर्षमा शैक्षिक मनोविज्ञान पढेको छु । शैक्षिक मनोविज्ञानको ज्ञानविना गुणयुक्त शिक्षक बन्न सकिन्न । शिक्षा कसले दिनुपर्छ अर्थात् शिक्षक कस्तो हुनुपर्छ ? शिक्षकले आफ्ना विद्यार्थीहरूको मनोविज्ञान सूक्ष्मरूपले बुझ्नुपर्छ । शिक्षकको व्यवहार निष्पक्ष हुनुपर्छ । शिक्षक योग्य हुनुका साथै सहनशील, धैर्यवान् र ऊर्जाशील हुनुपर्छ । प्रत्येक बालबालिकाको विकासका निश्चित चरणहरू जस्तै शिशु अवस्था (०–२ वर्ष), बाल्यावस्था (३–१२ वर्ष), किशोरावस्था (१३–१८ वर्ष), युवावस्था (१९–३० वर्ष) पार गर्दछन् ।

यी चरणहरूको शारीरिक र मानसिक विकासका दृष्टिकोणले विशिष्ट विशेषताहरू छन् । यदि शिक्षक यी विभिन्न चरणका विशेषताहरूसँग परिचित छन् भने, उसले आफ्ना विद्यार्थीहरूलाई राम्ररी बुझ्न सक्छ । विद्यार्थीहरूलाई त्यसरी नै मार्गदर्शन र लक्ष्य प्राप्त गर्न मदत गर्न सक्छ ।

शिक्षा मनोविज्ञानको ज्ञानले शिक्षकलाई सिकाउने प्रक्रियासँग परिचित गराउँछ । कतिपय शिक्षक अध्यापनमा बढी सफल हुने र कतिपय शिक्षक विषयको राम्रो ज्ञान भएर पनि असफल हुने गरेको हामी देख्छौं । प्रभावकारीरूपमा सिकाउनको लागि सिकाइका विभिन्न सिद्धान्त, सिकाइका समस्याहरू, असर गर्ने कारणहरू र तिनलाई हटाउने उपायहरूका बारेमा शिक्षक जानकार हुनु आवश्यक हुन्छ ।

शैक्षिक मनोविज्ञानले व्यक्तिगत भिन्नताहरूको ज्ञान प्रदान गर्दछ । संसारमा एकै समानका दुई व्यक्ति छैनन् । प्रत्येक विद्यार्थीसँग विशेष प्रतिभा हुन्छ । जरूरत छ, यस्तो शिक्षक वा शिक्षालयको जसले प्रत्येक विद्यार्थीमा रहेको विशेष प्रतिभालाई प्रस्फुटन गर्न सकोस् । तसर्थ, शिक्षकलाई यो कुरा थाहा छ भने सबै विद्यार्थीको आवश्यकता पूरा गर्ने गरी मिश्रित प्रणालीमा अध्यापन गराउनु सबैभन्दा उपयुक्त हुन्छ ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here