समुद्रमाथि आकाशमा उड्दा

0
  • सञ्जय मित्र

भूपरिवेष्टित देशका नागरिकले आकाशलाई अनन्त ठान्दछन् । आकाश अनन्त हो पनि । जब समुद्रको किनारमा उभिएर समुद्रलाई हेर्दछन्, तब यस्तो महसूस हुन्छ कि आकाशजस्तै समुद्र पनि अनन्त हुन्छ । आकाश पनि अनन्त र समुद्र पनि अनन्त किन लाग्दछन् भने आँखाको पनि देख्ने क्षमता हुन्छ ।

माथि आकाशमा हेर्दा होओस् वा समुद्रको किनारमा उभिएर समुद्रलाई हेर्दा होओस्, आँखाको दृष्टि क्षमताले जहाँसम्म देख्दछ र केही पनि देखिंदैन वा जे देखिन्छ, त्यसमा केही विम्ब हुँदैन भने केवल नीलो देखिन्छ । हो, समुद्र पनि नीलो नै देखिन्छ र आकाश पनि नीलो नै देखिन्छ। आँखाले आफ्नो क्षमताले भ्याएसम्म केवल हेर्ने काम गर्दछ र जब केही देखिंदैन, त्यही अनन्त हुँदोरहेछ ।

गत २८ कात्तिकको दिन आकाशमार्गबाट यात्रा गरिरहँदा अनायास आफूलाई समुद्रमाथि पाएँ । समुद्रमाथिको आकाशमा छु भन्ने थाहा पाउनासाथ अज्ञात डर र रोमाञ्च दुवै एकसाथ मन र मस्तिष्कमा भरिए । गत तीन दिनमा चौथो उडानमा छु । पहिलो उडानमा जति डर भएको थियो, त्यो चाहिं अहिले छैन । जमीनमाथि उडिरहेको अनुभूति र समुद्रमाथि उडिरहेको अनुभूतिमा हुने भिन्नता अहिले बुझ्दैछु ।

अनन्त पानी देखिंदै गर्दा इन्डिगोको हवाईजहाज अगाडि बढ्दै माथितिर पनि लम्किंदैछ जसले गर्दा पहिले चिनिएको पानी हो कि आकाश हो भन्ने द्विविधा उत्पन्न गर्न सक्षम भइसकेको छ । माथि उडिरहेको छु भन्ने कुरामा द्विविधा कसरी होला तर तलकोे अनन्त नीलो चाहिं आकाश फेरि कसरी हुन सक्छ । आफ्नै वेगमा उडिरहेको हवाईजहाजको झ्यालबाट तलतिर हेरिरहँदा भने कतैकतै पानीको सतहलाई चिर्दै अगाडि बढिरहेको देखिन्छ । तीव्र गतिमा पानीमा जहाज अगाडि बढ्दै गर्दाको अवस्थामा जहाजको पछाडि भइरहेको पानीको हलचलसम्म पनि देखिएको छ । जसले तलको नीलो सतहमा समुद्रको गतिविधि बुझ्न केही सजिलो बनाएसँगै समुद्रमाथि अनन्तसम्म आँखा पु¥याउन सहयोग गर्दछ ।

सामान्यतया आकाश र धरती मिलन हुने जस्तो लाग्ने ठाउँ क्षितिज हो । नीलो आकाश र नीलो समुद्रको क्षितिज कहाँ हो भन्ने छुट्याउन कदापि सम्भव हुँदैन । आकाशमाथि उड्दै गर्दा झ्यालबाट आँखाले केवल नीलोबाहेक अन्यान्य केही पनि नदेख्ने अवस्था हुँदोरहेछ । आकाशको विम्ब नै सम्भवतः समुद्रको पानीमा देखिंदो हो । अनन्त आकाश र अनन्त समुद्र । दुई अनन्ततामा नीलोपनको समानता । कसको प्रतिविम्ब कसले ग्रहण गरेको हो ? दुवैको साँध र सिमाना कहाँसम्म हो ? यसलाई पनि आँखाले खुट्याउन असमर्थता प्रकट गरिरहेको छ ।

मौसम खराब हुने सङ्केत आएको छ । विमान परिचालिकाबाट यस किसिमको कुरो कानमा ठोक्किन्छ । अलिकति रोमाञ्च र अलिकति डर भएको पहिलेको मन र मस्तिष्कबाट रोमाञ्चकता अचानक हराउँछ । हुनत हैदराबादबाट कोयम्बतूरको फ्लाइटमा हुँदा पनि मौसम खराब हुने सङ्केत सुनिएको थियो । त्यस यात्रामा देखिएको अनुभूति के थियो भने हवाईजहाजको झ्यालबाट बाहिर केही पनि देखिएको थिएन ।

केही पनि देखिएको थिएन भन्नुको अर्थ हो– झ्यालबाट बाहिर हेर्दै आँखा चिम्लनु र आँखाले बाहिर हेर्नुमा कुनै भिन्नता नै थिएन । अनुभूति यस्तो हुन्थ्यो कि निकै घना बादलको बीचमा हवाईजहाज उडिरहेको छ, जसले माथिको र तलको दुवैतिरको दृश्यलाई छेकेर अदृश्य बनाइएको छ तर अहिले भने फरक अवस्था रहेको छ । त्यस दिन रात पनि भइसकेको थियो । तर अहिले त बिहानको दश पनि बजेको छैन । झलमल्ल घाम लाग्दा पौने नौ बजेतिर चेन्नई विमानस्थलमा जहाजमा पसेको हुँ र आफ्नो सिटमा बसेको हुँ ।

कतैकतै फाटफुट बादल देखिनुबाहेक आकाश सफा थियो । आकाशमा विचरण गर्दै गर्दा र झ्यालबाट सूर्यको प्रकाशले कतिपय सिटलाई स्पर्श गरिरहँदाको अवस्थामा जब सिटबेल्ट कसिराख्न, आफ्नो ठाउँबाट नउठ्न र शौचालयमा गएका भए आफ्नो सिटमा फर्कन चेतावनी वा सूचना आउँछ, तब रोमाञ्चकता कहाँ रहन्छ र मनमा ? मनभन्दा निस्सन्देह मस्तिष्क बढी सक्रिय हुन पुग्दछ । यही अहिले भइरहेको छ ।

बिस्तारै समुद्रको सतहतिर बादलहरू देखिन थाल्छन् । यो क्रम बढ्दै जान्छ । अब समुद्रको पानी देखिन छाडेको छ । हामीकहाँ असार, साउनको महीनामा कुनै दिन यस्तो हुन्छ कि आकाशभरि केवल बादल मात्र देखिन्छ, एक इन्च कतै नीलो आकाश देखिंदैन, ठ्याक्कै त्यही दृश्य अहिले तलतिरको भएको छ । तलतिर केवल बादल नै बादल मात्र छ । माथितिर आकाश छ । आकाशमा पनि बादलहरू देखिन्छन् फाटफुट, यत्रतत्र छरिएका तर तलतिर भने पूरा छाप्रोजस्तो बादल छ । कहींकतै अलिकति पनि बादलबाट तलतिर देखिने ठाउँ कतै छैन ।

हेर्दाहेर्दै माथि पनि आकाश बादलले भरिन थाल्छ । एकै छिनमा अँध्यारो भएजस्तो हुन्छ । मौसम खराब हुने भनेको कुरो चाहिं अहिलेको लागि नै भन्ने बुझ्न अब कुनै गा¥हो छैन बुझ्न । अन्य यात्रुहरूमा खासै कुनै हलचल छैन । मसँगैको सिटमा बसेका युवक निदाइसकेका छन् । उनकी आमामा भने खासै उत्साह वा डर अनुहारमा केही पनि देख्दिनँ । कर्मचारीहरूमा पनि कुनै हलचल छैन । तुरुन्तै कर्मचारीको बोली सुनिन्छ– खाजाको समय भएको छ ।

भोक त मलाई निकै लागिसकेको छ । आज बिहान कोयम्बतूर अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नुअघि चियासमेत खान भ्याएको थिइनँ । विमानस्थलभित्र प्रवेश गरिसकेपछि पसलहरू खुलेका थिएनन् । आजको भागमा परेको उज्यालो धरतीमा आउने तयारी गर्दागर्दै हवाईजहाजमा प्रवेश गर्नुप¥यो । हवाईजहाजमा प्रवेश गर्दा पनि शहरका सबै बत्ती झिलिमिली नै थिए ।

बाहिर ओहोरदोहोर गर्दै यात्रुहरूलाई प्लेनमा अथवा प्लेनबाट लिएर जाने बसहरू बत्ती बालेरै गुडेका थिए । विमानस्थलको जुन भागमा छु, त्यस भागलाई केवल बिजुलीबत्तीले नै उज्यालो बनाएको छ । सम्पूर्ण विमानस्थल देखिएको छैन । कतै अवतरण र कतै उडान भरिरहेका हवाईजहाजको आँखाबाट निस्केका प्रकाश समूहहरूले भने कतै आकाशतिर र कतै धरतीतिर अँध्यारोलाई चिरेको र उज्यालो टल्केको भने स्पष्ट नै देखिएका छन् ।

सवा छ बजे बिहान कोयम्बतूरको धरतीलाई छोड्दा भने केही उज्यालो भएको थियो तर चिया र खाजाको कतै कुनै गुन्जाइस नभएको स्पष्टै थियो । आशा के थियो भने प्लेनमैं चिया र बिस्कुट खाइएला तर कोयम्बतूरबाट चेन्नईको हवाई यात्रा आकाश मार्गमा केवल पचास मिनेटको हुने घोषणासँगै त्यस आशामाथि तुसारो खसेको हुन्छ ।

चेन्नई विमानस्थल यति विशाल थियो कि औपचारिक सुरक्षा प्रक्रिया पूरा गर्दै र लाइनमा बस्दैमा पटनाको लागि उड्ने बेला भइसकेको थियो । कोयम्बतूरबाट चेन्नई ओर्लेपछि र फेरि चेन्नईमा सम्पूर्ण प्रक्रिया पूरा गरेर अगाडि बढ्दै जाँदा बोर्डिड्ढो समय भइसकेकोले चिया र बिस्कुट खाने समय पनि पाएको होइन । नयाँ मानिस र भाषाको समस्या भएकाले केही बढी समय मलाई अवश्य नै लागेको हो । यसैले अहिले खाजाको समय भएको घोषणा हुँदा सबैभन्दा बढी म उत्साहित र खुशी छु । मोबाइलमा बाहिरका फोटाहरू कैद गर्दै आफूनेर खाजा कतिखेर आउला भन्ने प्रतीक्षामा छु ।

एकातिर समुद्रमाथि बादल र बादलमाथि हाम्रो हवाईजहाज उडिरहेकोतिर नजर छ भने अर्को चनाखो नजर खाजातिर पनि छ । नजीकै आएपछि खाजाको अर्डर गरें । चिकेन नुडल्स दिंदै विमान परिचालिकाले भनिन्– पाँच मिनेटमा तयार हुन्छ । त्यसपछि खानुहोला ।

बादलका अनेक रङ्ग र रूप आइरहेका छन्, गइरहेका छन् । यस्तो लाग्छ कि एकोहोरो उडिरहेको आकाशमा हामी रोकिएका छौं र अलिकति बादलले गति बढाएको छ । साँच्चै आकाशमा हुँदा जब केही पनि देखिने हुँदैन अर्थात् आकाश र समुद्रको संयुक्त रूप केवल नीलो मात्र देखिन्छ, तब वा एकै किसिमका बादलले तलको आकाश पूरै ढाकिएको हुन्छ, तब लाग्छ हवाईजहाज पूरै स्थिर छ । वास्तवमा बाहिरका कुनै पनि दृश्य गतिमान नलाग्दा यस्तो अनुभूति हुने रहेछ कि हवाईजहाजमा कुनै गति छैन । कतै आकाशमैं रोकिएको छ ।

हुनत चेन्नईदेखि पटनासम्मको उडान दुई घण्टा बीस मिनेटको हुने घोषणा उड्दाको बखतमा नै गरिएको थियो तर एक घण्टा समुद्रमाथिको आकाशमा उड्दै गर्दा विचित्रको अनुभूति सँगाल्दै तात्तातो चिकेन नुडल्स खान थाल्दछु ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here