पशुपालक किसानको मेहनतमा सारथि बन्दै कृषि विकास बैंक

0

प्रस, निजगढ, २ मङ्सिर/

घरपरिवार, वृद्ध आमाबुबा छाडेर रोजगारका लागि विदेशिने अधिकांशको पीडा कम दुःखदायी छैन । तीन तहकै सरकारले किसानहरूलाई सेवासुविधा घरदैलोमा नै सहज र सरलरूपमा उपलब्ध गराउने हो भने, बर्सेनि विदेशिने लाखांै युवा स्वदेशमा नै काम गर्न फर्कनेछन् ।

बिचौलियाको हालीमुहालीलाई निरुत्साहित गर्दै लागत र श्रमको मूल्यसँगै बजार व्यवस्थापनमा सरकार अझै लाग्न नसक्दा कैयौं किसानले पुरानै ढङ्गबाट मार खेप्दै आएका छन् । नेपाली वरिष्ठ गीतकार कालीप्रसाद रिजालले लेखेको र स्वर सम्राट नारायण गोपालले गाएको ‘आँखा छोपी नरोउँ भनी भन्नुप¥या छ, मुटुमाथि ढुङ्गा राखी हाँस्नुप¥या छ’ भन्ने यर्थाथवादी गीतसँगै यस्ता विभिन्न समस्याका बावजूद पनि स्वदेशमा नै रोजगार गरिरहेको कैयौं उदाहरण छन् र त्यसैको एक पाटो हुन्, बारा, निजगढ नगरपालिका–६ शान्तिटोलका ४५ वर्षीय हरिप्रसाद लामिछाने र उनकी ३५ वर्षीया पत्नी उदयकुमारी लामिछानेको मेहनत ।

इमानदारीका साथ मेहनत गर्दा के हुँदैन भन्ने गतिलो उदाहरण लामिछाने दम्पतीको परिश्रमले देखाएको छ । हरिप्रसाद लामिछाने १७ वर्षको कलिलो उमेरमा छिमेकी मुलुक भारतमा रोजगारका लागि पसे । त्यस बेला कैयौं रात भोकभोकै सुते । प्रशस्त दुःख अनि हण्डर खाए । यसरी नै उनले २६ वर्ष भारतमा विभिन्न कामसँगै पछिल्लोपटक लामो समय होटल व्यवसाय गरे । उमेर ढल्किंदै जाँदा र अन्य घरव्यवहारले घेर्दै ल्याएसँगै स्वदेशमा नै फर्की पशुपालन शुरू गरे ।

गाउँघरमा व्यावसायिक पशुपालन गर्नेहरू असफल भएको सुन्दासुन्दै पनि उनले व्यावसायिक पशुपालन गर्ने यात्रा तय गर्दै बालाजी पशुपालन फर्म दर्ता गरे । उनको कामको निधो, यात्रा, योजनालाई सफल बनाउन निजगढस्थित कृषि विकास बैंक सारथि बनिदियो । जसले अहिलेसम्म साथ निभाउँदै आएको छ ।

उनलाई पशुपालन गर्न गोठ, मलमूत्र व्यवस्थापन गर्न स्थान तयार गर्न करीब रु २१ लाख खर्च लाग्यो । दुर्ईपटकमा उनले रु ७५ लाख बैंकबाट ऋण लिई पशुपालन गरिरहेका छन् । शुरूमा दुईवटा होलस्टेन गाईपालन गर्दै दूध बिक्री गर्न शुरू गरेका उनको गोठ अहिले गाई, भैंसी, पाडापाडी, खसी, बाख्रा, राँगाले भरिभराउ छ । शुरूमा साइकलमा र अहिले स्कूटीमा दूध बिक्री गर्दै साँझको दूध घरदेखि अलि टाढा रहेको दुग्ध डेरीमा बिक्री गर्छन् । गर्भावस्थामा सुईको प्रयोग गरी गाईबाट बाछी उत्पादन गर्न सकिने प्रविधि छिमेकी मुलुक भारतमा भएपनि नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहले यसतर्फ ध्यान नदिएको पशुपालक कृषक लामिछानेले बताए ।

दूध उत्पादन एउटा आम्दानी हो भने, बाछी उत्पादन गराउन सक्नु अर्को थप आम्दानी रहेको उनको बुझाइ छ । “बाछी उत्पादनले हुर्केपछि दूधबाट थप आम्दानी लिन सकिने र भारतबाट थप गाई खरीद गर्नुपर्दैनथ्यो । तर सरकारले अहिलेसम्म यो कुरामा मतलबै नराखेको छैन,” उनले दुःखेसो पोखे ।

यो व्यवसायमा उनलाई पत्नी उदयकुमारीले सघाउँदै आएकी छन् । “लामो समय भारतमा रोजगार गर्नु भएपनि अहिले सँगै मिलेर काम गर्न पाउँदा निकै आनन्द र आम्दानी सन्तोषजनक छ,” उनले भनिन् । व्यवसाय शुरू गरेसँगै समयलाई खेर फाल्न नहुने उदयकुमारीले अहिले बुझ्ने मौका पाएकी छन् । उनले समय खेर फाल्नुभन्दा पशुपालन, कृषि वा अन्य कुनै पेशा, व्यवसायमा लाग्न महिलाहरूलाई अपील गरेकी छन् ।

छोरा–बुहारीको यस प्रयासलाई ७४ वर्षीय बुबा विष्णुप्रसाद लामिछानेले पनि हौसला दिंदै आएका छन् । लामो समय रोजगारका लागि भारत बसेको कान्छो छोरा हरिले घरमा नै आएर पशुपालन गरेकोमा उनी औधी खुशी छन् ।

अधिकांश पशुको उनले बीमा गरेर सम्भावित जोखिमविरुद्धको काम पनि गरेका छन् । पशुलाई खुवाउन उनले वार्षिक ८/१० लाख रुपैयाँको पराल र भुसा खरीद गर्छन् । साँझ उत्पादित दूध डेरीमा बिक्री गरेर पराल, ढुटो उपलब्ध हुने गरेको हरि बताउँछन् ।

दूध उत्पादन गर्नेभन्दा बढी दूध किनेर बिक्री गर्ने संस्थाहरू आर्थिकरूपमा सबल देखिएकाले सरकारले दूध उत्पादन गर्ने किसानहरूको जीवनस्तर उकास्ने गरी नीति ल्याउन आवश्यक भएको लामिछाने दम्पती बताउँछन् । लामिछाने दम्पतीलाई पशुको गोबरबाट मात्र वार्षिक सात लाख रुपैयाँ आम्दानी भइरहेको छ । मल अभाव भइरहने भएकाले गोबरका लागि अग्रिम भुक्तानी पाइने गरेको उनीहरू बताउँछन् ।

लामिछाने दम्पतीले अहिले घाँसको पनि उत्पादन शुरू गरेका छन् । भाडामा एक बिघा जमीन लिएर घाँस उत्पादन शुरू गरेको र यसबाट पशुहरूको आहारामा सघाउ पुग्ने उनीहरूको विश्वास छ । पशुपालन व्यवसायबाट वार्षिक दश लाख रुपैयाँ चोखो आम्दानी भइरहेको हरिले बताए ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here