प्रस, ठोरी, २ मङ्सिर/
ठोरी गाउँपालिका–५ मा रहेको ऐतिहासिक बाघमोर्चा मन्दिर परिसरमा निर्मित नयाँ मन्दिरमा दुर्गा भगवतीको मूर्ति स्थापना गरिएको छ । बिहीवार ठोरी गापाको आयोजनामा धार्मिक कार्यक्रम गरी अनुष्ठानसहित मूर्ति स्थापना गरिएको हो ।
गापा अध्यक्ष पद्मलाल श्रेष्ठ र उपाध्यक्ष शान्तिमाया थिङले पूजापाठ गरेपछि मूर्ति स्थापनाको विधि पूरा भएको पण्डित उद्धव न्यौपानेले बताए । ढलोटको सो मूर्ति निर्माणका लागि ठोरी गापाले रु ५ लाख ४५ हजार खर्चेको गापा अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
ठोरीको महŒवपूर्ण धार्मिक क्षेत्रको रूपमा परिचित बाघमोर्चा मन्दिरमा नेपाल र भारतका भक्तजनहरू पूजापाठका लागि आउने गर्छन् । मन्दिरमा भाकल राखेर पूजापाठ गर्दा चिताएको पुग्ने भक्तजनहरूमा विश्वास छ । बर्सेनि कार्तिक शुक्ल पूर्णिमाको दिन पूजापाठ गर्न आउने भक्तजनहरूको घुइँचो लाग्ने मन्दिर क्षेत्रमा बोका र कुखुराको बलिसमेत दिने गरिएको छ ।
पछिल्लो समय नेपाल र भारतका विभिन्न ठाउँबाट मन्दिरमा पूजापाठ गर्न आउनेहरूको सङ्ख्यामा वृद्धि हुन थालेपछि ठोरी गापाले धार्मिक पर्यटकीय क्षेत्र निर्माण अभियान थालेको गापा अध्यक्ष श्रेष्ठको भनाइ छ । उनका अनुसार नवनिर्मित मन्दिर निर्माण र रङ्गरोगनका लागि पालिकाको रु ५० लाखभन्दा बढी खर्च भएको छ । गापाकै लगानीमा मन्दिर प्राङ्गणमा प्रतीक्षालय निर्माण गरिएको छ । हुलाकी सडकसँग जोडिएको तथा झोलुङ्गे पुलका कारणसमेत आवतजावत गर्न सहज भएकोले पर्यटन प्रवद्र्धन गरिने गापा अध्यक्ष श्रेष्ठले बताए ।