प्रस, पोखरिया, २ मङ्सिर/

लोकतान्त्रिक समाजवादी पार्टीका नेता निजामुद्दीन समानीको नेतृत्वमा बिहीवार पोखरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सञ्जय पाण्डेलाई ६ बुँदे ज्ञापनपत्र बुझाइएको छ ।

ज्ञापनपत्रमा ग्रामीण क्षेत्रको एकमात्र पोखरिया अस्पतालको व्यवस्थापन गर्न प्रदेश सरकारले आवश्यक रकम उपलब्ध गराएकोमा खर्च नभएर फ्रिज हुनु दुर्भाग्यपूर्ण भएको जनाइएको छ । नेता समानीले ज्ञापनपत्र बुझाउँदै नगरप्रमुखलाई पटक–पटक अस्पतालको स्तरोन्नतिको लागि प्रदेश सरकारबाट आएको रकम खर्च गर्न दबाबमूलक कार्यक्रमसमेत गरेकोमा सोको बेवास्ता गरी रकम फ्रिज भएको भन्दै आक्रोश व्यक्त गरे । उनले अहिले पनि अस्पतालमा आम मानिसहरू औषधिबाट वञ्चित भएको र उचित उपचार पनि पाउन नसकेको दुःखेसो पोखे । यसैगरी, ज्ञापनमा नगरपालिकाभित्र रहेका माविको समस्या समाधान गर्न पनि आग्रह गरिएको छ ।

६ सूत्रीय मागमा प्रदेश सरकारसँग गरेको प्रतिबद्धता पूरा गर्नुपर्ने, पोखरिया अस्पतालमा बिरामीहरू भर्ना गरी उपचार गर्नुपर्ने, स्वास्थ्य बीमा गराएकाहरूलाई औषधि उपलब्ध हुनुपर्ने र उपचारको व्यवस्था मिलाउनुपर्ने, विद्यार्थीहरूको कक्षाकोठासहितको अध्यापनसम्बन्धी समस्या समाधान गर्नुपर्ने, शिक्षक दरबन्दी पूर्ति गर्नुपर्ने र पोखरिया नपाले सङ्घसंस्था दर्ता गर्ने नियम बनाउनुपर्ने माग गरिएको छ । ६ सूत्रीय माग मङ्सिर ११ गतेसम्म पूरा नभए १२ गतेदेखि धर्ना, सभा, जुलुसलगायतका आन्दोलनका कार्यक्रमहरू गर्ने चेतावनी दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here