मित्रदेशलाई पनि गुणस्तरहीन सामग्रीको निर्यात

0
  • श्रीमन्नारायण

दक्षिण एशियाली देश श्रीलङ्काले चीनबाट आयात गरिएको ९६ हजार टन आर्गानिक कृषि मललाई कमसल, गुणस्तरहीन, हानिकारक जीवाणुयुक्त भएको भन्दै लिनबाट अस्वीकार गरेको छ । त्यहाँको सरकारले देशको कृषि हितसित सम्झौता गर्न नसकिने भन्दै यसलाई अस्वीकार गरेको छ । खेती गर्ने उपयुक्त समयमा मलखादको अभाव उत्पन्न भएपछि श्रीलङ्कामा अभूतपूर्व कृषि सङ्कट उत्पन्न भएको छ । छिमेकी राष्ट्र भारतले त्यहाँ तत्काल नै आर्गानिक कृषि मलको सहयोग गरेर यस कृषि सङ्कटलाई अन्त्य गर्ने भरसक प्रयास गरेको छ तर चीनले भने निर्यात भइसकेको कृषि मल फिर्ता हुन नसक्ने भन्दै समय, लागत र ढुवानी खर्चसहित कृषि मलको मूल्यसमेत पाउनुपर्ने जोडदार माग गरेको छ ।

श्रीलङ्काको निम्ति पत्यारिलो मित्रराष्ट्रको उपाधि पाएको चीनले आखिर त्यहाँ गुणस्तरहीन र हानिकारक ब्याक्टेरियायुक्त कृषि मलको आपूर्ति किन ग¥यो भन्ने विषय चारैतिर चर्चाको विषय बनेको छ । यस घटनाले एकातिर चीनद्वारा उत्पादित मालसामानप्रतिको विश्वसनीयतामाथि प्रश्नचिह्न उठाउने काम भएको छ भने अर्कोतिर आफ्नो आर्थिक एवं व्यापारिक लाभको निम्ति चीनले मित्रतालाई पनि तिलाञ्जलि दिन सक्ने कुराको पुष्टि गरेको छ ।

श्रीलङ्काली राष्ट्रपति गोटाबायो राजापाक्षेले गत मे महीनामा आदेश जारी गरी कृषि कार्यमा आर्गानिक मलको प्रयोगलाई अनिवार्य गरेका कारण श्रीलङ्का सरकारले चीनको चिंगदाओ सिविन बायोटेक कम्पनी लिमिटेडबाट ९६ हजार टन आर्गानिक मल ल्याउने सम्झौता गरेको थियो । श्रीलङ्कामा पनि आर्गानिक मल उत्पादन गर्ने कारखाना छन् तर त्यहाँको सरकारले चिनियाँ कम्पनीसित कृषि मल आयात गर्ने सम्झौता गरेपछि श्रीलङ्काली कम्पनी त्यहाँको वाणिज्यिक उच्च अदालत पुगेका थिए ।

चिनियाँ मल हानिकारक ब्याक्टेरियायुक्त भएको भन्दै त्यसको भुक्तानी नगर्न आदेश गर्दै श्रीलङ्काको अदालतले त्यसको आपूर्तिमाथि नै रोक लगाइदिएको हो । अदालतको आदेशलाई मान्न सरकार बाध्य छ । श्रीलङ्काका प्रधानमन्त्री महिन्द्रा राजापाक्षेले पनि चिनियाँ राजदूत क्यु गोहाङलाई आफ्नो कार्यालयमा बोलाएर कमसल एवं गुणस्तरहीन कृषि मल स्वीकार गर्न नसकिने भन्दै कृषि मलले भरिएको जहाज फिर्ता लैजान आग्रह गरेका छन् ।

भनिन्छ, त्यस चिनियाँ जहाजलाई फिर्ता पनि पठाइसकिएको छ तर चीन भने यसको क्षतिपूर्तिको दाबी गरिरहेको छ । यतिमात्रै होइन चीनले आफूसित ऋण अथवा सहयोग लिएका देशहरूसित कठोरतापूर्वक पेस आउने गरेको र भविष्यमा सहयोग नगर्ने धम्की एवं दबाब दिने गरेको कारण श्रीलङ्काले अख्तियार गर्ने नयाँ विदेश नीति महŒवपूर्ण हुनेछ ।

चिनियाँ कृषि मल उत्पादक कम्पनीले हानिकारक मल पठाएपछि त्यसको चेकजाँचपश्चात् श्रीलङ्का सरकारले चिनियाँ कम्पनीको कृषि मललाई स्वीकार गर्न नसकिने भनेपछि त्यहाँ गम्भीर कृषि सङ्कट उत्पन्न भएको छ । भारतले श्रीलङ्काली सरकारको आग्रहमा मित्रतास्वरूप निकै कम समयमा श्रीलङ्कालाई एक लाख किलो ‘नैनो नाइट्रोजन मल’ आपूर्ति गरेको छ ।

यसबाट त्यहाँका किसानहरूको आँखामा खुशी र हाँसोको आँसु हेर्न सकिन्छ । चिनियाँ कृषि मलको खेपलाई स्वीकार गर्न नसकेर श्रीलङ्काले कमोवेश चीनलाई ठूलो आर्थिक क्षति पु¥याएको छ । विगतका दिनमा चीनसित ठूलो आयतनमा ऋण काढ्ने श्रीलङ्का भने चीनको जथाभावी किसिमको सामग्री र प्रस्तावलाई स्वीकार एवं समर्थन गर्न नसकिने जवाफ दिइसकेको छ । गम्भीर कृषि सङ्कटका बेला भारतद्वारा पठाइएको यस मलले त्यहाँ आर्गानिक मलको उत्पादनमा समेत ठूलो भूमिका निर्वाह गर्नेछ ।

चिनियाँ दूतावासका अधिकारीले श्रीलङ्का सरकारलाई धम्की दिनुका साथै त्यहाँको बैंकलाई कालोसूचीमा राख्न सकिने धम्कीसमेत दिइसकेको छ । चिनियाँ ऋणको जालोमा यसअघि नै फसिसकेको श्रीलङ्काले बाध्य भएर चीनलाई आफ्नो महŒवपूर्ण हम्वनटोटा बन्दरगाह ९९ वर्षको लागि सुम्पिनुपरेको हो । श्रीलङ्काको मट्टाला एयरपोर्टलाई पनि कमोवेश चीनले आफ्नो वर्चस्वमा लिइ नै सकेको छ । केहीअघि मात्रै भारत, श्रीलङ्का र जापानबीच भएको एक त्रिपक्षीय सम्झौता अनुसार श्रीलङ्काको भौतिक पूर्वाधार तथा अन्य विकास कार्यमा भारत एवं जापानको भूमिका पनि अब त्यहाँ महŒवपूर्ण हुनेछ ।

चीनले भारतलाई जिस्काउने मनसायले तमिलहरूको बाहुल्यता भएको श्रीलङ्काको उत्तरी क्षेत्रमा समेत लगानी गर्न थालेको छ तर चीनको यो योजना सफल हुने छैन किनभने चिनियाँ ऋणको असर कति खतरनाक हुने गर्दछ भन्ने कुरालाई अब श्रीलङ्काले पनि बुझ्न थालेको छ । श्रीलङ्का पनि सकभर चीनसित ऋण काढ्नुपर्ने अवस्था नआओस् भन्ने दिशामा ध्यान केन्द्रित गर्न चाहन्छ । चिनियाँसितको मित्रता कति महँगो एवं हानिकारक हुन सक्छ भन्ने कुरा अब बिस्तारै–बिस्तारै पूरै विश्वले जान्न थालेको छ ।

चीनको व्यावसायिक स्वार्थको मूल्य कति चर्को पर्छ भन्ने उदाहरण चीनले भिडाएको नेपाल वायु सेवा निगमका विमानले देखाउँछ । चीनले आफ्नो होल्डिङ कम्पनी एभिकको जहाज नेपाललाई भिडाउन एक दशकअघि ठूलो कूटनीतिक बल लगाएको थियो । चीनले २०६९ सालमा छवटा जहाज (चारवटा वाइ–१२ ई र दुईवटा एम–ए ६०) भिडाउन नेपाललाई ऋणसमेत दिएको थियो । दुईवटा जहाज चीनले सित्तैमा दिएको भनिएको यो खरीदमा सरकारको रु ४ अर्ब ३२ करोड खर्च भएको थियो । तर कामै नलाग्ने यी जहाज थन्किन पुगे, जसले गर्दा निगमको वित्तभार झन्झन् चुलिंदै गयो ।

केही वर्षअघि नेपालमा क्षणक्षणमा बिजुली जाने गर्दथ्यो । ट्रान्सफर्मरहरूले लोड नै सहन गर्न सकिरहेका थिएनन् । भनिन्छ, त्यति बेला जडान गरिएका ट्रान्सफर्मरहरू चीनबाट आयात गरिएका थिए । आखिर ती ट्रान्सफर्मरहरू हटाएपछि बिजुली आपूर्ति सहज र सुचारु भएको छ । चीनसामु जति झुक्यो, उसले उत्ति नै हेप्ने गर्छ र अन्ततः चीनसितको सम्बन्धमा आर्थिक पाटा खस्किन पुग्दछ । समकक्षी सम्बन्ध नहुँदा चिनियाँ सम्पर्क तथा सेवा र उत्पादनको आपूर्तिसमेत कमसल हुन जानेछ । समकक्षीको सम्बन्ध सबै मित्रराष्ट्रसँग हुनुपर्छ ।

चीनको अर्थतन्त्रले दिने सेवा र वस्तुको स्तर उत्पादनमा ठूलो अन्तर हुने गर्छ । उसले संसारकै गुणस्तरीयदेखि कमसलभन्दा कमसल सामग्रीहरू उत्पादन गर्दछ । हीनताबोध बोक्ने देशहरूले उच्चकोटिको उत्पादन अपेक्षा गर्न मिल्दैन । कोभिड–१९ को सङ्क्रमण पैmलिएको बेला पाकिस्तानले आफ्ना सर्वाधिक भरपर्दो मित्रराष्ट्र चीनसित मास्कको माग गरेको थियो तर चीनले पठाएको मास्क अन्डरगार्मेन्ट कपडा भएको भन्दै पाकिस्तानमा चर्को आलोचना भएको थियो ।

चीनले पाकिस्तानलाई उपलब्ध गराउने गरेको सामग्री स्तरहीन हुने गरेको आरोप विगत लामो समयदेखि लाग्दै आएको छ । तर आर्थिक अवस्था जर्जर भएको पाकिस्तानसामु चीनलगायतका विदेशी दातृराष्ट्रहरू एवं दातृसंस्थाको जस्तोसुकै सहयोग र शर्त स्वीकार गर्नुको विकल्प छैन । चीन विश्वको ठूलो अर्थतन्त्र हो, यसले आफ्ना छिमेकी राष्ट्रहरूप्रति सद्भाव एवं सहयोगको भावना राख्न सक्यो भने यो अवश्य पनि विश्वमा प्रभावशाली देश बन्न सक्नेछ तर कमसल उत्पादन र सामग्री निर्यात गरेर कसैको पनि विश्वास, समर्थन र सद्भाव पाउन सक्नेछैन ।

विश्वका कतिपय देशमा खासगरी विकासशील तथा गरीब देशहरूमा चीनको बारेमा यस्तो मान्यता नै कायम भइसकेको छ कि यसका उत्पादनहरू कमसल र दिगो खालको हुने गर्दैन । तसर्थ सस्तो चिनियाँ उत्पादन खरीद गर्नुभन्दा महँगो विदेशी उत्पादन खरीद गर्नु नै उपयुक्त हुनेछ । चीनद्वारा श्रीलङ्का सरकारलाई निर्यात गरिएको कृषिमल गुणस्तरहीन हुनुले दुई देशबीचको घनिष्ट मैत्रीपूर्ण सम्बन्धमा पनि तिक्तता ल्याइदिएको छ । आर्थिकरूपले देश कमजोर भएपनि आफ्नो आत्मसम्मान, स्वाभिमान र आफ्ना जनताको भविष्यसँग सम्झौता गर्न सक्दैन ।

यस मामिलामा पनि श्रीलङ्का सरकारले आफ्नो ठोस अडान तथा राष्ट्रिय चरित्रको प्रदर्शन गरेको छ । श्रीलङ्का मात्र होइन, अन्य देशहरूलाई पनि गुणस्तरहीन र हानिकारक ब्याक्टेरियायुक्त कृषि मल अथवा अन्य सामग्री स्वीकार गर्नुको औचित्य हुँदैन । चीनले पनि मित्रराष्ट्रहरूलाई भरसक उच्चकोटिको आफ्नो उत्पादन नै निर्यात गर्नु उचित हुनेछ ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here