किस्मत अपना अपना

0
  • कुमार रुपाखेती

बिरालोले बच्चा सारेझैं काङ्ग्रेसले महाधिवेशनको निर्धारित तिथि–मिति फेरबदल गरिरहन्छ । निर्धारित मिति मङ्सिरमा १४औं महाधिवेशन हुने काङ्ग्रेसीहरू नै विश्वस्त देखिंदैनन् । त्यसैले त अस्ति पूर्व प्रधानमन्त्री ओलीले– काङ्ग्रेस बूढो भयो, निर्धारित समयमा महाधिवेशन गर्न सक्दैन भनी दिए । अनेकन उपमा दिइएको यो महाधिवेशन अगावै सिंगारपटार गरेर बेहुला पारामा देउवापुत्र, विमलेन्द्र निधिका छोरा र पूर्वराष्ट्रपति रामवरण यादवका सुपुत्रलाई किस्तीमा राखेर पेश गरिंदैछ ।

ठूला नेताहरूलाई महाधिवेशनभन्दा आफ्ना उत्तराधिकारीहरूको तारतम्य मिलाउने चटारो छ । अचेल काङ्ग्रेसलाई मुख सानो गाँस ठूलो भएको दल भनिन्छ । २०७४ को आम निर्वाचनमा दोस्रो भएको यो दल काकताली परेर सत्तामा छ । विगत दुई–तिहाई सरकारका हर्ताकर्ता भनिने प्रचण्ड र माधव नेपाल देउवाको रहमोकरममा आफ्नो भविष्य देख्न थालेका छन् । ओली खेमाले विभीषणको संज्ञा दिएको प्रचण्ड र माधव आफ्नै पहलमा बनेको दुईतिहाई सरकारका हर्ताकर्ता ओलीलाई धूलो चटायौं भन्दै आफ्नो बखान आफै गर्दैछन् । म त यी दुईलाई ‘आफै बोक्सी आफैं झाँक्री’को उपमा दिन चाहन्छु । तर यिनले आफूलाई ‘खाने पिउने रामे चोट पाउने श्यामे’ भयौं भन्दछन् ।

अस्ति बिहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवले अर्का पूर्व मुख्यमन्त्री जितनराम माझीसँग रिसाउँदै ‘भकचोन्हर’ भनिदिए । अनि भकचोन्हर शब्दले तिलमिलाएकी जितनराम माझीकी बुहारीले लालुकी छोरी रोहिणीलाई एक सभामा ‘लबरी’ भनेर भाषण ठोकिदिइन् । अहिले बिहारमा डिस्नेरी पल्टाएर भकचोन्हर र लबरीको अर्थ खोज्नेहरूको लहर चलेको छ । बिहारभन्दा तल्लो स्तरमा नेपालमा अचेल ओली, प्रचण्ड र माधवबीच गालीगलौजको जुहारी नै चलेको छ । बेलगाम बोल्ने ओलीलाई प्रचण्ड, माधवको जोडीले तथानाम फलाक्दै आएको छ । धेरैले यी तीनलाई ‘आफै राँड देशै भाँड’ पनि भन्दछन् । कन्युनिस्टहरू यस्तो तल्लो स्तरमा झर्दासमेत काङ्ग्रेसले त्यसको फाइदा लिन सकेको छैन, उल्टै नेपाली काङ्ग्रेस ‘नाम बडे और दर्शन छोटे’ हुँदै गएको छ । स्मरणीय छ नेपाली काङ्ग्रेसको जन्म विवादमा, विदेशमा भएको हो ।

सर्वसम्मतिको नाममा ओलीले तानाशाही पारामा वडा, नगर अधिवेशन गरेको सबैलाई थाहै छ। तानाशाही र सर्वसम्मति भन्दै केन्द्रीय अध्यक्ष बन्ने ओलीको दाउ हो । उता आफूलाई उदारवादी, प्रजातन्त्रवादी भन्दै काङ्ग्रेसले वडास्तरको बुथ कमिटीहरूमा समेत थुप्रै दाबी र विवाद गराएर सहमति भएन भन्दै मतभेद सृजना गराउँदै निर्वाचनमा जाने भएको छ । इतिहासकालदेखि नै काङ्ग्रेसमा पार्टीको प्रभावशाली पदमा ठूला नेताहरूको सहमति बन्ने र तल्लो स्तरका पदहरूमा मारामार गराइदिने चलन छ । ते¥हौं महाधिवेशनमा महामन्त्रीमा पराजित गगन थापालाई विनाविवाद सजिलै केन्द्रीय सदस्यमा मनोनीत गरिएकै हो । बुई चढेर, रिझाएर मन्त्रीसम्म बन्नेहरू काङ्ग्रेसमा थुप्रै छन् । यही प्रदेश २ मा समानुपातिक विधायक ओमप्रकाश शर्मा पनि त प्रदेशमन्त्री भए ।

सधैं राजनीतिक दाउपेच र पदको लालसामा बाँचेकाहरू नेपालमा थुप्रै छन् । त्यसैले त आम जनताले देशभित्र र बाहिरसमेत अन्धकार र अन्यायमा बाँच्नुपरेको छ । दार्चुलाको मालघाटमा तुइनमा बगाइएका जयसिंह धामीलाई नेपाल सरकारले बिर्से पनि नेपाल राष्ट्रिय मानव अधिकारको पत्रको आधारमा ठूलो मुद्दा बनाई भारतीय राष्ट्रिय मानव अधिकारले भारत सरकारको ध्यानाकर्षण गर्दै छानबीन शुरू गरेको छ । नेताहरूको नामर्दीपनाले गर्दा हाम्रो लडाइँ अरूले लड्दैछ, हाम्रो सरकार त रमिते पाहुना त हो नि ।

सरकारी नालायकीपनाको फाइदा उठाउँदै भर्खरै विज्ञापन बोर्डले एउटा उर्दी जारी ग¥यो, जसमा भनिएको छ– मिडियाले मदिराको विज्ञापन गर्न पाउँदैन । सरकारले राजस्व लिन्छ, उद्योगीले करोडौं लगानी गरेर मदिरा उद्योग खोल्छ । तर उसको विज्ञापन मिडियाले गर्न नपाउने यो कस्तो विरोधाभासपूर्ण र उदेकलाग्दो आदेश हो ?

गठबन्धन भर्सेज एमालेको लडाइँ झगडा आफ्नो उत्कर्षमा छ । सबै मिलेर ओली पक्षलाई सखाप पार्ने कसम खाएका छन् । तर यिनको एकता पानीको बुलबुला जस्तै हो, सङ्क्षेपमा भन्ने हो भने ‘न नौ मन तेल होई ना राधा नाची’ । पद पाएपछि पुड्को बन्ने, लक्ष्य र गन्तव्य त्याग्ने यिनको नानीदेखि लागेको बानी हो । तसर्थ नानीभन्दा आची ठूलो देखाउनुको सट्टा यथार्थको धरातलमा बाँच्नु राम्रो हो ।

नेपाली काङ्ग्रेसमा अरू बेला युवा पुस्ता, नयाँ पुस्ता भन्ने थुप्रै देखिन्छन् । तर महाधिवेशनको सँघारमा यिनीहरू आफ्नो गुट, उपगुटमा विलीन हुन पुग्छन् । यस्ता चरित्रका जानकार शीर्ष नेताहरूले लुत्फ उठाउँदै युवा पुस्ता नयाँ पुस्ता भन्दै आफ्ना सन्तानहरूलाई प्रवेश गराउँछन् । नसीब अपना अपना भनेको यही हो । विपीले भनेका सुकिला–मुकिला पनि यिनै हुन् ।

ओलीको नाम नसुन्ने र उनको हर्कत थाहा नपाउने यो मुलुकमा को नै छ र ? तर पनि विधान महाधिवेशन परिसरभरि आफ्नो एकल तस्वीर राखेर उनी सर्कसको जोकर साबित भएकै हुन् । आगामी मङ्सिरमा नारायणगढमा हुने एमाले महाधिवेशनमा यिनको रहलपहल कर्तुतहरू पनि जनसमक्ष आउला नै । ओली मात्रै किन काङ्ग्रेसको महाधिवेशनमा उँची छलाङ लगाउन देउवासमेत तम्तयार नै छन् । खै, कसरी नैया पार हुने हो ?

जेजस्तो भए पनि बाध्यताले गर्दा आगामी निर्वाचनमा ओली ‘एकला चलो रे’ अवस्थामा छन् भने गठबन्धन भन्दै कुममा कुम जोरेर चुनावी मैदानमा अवतरण गर्न प्रचण्ड, माधवहरू विवश छन् । अहिले त यिनको महाधिवेशनरूपी चटक र मदारीको खेल हेरौं अनि निर्वाचनताका यिनको बहुरूपी चरित्र हेरेर मजा लिउँला । किस्मत अपना अपना ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here