राष्ट्रिय जनगणना ः विविध सन्दर्भ

0
  • सञ्जय साह मित्र

अहिले राष्ट्रिय जनगणना चलिरहेको छ । यसलाई मूल गणना पनि भनिन्छ । यसभन्दा पहिले घर गणना र घर–नम्बर निर्धारण गरिएको थियो । घरबारे केही प्रारम्भिक जानकारी पनि लिइएको थियो । त्यसभन्दा पहिले गणकहरूलाई तालीम दिइएको थियो । अझ त्यसभन्दा पहिले गणकलाई तालीम दिने प्रशिक्षक तयार पारिएको थियो । यस जनगणनाको लागि अनेक किसिमले अन्य आन्तरिक तयारी पनि गरिएको थियो ।

गत जेठमा नै सम्पन्न हुनुपर्ने राष्ट्रिय जनगणना कोरोनाको कारणले प्रभावित भई तत्काल स्थगित गरिएको थियो र कोरोनाको प्रभाव कम हुँदै गएपछि शुरू गरिएको हो । अहिले चलिरहेको राष्ट्रिय जनगणना विभिन्न दृष्टिकोणले महŒवपूर्ण रहेकोमा दुई मत छैन । जनगणनाले धेरै कुरा निर्धारण गर्ने हुनाले यसप्रति धेरैको चासो रहेको छ । धेरैतिरबाट यसलाई हेरिएको छ । धेरैतिरबाट यस जनगणनाको नतीजाको प्रतीक्षा रहेको छ ।

जनगणनाप्रति धेरै चासो देखाइएका पोस्टहरू सामाजिक सञ्जालमा देखिएका छन् । विभिन्न जातीय समूह तथा अन्य समूहले जनगणनाको परिणामलाई सकेसम्म आफ्नो पक्षमा पार्ने किसिमका सामग्रीहरू सामाजिक सञ्जालमा आइरहेका छन् । फलानो जातिको भाषा नै फलानो, फलानो धर्मको भाषा नै फलानो, फलानो जातको धर्म नै फलानो जस्ता विषय र सन्दर्भहरू सामाजिक सञ्जालमा देखिएका छन् ।

समाज परिवर्तनशील छ । पहिलेको तुलनामा देशमा जाति र भाषाको सङ्ख्या बढेको छ । भाषा र जातिको साथै धर्म मान्नेहरूको सङ्ख्या पनि विचार गर्ने हो भने कम वा बेसी भएको पाइन्छ। जागरण तथा चेतनाको कारण सर्वसाधारणले आफ्नो पहिचनामा वृद्धि गर्दै लगेका छन् । देशमा लोकतन्त्र आइसकेपछि आफ्नोपनको चेतनामा वृद्धि भएको छ । यदि देशको विभिन्न क्षेत्रको तथ्याङ्कलाई विचार गर्ने हो भने धेरै क्षेत्रमा वृद्धि भइरहेको छ । गत दश वर्षभन्दा पहिले कुनै गाउँ वा शहरलाई हेर्ने हो भने पक्की सडक तथा पक्की घरमा के कति वृद्धि भएको छ ? दश वर्ष पहिले देशका नागरिकको प्रतिव्यक्ति औसत आय कति थियो ? देशका नागरिकको औसत आयु कति थियो ? साक्षरता कति थियो ? यी सबैमा परिवर्तन त हुँदै गएको छ । यी र यस्ता सबै क्षेत्र तथा विषय र पक्षको आधिकारिक तथ्याङ्कका लागि यो जनगणनाको आधिकारिक परिणामको आवश्यकता पर्दछ ।

राष्ट्रिय जनगणना चलिरहँदा केही व्यावहारिक समस्या पनि हुने देखिएको छ । कतिपय घर परिवारका मानिस दिउँसोको समय घरमा हुँदैनन् । दिउँसोको समय घरमुली घरमा नभएको बेला यदि गणक पुग्दछन् भने तथ्याङ्क दिन वा पाउन समस्या हुन्छ । उदाहरणको लागि कुनै परिवारमा दुई सन्तान छन् । आमा र बुबा दुवै घरबाहिर हरेक दिन कार्यालय वा अन्य काममा नियमित जानुपर्ने हुन्छ । सन्तान पनि विद्यालय जान्छन् । यस अवस्थामा यदि कोही गणक घरमा पुग्दछ भने अरूबाट सुनेको भरमा जनगणनाको फारम भर्नुपर्ने हुन्छ ।

एकजनासँग यस्तो पनि भएछ । उनी आफ्नो घरभन्दा टाढा परिवारसहित बस्तछन् । वर्षमा मुश्किलले एक दुई हप्ताका लागि घर आउँछन् । यस अवस्थामा उनको घरमा गणक पुग्छन् । यसको जानकारी उनका अनपढ छिमेकीले फोनबाट दिन्छन् । फोन गर्ने छिमेकी अनपढ र तिनका घरको मुख्य मान्छे विदेशमा हुन्छन् । बाहिर जिल्लामा बस्ने व्यक्तिले आफ्नो गणना आफू बसेकै जिल्लामा दिने र तपाईं आफ्नो विवरण दिनुस् भन्छन् । गणकले उनको विवरण माग गर्छन् । छिमेकी यो बुझ्दछन् कि शिक्षित छिमेकीले आफ्नो विवरण दिन मानेनन् तर आफूलाई विवरण दिन भनिरहेका छन् । उनलाई केही आशङ्का हुन्छ र उनी पन्छिन खोज्छन्। गणकले ती बाहिर जिल्लामा बस्ने मानिससित फोनमा लामै कुरा गरेपछि फलानो दिन घर आउने र अनि आफ्नो र छिमेकीको विवरण दिने बताउँछन् ।

जनगणनामा काम गरिरहेका गणकहरूका अगाडि यस्ता धेरै समस्या देखिएका छन् । कतिपयले विवरण दिन नमान्ने त कतिपयले दिएको विवरणमाथि विश्वास गर्न नमिल्ने तर लेख्नुपर्ने । मुख्य गरी खेत, धन तथा शिक्षाको विषयमा केही द्विविधा हुने गरेका छन् । नपढेको भए पनि पढेको भनिदिने, कम पढेको तर धेरै भन्न रुचाउने, पढेकोले पनि नपढेको लेखाउने, ऋण भए पनि नलेखाउने वा ऋण नहुँदा पनि देखाउन खोज्ने जस्ता कुराहरू सुनिएका छन् । गणकहरू स्थानीय पनि हुनाले बुझेको वा जानेको एकथोक र जसको गणना भइरहेको छ, तिनले भनेको अर्को थोक हो कि भन्ने आशङ्का कतिपय गणकलाई हुने गरेको छ ।

धर्म परिवर्तन गरेका परिवारको विषयमा पनि केही समस्या हुने गरेको बुझिएको छ । भित्रभित्रै धर्म परिवर्तन गरिसकेकाले समाजको अगाडि जनगणनामा लेखाउन नचाहेको वा सही विवरण दिन नमानेको समस्या पनि गणकको अगाडि हुने गरेको छ । यस्तो विषयमा त जसको विवरण दिइँदैछ, उनले भनेकै कुरालाई सर्वोत्तम आधार मानेर गणकले लेख्नुपर्ने हुन्छ ।

हुनत अहिले न धेरै गर्मी छ, न धेरै जाडो नै । हिलो–धूलोको बेला पनि नभएकोले गणनाको दृष्टिकोणले अहिलेको मौसमलाई ठीक मान्नुपर्ने हुन्छ । तर गाउँमा अहिले धानको कटाइ चलिरहेको छ । धेरै ग्रामीण मजदूर तथा किसानहरू धान भिœयाउन व्यस्त छन् । यसले गर्दा गणक घरमा पुग्दा कतिपय अवस्थामा घरमा कोही नभएको पाइने पनि हुन्छ । खेतको काममा अबेर पनि हुने भएकोले पर्खन पनि धेरै हदसम्म सम्भव नहुने समस्या देखिएको छ । कतिपय घरमा बिहानमात्र मानिस भेट हुने र कतिपय अवस्थामा साँझमात्र भेट हुने पनि पाइएको छ । यसले गर्दा जनगणनाको काम सोचेजस्तो सजिलो भने छैन ।

अहिलेको राष्ट्रिय जनगणनाको महŒव धेरैले बुझेका छन् । यो सही हो तर अझ जति धेरै यस विषयमा ग्रामीण क्षेत्रमा प्रचारप्रसार हुनुपथ्र्यो, त्यो हुन नसकेको देखिएको छ । हुनत स्थानीय सरकारले चाहेको भए गणकलाई सबै किसिमको सहयोग उपलब्ध गराउन सक्थ्यो तर यसो हुन नसकेको गुनासो पनि आएको छ ।

राष्ट्रिय जनगणनाको अन्तिम नतीजा आएपछि स्थानीय तहले पनि त्यस परिणाम अनुसार धेरै कुरा सरकारबाट तथा धेरै कुरा आफूले निर्धारण गर्न पाउने हुन्छ । यस अर्थमा स्थानीय तहले जनगणनाको महŒव जति धेरै बुझ्नुपर्ने हो त्यति वा त्यसरी बुझ्न नसकेको हो कि भन्ने देखिन आउँछ । यद्यपि अझै जति दिन बाँकी छ, यस अवधिमा पनि सही र सत्य तथ्याङ्क उपलब्ध गराउनुपर्ने आवश्यकता रहेको छ ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here