यहाँ खेती हुन्छ

0

हो, नेपालमा सबै खेती गर्छन् । ताक परेको बेला गरिने खेती प्रायः राजनीतिमा देखिने गरे पनि हिजोआज नेपालमा जुनसुकै कुरामा ताक परे खेती गरिन्छ । सानो निहु चाहिन्छ, खेती गर्नेहरूको बाढी नै आउँछ । सर्वोच्च अदालतमा खेती भइरहेको छ, कोही क्रान्तिकारिताको खेती गरिरहेका छन्, कोही उपकार चुकाउने खेती गरिरहेका छन् । छठ पर्वको बेला त ठूलै खेती भयो, हेलिकप्टरबाट बीउ छरेर । रौतहटमा के कुनै मनोरोगीले बदमाशी ग¥यो, अर्कोथरीलाई धर्मको खेती गर्ने विवेक पलाइहाल्यो । चारैतिरबाट हरेस खाएर विप्लवले पेट्रोलियम महँगीविरुद्ध नेपाल बन्दको आह्वान गरेर राजनीतिक खेती गरे । ठेकेदारहरू निर्माण कार्यलाई अनन्तकालसम्म लम्ब्याएर सडक, पुल, कुनै ठूला आयोजनामा खेती गर्छन् र आफूलगायत निगरानी निकायलाई अन्नपातको ठूलै उपलब्धि गराउँछन् । यी सब खेतीमा सत्ताको खेती भने उपल्लो तहको हुन्छ । उनीहरूको खेतीले त भकारी जहिले पनि टन्न रहन्छ । खेती भनेको हामीकहाँ नितान्त व्यक्तिगत उपलब्धिको व्यवसाय हो । खेतमा गरिएको खेती होस् वा अन्यत्र । त्यसमा कोही साझेदार हुँदैन । हिजोको समयमा खेतीबाट प्राप्त आयमा समाजको केही अंश रहन्थ्यो आज त्यो परिपाटी हटिसकेको छ ।

यी कुरा गरिरहँदा कृषिप्रधान मुलुक नेपालमा खुबै अन्न उब्जन्छ भन्ने भ्रम नपलाओस् । कृषिसम्बन्धी खेती त अब मासिंदै छ । कृषिबाट हुने आयभन्दा प्लटिङ गरेर वा गर्नका लागि खेत बेच्दा ठूलो कमाइ हुन्छ । हिजो नेपालले विभिन्न कृषि उपज विदेश निकासी गर्दथ्यो, आज विभिन्न होइन, प्रायः सबै उत्पादन खरीद गर्छ । धान, गहुँ, मकै, भटमास, तरकारी, मासु अर्थात् दैनिक उपभोगका सामानदेखि ऐशोआरामका वस्तुलगायत नीति, नियम सबैथोक विदेशबाट खरीद गर्छ । यहाँ कृषिकर्म गरेर हुने खेती भने हुँदैन । हाम्रो परम्पराले कृषिलाई उत्तम कर्म मानेको थियो, आज यो निकृष्ट कर्म मानिन्छ । निष्कृट कर्म कसले गर्ने ? कसले गर्नेभन्दा पनि किन हुन दिने भाव प्रबल छ । त्यसैले खेतमा सिंचाइ हुने कुलोमा पालिकाहरूले कालोपत्रे सडक बनाउँछन्, नहर बनाउने, विदेशबाट मल–खाद मगाउने भनेको त कृषि उद्देश्यका लागि हुँदै होइन । यस्ता काम पूर्ण नहुनेगरी गरिरहँदा अधिकारवाला व्यक्तिले कमिशनको खेती गरिरहेको हुन्छ । लामो समयसम्म उब्जनी लिन सकिने खेती छाडेर दिनदिनै जाडो, रापिलो घाम वा वर्षामा कसले कृषिकर्मका लागि मरिहत्ते गर्ने ?

नेपाल मात्र यस्तो देश हो जहाँ एक दिनमा सिद्धिने काम एक वर्ष त के दश वर्षमा पनि सम्पन्न हुने ग्यारेन्टी हुँदैन । विदेशतिर पाँच वर्षमा सकिने काम चार वर्षमा सक्याउनुलाई त्यहाँका मानिस पुरुषार्थ ठान्छन् । किनकि उनीहरूले त्यस आयोजनामा खेती गर्नु छैन । मलेशियाले आफ्नो विमानस्थल निर्धारित समयभन्दा दुई महीना पहिले नै सम्पन्न ग¥यो । चीनले ओलम्पिकको तयारीमा जुन तत्परता देखायो, त्यो मानव इतिहासमैं अद्वितीय थियो । विभिन्न बाधा–अवरोधलाई छिचोल्दै दुबईको जहाजे होटल समयभन्दा पहिले सम्पन्न भयो । नेपालीहरू भने समयभन्दा पहिले काम सिध्याउनुलाई ठूलो अपराध ठान्छन् । समयमा काम सिध्याउनु भनेको कसैको मातहतमा काम गर्नु ठान्छन् । त्यसैले यहाँ कृषिबाहेक सबै कुरामा खेती हुन्छ । त्यसैले नेपाललाई अब कृषिप्रधान मुलुक नभनेर खेतीप्रधान मुलुक नामकरण गरे हुन्छ । उब्जनी आउनुपर्छ, बाली त जे लगाए पनि हुन्छ ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here