प्रस, गरुडा, ३० कात्तिक/

रौतहटको कटहरिया नगरपालिकाले नगर क्षेत्रका सबै सामुदायिक विद्यालयलाई खाजा बनाउने भाँडा प्रदान गरेको छ । नगरप्रमुख सियाराम कुशवाहाले नगरका सबै प्रधानाध्यापकलाई खाजा बनाउने सम्पूर्ण भाँडाबर्तन हस्तान्तरण गरेका हुन् ।

खाजा व्यवस्थापन निर्देशिकाको अनुसूचीमा उल्लेख भएबमोजिम खाजा बनाउनको लागि आवश्यक पर्ने भाँडाबर्तन र विद्यालयलाई खाजा बनाउनको लागि आवश्यकता हेरी केही थप भाँडा तथा सामानहरू नगरका सबै विद्यालयलाई हस्तान्तरण गरिएको शिक्षा संयोजक अनिलकुमार निधिले जानकारी गराए । नगरपालिकाले आफ्नो स्रोतबाट सबै सामग्री नगर क्षेत्रमा सञ्चालित २४ वटा सामुदायिक विद्यालयलाई हस्तान्तरण गरिएको संयोजक निधिको भनाइ छ ।

सरकारले विद्यालयमा दिवा खाजा लागू गरेपछि धेरै विद्यालयलाई खाजा पकाउनको लागि भाँडाबर्तन जुटाउन समस्या भएको सुनिएकोले नगरपालिकाले विद्यालय र बालबालिकाको सहयोगको लागि ग्याँस चुलोको सम्पूर्ण सेटका साथै खाजा पकाउन आवश्यक पर्ने सम्पूर्ण भाँडाकुँडा किनेर हस्तान्तरण गरेको नगरप्रमुख कुशवाहाको भनाइ छ ।

कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह, नगर प्रवक्ता चन्दनप्रसाद कुशवाहासमेतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here