प्रस, वीरगंज, ३० कात्तिक/
जनकपुरमा छठ पर्वमा गैरहिन्दूबाट भएको आक्रमणको विरुद्ध मङ्गलवार वीरगंजमा हिन्दूवादी संस्थाहरूले प्रदर्शन गरेका छन् । धनुषा र बारासहित विभिन्न जिल्लामा गैरहिन्दूद्वारा हिन्दूहरूको महान् पर्व छठपूजामा हस्तक्षेप भएको विरुद्ध वीरगंज हिन्दू समाज पर्सालगायतका हिन्दूवादी सङ्गठनहरूले प्रदर्शन गरेका हुन् ।
प्रदर्शनको क्रममा हिन्दूवादी सङ्गठनका नेताहरूले मुख्यमन्त्री लालबाबूराउत गद्दीको राजीनामा पनि माग गरे । उनीहरूले हिन्दूहरूमाथि आक्रमण गर्ने नियोजित योजना भएको भन्दै मुख्यमन्त्रीको राजीनामा माग गरेका थिए । उनीहरूले नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने नारा लगाएका थिए ।
विभिन्न स्थानबाट निकालिएको जुलुस जिल्ला प्रहरी कार्यालय, पर्सा अगाडि रहेको लालबङ्गलामा एकीकृत भएर नगरपरिक्रमा गरी घण्टाघरमा कोणसभा गरेको थियो । कोणसभामा हिन्दू परिषद्का अध्यक्ष सन्तोष पटेलले प्रदेश २ मा मुख्यमन्त्रीको योजनामा गैरहिन्दूहरूबाट हिन्दूहरूको मनोबल खस्काउने काम भइरहेको आरोप लगाए । उनले धनुषा र बारापछि पर्साका हिन्दूहरूमाथि पनि यस प्रकारको आक्रमण हुन सक्ने भन्दै सबैलाई सजग रहन सुझाव दिए । उनले नेपालमा हिन्दूको संरक्षणको लागि हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने माग गरे।
विश्व हिन्दू परिषद् पर्साका अध्यक्ष ओमप्रकाश साहले मुख्यमन्त्रीको निर्देशनमा हिन्दूहरूमाथि नियोजितरूपमा आक्रमण भएको आरोप लगाएर राजीनामा माग गरे ।
नेपाली काङ्ग्रेसका धर्मेन्द्र पटेलले हिन्दूमाथिको आक्रमण सह्य नहुने र त्यसको जोडदार प्रतिकार गर्ने चेतावनी दिए । उनले प्रदेश २ मा मुख्यमन्त्री गद्दी भएयता हिन्दूहरूमाथि आक्रमण बढेको आरोप लगाए । उनले हिन्दूहरूको सहनशीलता तोड्ने प्रयास नहोस् भन्दै सहनशीलता तोडिएको खण्डमा परिणाम अकल्पनीय हुन सक्ने चेतावनी दिए ।
उनले हिन्दू धर्म रक्षाको लागि आफूहरू एकीकृत भएको बताए । उनले हालका दिनमा नेपालमा अवैधरूपमा मुस्लिमहरू भिœयाएर हिन्दूहरूमाथि आक्रमण गर्ने प्रयास भएको आरोप पनि लगाए । कार्यक्रममा बाबा बजरङ्गीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।