द्रोण पर्व–५१

0

महाभारतबाट सङ्कलन तथा अनुवाद

उमाशङ्कर द्विवेदी

यतिबेला द्रोणाचार्यबाट कवच बाँध्न लगाएर दुर्योधन अर्जुनतिर गएको छ । अन्य अरू पनि कैंयन महारथी त्यहाँ पहिले नै पुगिसकेका छन् । त्यसैले तिमी पनि तत्कालै त्यहाँ जानुपर्छ । भीमसेन र हामीहरू सैनिकहरूसहित तम्तयार छौं । द्रोणाचार्यले यदि तिम्रो पिछा गरे भने हामीले उनलाई यही रोकिराख्नेछौं । हेर हाम्रो सेना सङ्ग्राम भूमिबाट भाग्न थालेको छ । रथी, घोडचढी र पैदल सेना यताउति भागिरहेकै कारणले भारैतिर बुङ्बुङ्ती धूलो उडिरहेको छ । लाग्दछ, अर्जुनलाई सैन्धववीरहरूले घेरामा पारिसकेका रहेछन् । यी जम्मै जयद्रथको रक्षा गर्नका खातिर आप्mनो प्राण त्याग्न पनि तयार छन्, त्यसैले यिनीहरूलाई परास्त नगरेसम्म जयद्रथलाई पनि जित्न सकिंदैन । आज महाबाहु अर्जुन एकाबिहानै कौरवसेनाभित्र प्रवेश गरेका थिए । अब दिन ओरालो लाग्दैछ, अबसम्म उनी जिउँदो पनि छन् कि छैनन् कुन्नि ?

कोरवसेना समुद्र समान अपार छ, सङ्ग्राममा एकाकी देउताहरूले पनि यसको सामना गर्न सक्दैनन् क्यार ? यसमा अर्जुन एक्लैले प्रवेश गरेका छन्, त्यसकै ध्याउन्नले आज युद्ध गर्नामा मेरो बुद्धिले पनि काम गरिरहेको छैन । जगत्पति श्रीकृष्ण त अर्काको रक्षा गर्ने खालका हुन् । त्यसैले उनको लागि मेरा मनमा कुनै चिन्ता त छैन । म तिमीसित साचो भन्दैछु, यदि तिनै लोक एक साथ मिलेर पनि श्रीकृष्णसित लड्न आए पनि उनलाई सङ्ग्राममा जित्न सक्दैनन्, अनि त यस धृतराष्ट्रपुत्रको अत्यन्त बलहीन सेनाको त के कुरा ? तर अर्जुनमा यो कुरा भने छैन । उनलाई यदि धेरैजसो योद्धा मिलेर पीडा पु¥याए, उनले प्राण त्याग गरिदिनेछन् ।

अतः जुन मार्गबाट अर्जुन गएका छन्, तिमी पनि त्यसै बाटोबाट उनी समीप जाऊ । अचेल वृष्णीवंशी वीरहरूमध्ये तिमी र महाबाहु प्रद्युम्न–यी दुई मात्र अतिरथी मानिन्छन् । तिमी अस्त्र सञ्चालनमा साक्षात नारायणको समान, बलमा बलरामजीको समान र पराक्रममा स्वयम् अर्जुनको समान हौं । अतः यतिबेला म तिमीलाई जुन काम सुम्पिरहेको छु, त्यसलाई पूर्ण गर । यतिबेला प्राणको मोहलाई त्याग गरेर युद्धभूमिमा निर्भय भई विचरण गर । बाबु, हेर, अर्जुन तिम्रो गुरु हुन् र श्रीकृष्ण तिम्रो र अर्जुन दुवैको पनि गुरु हुन् । यस कारणले पनि म तिमीलाई त्यहाँ जान आदेश गर्दैछु । तिमी मेरो अवज्ञा नगरिदिनु, किनकि म तिम्रो गुरुको पनि गुरु हुँ र यसमा म, श्रीकृष्ण र अर्जुनको पनि एउटै राय छ । त्यसैले मेरो आज्ञाको पालन गर्दै अर्जुनको समीप जाऊ ।

धर्मराजको यस प्रेमयुक्त, मधुर, समयोचित र युक्तियुक्त कुरा सुनेर सात्यकिले भने– राजन्, तपाईंले अर्जुनको सहायताको लागि जुन न्याययुक्त कुरा भन्नुभयो, त्यो मैले सुनें । अर्जुनको लागि मलाई आफ्नो प्राण बचाउने अलिकति पनि लोभ छैन र तपाईंको आज्ञा भएपछि त यस सङ्ग्राम भूमिमा यस्तो कुन काम हुन सक्दछ, जसलाई मैले गर्न नसकूँ ? आज यस दुर्योधनको सेनासित मैले चारैतिरबाट युद्ध गरेर परास्त गरिदिनेछु । म कुशलपूर्वक अर्जुनको छेउमा पुगिहाल्नेछु र जयद्रथको वध भएपछि पुनः तपाईंको समीपमा आइपुग्नेछु तर मतिमान्, अर्जुन र श्रीकृष्णले मसित जुन कुरा भनेका छन्, त्यो पनि अवश्य तपाईंको सेवामा निवेदन गर्न चाहन्छु।

अर्जुनले सम्पूर्ण सेनाको बीचमा श्रीकृष्णको सामु नै धेरै जोड दिएर भनेका थिए कि जयद्रथलाई मारेर न फकुन्र्जेलसम्म तिमी बडो सावधानीपूर्वक महाराजको रक्षा गर्नु । म तिमी र महारथी प्रद्युम्नमाथि नै महाराजको रक्षाको भार सुम्पेर निश्चिन्तिताबाट जयद्रथको छेउमा जान सक्दछु । तिमीले गुरु द्रोणाचार्यलाई जानेकै छौ । उनी कौरवपक्षका सबै वीरभन्दा श्रेष्ठ छन् । उनले धर्मराजलाई समात्ने प्रतिज्ञा गरिसकेका छन्, अतः उनी यसै ताकमा छन् र उनलाई समात्न सक्ने सामथ्र्य उनमा छँदैछ, तर सम्झिराख्नु यदि कुनै प्रकारले सत्यवादी युधिष्ठिर उनको फेला परिहाले भने हामी सबैलाई पुनः वनवासमा जानुपर्नेछ ।

त्यसैले आज तिमी विजय, कीर्ति र मेरो प्रसन्नताको लागि सङ्ग्राम भूमिमा महाराजको रक्षा गरिराख्नु । राजन्, यस प्रकार सव्यसाची पार्थले द्रोणाचार्यसित सधैं सशंक रहने भएको हुनाले तपाईंको रक्षाको भार मलाई सुम्पेका थिए । मलाई पनि सङ्ग्राम भूमिमा उनको सामना गर्ने प्रद्युम्नबाहेक अर्को कोही पनि देखा परिरहेको छैन । यदि आज कुष्णकुमार प्रद्युम्नजी यहाँ भएको भए म उनलाई तपाईंको रक्षाको भार सुम्पिदिन्थें र उनी अर्जुनकै समान तपाईंको रक्षा गर्न सक्थे, अब यदि म यहाँबाट गइहाले भने तपाईंको रक्षा कसले गर्नेछ । क्रमशः …

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here