लभ इन वीरगंज

0

सुशीला ः गई तिम्री एकलौटी छोरी साथीहरूसित शहीद स्मारक घुम्न ।
इमानसिंह ः ए हो र ? अँ भाँडा राखेर चिया पका त खाउँ ।
सुशीला ः हे भगवान ! एक गिलास चिया खानु पनि घरमैं आउनुपर्छ ? एक गिलास चिया जाबो त जोसुकैले पनि खुवाउँछ है हवल्दार मान्छेलाई ।
इमानसिंह ः ज्यादा कुरा न गरी पका । बाहिरको चियामा तेरो हातको स्वाद पाइँदैन ।
सुशीला ः भो भो फुर्काउनुपर्दैन ।
सुशीला गनगनिंदै उठ्छे र चिया पकाउन भान्सा कोठामा छिर्छे ।

०००

समय ः मध्याह्न । स्थान ः पथलैया–हेटौंडा सडकखण्डस्थित ३ नम्बर पुलको रेस्टुरेन्ट । (उषा र बाइकवाला प्रीतम) आमनेसामने बसेर चीसो पिउँदै परिचय आदानप्रदान गर्दैछन् ।
प्रीतम ः बाई दी वे, परिचय गरौं न है ? म प्रीतम ।
उषा ः म उषा ।
प्रीतम ः परिवारमा को को हुनुहुन्छ ?
उषा ः ममी, बा र म ।
प्रीतम ः अनि कुन स्कूल पढ्दै हुनुहुन्छ उषाजी ?
उषा ः कुन स्कूल ? हाहाहा … म ? (हाँस्छे)

प्रीतम ः किन हाँसेकी ?
उषा ः मलाई स्कूल पढ्ने फुच्ची जस्तो देख्नु‘भो ? म त बिबिएस थर्ड इअरमा पढछु ।
प्रीतम ः (हाँस्दै) ओह ! सरी, म त भर्खर एसएलसी दिने फुच्ची पो भनेको । नरिसाउनोस् है । देखिंदैन त क्याम्पस पढ्ने जस्ती । आइ मिन् मैले त उषाजीलाई १६/१७ की पो ठानिरहेको थिएँ।
उषा ः (मनमनै गदगद हुँदै) सबैजना झुक्किन्छन् । प्रीतमजी पनि झुक्किनु‘भो । होइन त ? अब उठौं । (कुर्सीबाट उठ्दै)
प्रीतम ः गइहाल्ने हो त ?
उषा ः साथीहरूले पर्खिरहेका होलान् ।

प्रीतम ः ठीकै छ, जाऔं न त ।
प्रीतमले बाइक स्टार्ट गर्छ र प्रस्थान गर्छ । प्रीतमले बाइक तीव्र गतिमा हाँक्न थालेपछि उषाले प्रीतमलाई पछाडिबाट दुवै हातले कम्मरमा बलियो गरी समात्छे । हावाको गतिमा गुडेको बाइक केही क्षणमा नै चुरियामाई, रातोमाटे, एजआइडी, कर्रा पुल हुँदै हेटौंडा मेनरोडमा पुगेर एउटा फेरि रेस्टुरेन्टअगाडि घ्याच्च रोकिन्छ ।

उषा ः (पसिनाले लतपत उषाले लामो–लामो श्वास लिंदै प्रीतमतिर लजालु नजरले हेर्छे अनि)
किन … ? रोक्नु‘भाको फेरि ? लेट भइसक्यो । साथीहरू पुगेर पर्खिरहेका होलान् ।
प्रीतम ः भोक लाग्यो के । अब त आइपुगिहाल्यो नि । नास्ता गरौं अनि जाउँला । चाउमिन, मोमो के खाने ?
उषा ः म त चिकेन मोमो खाने ।
प्रीतम ः अनि, अरू के मगाउँ ?
उषा ः कोक ।
नजीकैको उभेको ठिटोलाई अर्डर दिन्छ ।
प्रीतम ः दुई ठाउँमा डबल चिकेन मोमो र दुईवटा कोक ल्याऊ ।
अनि उषाजी, बाबा चाहिं के गर्नुहुन्छ ?
उषा ः बाबा, पुलिसको हवल्दार ।
प्रीतम ः (तर्से जस्तो भावभङ्गीमा)
ए … ! हो र ?
यतिन्जेल दुवैले नास्ता गरिसकेका छन् । प्रीतमले खल्तीबाट फेरि चुरोट झिकेर सल्काउँछ ।
उषा ः छि १ यो प्रीतम दाइलाई चुरोट कति तान्नुपरेको । प्रीतम ः उषाजी, हामी साथी बन्न सक्तैनौं र ?

उषा ः (केही क्षण सोचेर) सकिन्छ ।
प्रीतम ः त्यसो भए मलाई दाइ होइन, प्रीतम भने भइहाल्छ नि ।
यत्ति नै बेला प्रीतमलाई घरबाट पत्नी रीताले फोन गर्छे ।
रीता ः (मोबाइलमा) स्मृतिको बाबा, तिमी अहिले कता ?
प्रीतम ः (पत्नीचाहिंको नम्बर देख्ना साथै उषादेखि केही टाढा गएर सानो स्वरमा) हेलो रीता, म बाटोमा छु । हेर न, आउँदाआउँदै बाइक पन्चर भएकोले बनाउँदै छु । किन के भो ?
रीता ः (मोबाइलमा) छोरीलाई फेरि ज्वरोले च्यापेको छ । अस्पताल लग्नुपर्ला जस्तो छ । खै, के गर्ने होला ?
प्रीतम ः ल ल म बाइक बनेपछि सीधैं घर आउँछु । त्यतिन्जेल मेडिकल लगेर देखाऊ । म पनि आइपुग्छु ।
(फोन काट्छ र उषातिर हेरेर मुसुक्क हाँस्दै) मामा–माइज्यू आएका छन् रे । छिट्टो घर आउनु भन्दै छे बहिनीले । अँ साँच्चै, उषाजी तपाईंको मोबाइल नम्बर पाउँ न । यसो कहिलेकाहीं वीरगंज आउँदा भेट्न सजिलो हुन्छ । हुन्न त ?

उषा ः (हिच्किचाउँदै) किन चाहियो र नम्बर ?
प्रीतम ः नम्बर दिंदैमा के फरक पर्छ र ? साथी भएपछि विश्वास पनि त गर्नुपर्छ ।
उषा ः तपाईं म्यारिड कि अनम्यारिड प्रीतमजी ?
प्रीतम ः म ? (हाँस्दै) किन, म बिहे गरेको जस्तो देख्छु र ?
उषा ः तैपनि सोधेको । कतिपय केटा त बिहे गरेर पनि गरेको छुइनँ भनेर ढाँट्छन् । अनि यतिन्जेल बिहे किन नगर्नुभएको त ?
प्रीतम ः खै, आफू सुहाउँदो राम्री, पढेलेखेकी केटी भेटिएन, नत्र गर्नुहुन्थ्यो ।
उषा ः अनि के गर्नुहुन्छ ? आइ मिन् के जब गर्नुहुन्छ ?
प्रीतम ः म ? म जब होइन, ठेक्कापट्टा गर्छु । आफ्नै क्रसर उद्योग पनि छ ।
उषा ः ए हो र ? अनि घर परिवारमा को को हुनुहुन्छ त ?

क्रमशः

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here