सामाचकवाको कथानक

0

सञ्जय मित्र

कात्तिक महीनाको शुक्ल पक्षको द्वितीय तिथिदेखि पूर्णिमासम्म हिन्दू मधेसी समुदायका छोरी–बहिनीहरूको रात्रीकालीन उत्सव हो सामाचकवा। यसलाई लोक गीतिनाटक वा लोकसम्पदाको रूपमा लिइन्छ।

हुन त पहिले जुन उत्साहपूर्ण सहभागिता समाचकवामा हुन्थ्यो, त्यसको एउटा अंश पनि अहिले पाउन मुश्किल छ, यद्यपि ग्राम्य जीवनमा यसको अवशेष अद्यापि छ। यसले आफ्नो अस्तित्व बचाइराख्न सकेको छ। कहिलेसम्म यो ग्राम्य सम्पदाको रूपमा रहिरहन्छ, भविष्यले मात्र बताउला।

यस उत्सवको उद्भवको सम्बन्धमा अनेक किंवदन्ती र अनुमानहरू रहेका छन्। तर महाभारतसित यसको सम्बन्ध रहेको यसको कथानक तथा पात्रले गर्दा स्पष्ट हुन्छ।

सामाचकवा, सामा र चकवा दुई शब्दको संयोग हो। सामा नायिका हो भने चकवा नायक हो। ग्राम्य जीवनमा चखेवा–चखेवी चराको रूपमा पनि यसलाई लिइन्छ। अनि खिडरिच चरोलाई बहिनीको रूपमा मानिन्छ।

वृन्दावनका यदुवंशी राजा कृष्णकी पत्नी जाम्बवतीकी पुत्री हुन् सामा। सामा यस लोकनाटककी नायिका हुन्। राजदरबारकी राजकुमारी सामाको लालनपालन वृन्दावनके ऋषि आश्रममा भएको पाइन्छ। त्यहाँ सामाको सखा वा मित्र हुन्छन् चारू। चारूको अर्को नाम चकवा हो। सबैले चारूलाई चकवा भनेर सम्बोधन गर्दछन्। सामाका दाजु हुन् साम्ब।

सामा निकै सुन्दरी अर्थात् रूपवती हुन्छिन्। घरनजीकै ऋषि आश्रम छ। ऋषि आश्रममा बिहान, बेलुकी, दिउँसो र रात्रिमा पनि सामा गइरहन्छिन्। यसले गर्दा सामा र चारूको बाल्यकाल वृन्दावनका ऋषिको आश्रममा, महलमा, कदमको छFँयामा, फूलबारीमा खेल्दै बित्छ। बिस्तारै बित्दै गएको समयसँगै सामा र चारूमा शारीरिक परिवर्तन आउँछ। बाल्यकालको बालसुलभ प्रेममा गहिराइ मिसिन्छ।

चारू यदुवंशी हुन्। स्वभावैले चारू योद्धा पनि हुन्। उनमा वीरता र शौर्य छ। त्यस बेलाको एउटा चलन के पनि थियो भने जुन योद्धाले सफलतापूर्वक आफ्नो बहादुरी प्रदर्शन गरेर स्वयंवरमा सबैको मन जित्न वा शर्त पूरा गर्न सक्थ्यो, राजकन्याको गलामा माला पहिरिन पाउँथे। एकातिर सामा रूपवती र गुणवती थिइन् भने अर्कोतिर चारू सुगठित शरीरधारी शौर्यवान् तथा वीर थिए।

सामालाई भित्रभित्रै मन पराउने पात्र चूडक हो। चूडक सामालाई मन पराउने तर चारूलाई देख्न नचाहने पात्र हो। चारू त्यस बखत कृष्णको दाहिने हातको रूपमा काम गर्दथे। यसले गर्दा राजकाजमा उनको अहम् भूमिका थियो। जसलाई चूडक मन पराउँदैनथ्यो, उसलाई अनेक बहानामा सजाय दिलाउँथ्यो वा दिन्थ्यो।

एक दिन चूडकले मौका पारेर सामाको हात समात्छ। चूडकको नियत सामाले बुझेकी छिन्। चूडकको गालामा सामाले थप्पड दिन्छिन्। झापड खाएर अपमानित चूडक कृष्णसित सामाविरुद्ध अनेक कुरा गर्दै चारूसित प्रेम सम्बन्ध रहेको पनि बताउँछ। चारू र सामाको पवित्र प्रेममा नुन–खुर्सानी मिसाएर कृष्णलाई सुनाउँदा पनि कृष्णमा खासै उत्तेजना आएन। उमेर पुगेका अविवाहित युवकयुवतीबिच स्वच्छ प्रेमका पक्षपाती कृष्ण आफैं थिए।

सामाकी आमा जाम्बवती आफ्नी छोरीको विवाह राजदरबारमा गर्ने प्रयास पनि गर्छिन् तर राजा कृष्णलाई सामा र चारूको पवित्र प्रेमको ज्ञान थियो। यसै कारण छोरीलाई कुनै राजमहलको महारानी नबनाएर चारूको हृदयेश्वरी बनाउने निर्णय लिन्छन्। अन्तमा निकै धुमधामले सामा र चारूको विवाह हुन्छ। विवाहपछि पनि ऋषि–मुनिको आश्रममा स्वतन्त्र भएर घुम्ने क्रम चलिरहन्छ।

यस्तैमा एक दिन सामा ऋषिको आश्रमतिर गइरहेको चूडकले देख्छ। दुष्ट स्वभावको चूडकले सामाबारे कृष्णलाई नराम्रो कुरा सुनाउँछ।

रिसाएर कृष्ण सामालाई घर छोडेर ऋषिमुनिको आश्रममा गएको आरोपमा चरो बन्ने श्राप दिन्छन्। आफ्ना पिताको श्रापले सामा चरो बन्छिन्। पिताको श्रापलाई सामाले अपमान मानिन् तर झूटो कुरो लगाउने चूडकलाई चरो बनिसकेकी सामाले श्राप दिइन्– जुन झूटो मुखले तिमीले पिताजीलाई कुरा लगायौ, त्यसै मुखमा आइमाईले आगो झोस्नेछन्।

सामाको वियोग उनका पतिले सहन सक्दैनन्। चरो बनेकी सामाको खोजमा विक्षिप्त भएर चारू चारैतिर डुलिरहन्छन्। विह्वल चारूको शारीरिक अवस्था अत्यन्त दयनीय बन्दै गएको देखेर नारदमुनिको मनमा दया उम्रन्छ। ऋषि नारदको सल्लाह अनुसार चारू भगवान् महादेवको कठोर तपस्या गर्छन्। महादेवलाई खुशी पारेर चारू आफू पनि सामासित भेट्न चरो बन्न पाउने वरदान प्राप्त गर्छन्। यसै चरोको नाम चकवा हो। पत्नी तथा बालप्रेमिका सामासित सुखपूर्वक विचरण गर्न थाल्छन्।

यो कुरो जब सामाका दाजु साम्बले थाहा पाउँछन्, उनी निकै दुःखी हुन्छन्। आफ्नी एकमात्र बहिनी सामा र बहिनीज्वाइँ चारू (चकवा)लाई चरोजुनीबाट मुक्त गराउन भजन, कीर्तन, प्रार्थना, तपस्या तथा स्तुतिगान गर्दछन्। साम्बको तपस्याले भगवान् विष्णु खुशी हुन्छन्। भगवान विष्णुले साम्बलाई स्वर्गको सिंहासनको लोभ दिन्छन् तर साम्ब स्वीकार गर्दैनन्। सामा र चकवालाई पहिलेको रूपमा प्राप्त गर्नु नै त्रिभुवनको राज्य प्राप्त गर्नु सरह हो भन्ने कुरा साम्बले भगवान् विष्णुलाई बताउँछन्। त्यसपछि भगवान् विष्णु भन्दछन् – कात्तिक शुक्लपक्षको द्वितीया तिथिमा प्रसन्नचित भएर वृन्दावनका महिलाहरूले सामा–चकवाको, तिम्रो र चूडक तथा वृन्दावन एवं सप्तर्षिको प्रतिरूप बनाएर, त्यसलाई अनेक रङमा रङ्गाएर बाँसको छैंटीमा धूपदीपसहित दहीचिउराको भोग लगाएर तथा मूर्तिहरूलाई टाउको राखी गीत गाउँदै पूरा गाउँ घुमाउनू। यो क्रम पूर्णिमाको रातसम्म चलाइराख्नू र पूर्णिमाको राति मिष्ठान एवं अन्य विभिन्न परिकारद्वारा भाइलाई सन्तुष्ट बनाउँदै सबैले चूडकलाई जलाउने परम्परा बसाल्नू। जब पृथ्वीमा सबै महिला यसरी गर्न थाल्छन् तब तिम्रो बहिनी र बहिनीज्वाइँ फेरि मानव रूप धारण गर्नेछन्।

साम्बले आफ्ना नगरका सबै महिला तथा दिदीबहिनीलाई भगवान् विष्णुले भनेजस्तै गर्न आग्रह गर्दछन्। महिलाहरूले त्यसै बेलादेखि यो परम्परा अँगाल्दै  आएका छन्। आशा छ एक दिन सामा र चारूको पुनर्मिलन मानवरूपमा हुनेछ।

बहिनीको लागि दाजुले गर्न सक्ने त्यागको अनुपम उदाहरणको रूपमा यस उत्सवलाई लिइन्छ।

लोप हुँदै गएको यस उत्सवको कालक्रम तथा स्थान विशेषमा मान्यता वा प्रचलनमा केही पार्थक्य पाइनु स्वाभाविक मान्न सकिन्छ। यस लोकगाथाको प्रशस्त पौराणिक आधार रहेको छ। यस लोकगाथा र यसलाई पूर्णता दिने काम वर्तमान पुस्ताले निर्वाह गर्नुपर्नेछ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here