याङ्गुन, २६ कात्तिक/एएफपी
म्यानमाको जुन्ता अदालतले शुक्रवार एक अमेरिकी पत्रकारलाई एघार वर्षको जेलसजाय सुनाएको छ। उनका वकीलहरूले गैरकानूनी सङ्गत, सेनाविरुद्ध उक्साउने र भिसा नियम उल्लङ्घन गरेकोलगायतका आरोपमा दोषी ठहर गर्दै उनलाई जेलसजायको फैसला सुनाएको जानकारी दिएका छन्।
सेनाले गत फेबु्रअरीमा ‘कू’ गरी सत्ता लिएपछि प्रेसलाई पनि नियन्त्रणमा लिएको छ। सैैन्य कूविरुद्ध प्रदर्शन र आलोचना गर्ने दर्जनौं पत्रकारलाई सैनिक सरकारले गिरफ्तार गरेको छ। स्थानीय अनुगमन समूहका अनुसार सैन्य कूको विरोधमा भएको प्रदर्शनको क्रममा १२ सयभन्दा बढी व्यक्तिहरू मारिएका थिए भने, हजारौं पक्राउ परेका थिए।
करीब एक वर्षदेखि स्थानीय ‘आउटलेट फ्रन्टियर म्यानमा’का लागि काम गरिरहेका ड्यानी फेन्स्टर आफ्नो परिवारलाई भेट्न देश छोड्न खोज्दा मे महीनामा पक्राउ परेका थिए। उनलाई अन्य नागरिकलाई उक्साउने, गैरकानूनीरूपमा भिसा नियम उल्लङ्घन गरेकोलगायतका आरोपमा एघार वर्षको जेलसजाय सुनाइएको उनका वकील थान जाव आङले एएफपीलाई जानकारी दिए।
उनको मुद्दा पुनरावेदन गर्ने कि नगर्ने भन्नेबारेमा निर्णय भइनसकेको ती वकीलले बताए। पक्राउ परेका पत्रकार फेन्स्टरलाई याङ्गुनको इनसेन जेलमा राखिएको छ। उनलाई देशद्रोह र आतङ्कवादको आरोप पनि लगाइएको छ। उनलाई आजीवन जेलसजाय दिन सक्ने पनि अनुमान गरिएको छ। फ्रन्टियर म्यानमाले प्रकाशित गरेको विज्ञप्तिमा अदालतको फैसलाबाट आफूहरू सबैजना निराश भएको र ड्यानीलाई रिहा गरिएको हेर्न चाहेको उल्लेख गरिएको छ। रासस