नयाँ दिल्ली, २३ कात्तिक/एएनआई
भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्या नौ महीनापछिकै सबभन्दा कम देखिएको छ। सरकारी अधिकारीहरूले मङ्गलवार दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा १० हजार १२६ जना मात्रै नयाँ सङ्क्रमित थपिएका हुन्।
यो सङ्ख्या भारतमा महामारी फैलिएको पछिल्लो २६६ दिनपछिकै सबैभन्दा कम भएको पनि सरकारी अधिकारीहरूले जनाएका छन्।
भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरूको सङ्ख्या तीन करोड ४३ लाख ७७ हजार ११३ पुगेको अधिकारीहरूले जनाएका छन्। कुल सङ्क्रमितमध्ये एक लाख ४० हजार ६३८ जना अहिले पनि सङ्क्रमित अवस्थामैं छन्। सङ्क्रमित अवस्थामैं रहेकाहरूको सङ्ख्या पनि दिन प्रतिदिन घट्दै गएको छ। दैनिक नयाँ सङ्क्रमितहरूको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त हुनेहरूको सङ्ख्या धेरै भएकोले सङ्क्रमित अवस्थामैं रहेकाहरूको सङ्ख्या घट्दै गएको हो।
पछिल्लो २४ घण्टामा ११ हजार ९८२ जना सङ्क्रमणमुक्त भएका छन्। योसँगै अहिलेसम्म सङ्क्रमणमुक्त हुनेहरूको कुल सङ्ख्या तीन करोड ३७ लाख ७५ हजार ८६ पुगेको छ। त्यसैगरी भारतमा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमित भएर चार लाख ६१ हजार ३८९ जनाको मृत्यु भएको छ। तीमध्ये ३३२ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको हो।
चीनमा कोरोनाविरुद्ध दुर्ई अर्ब ३३ करोड ८० लाख डोज खोप लगाइयो
बेइजिङ/सिन्ह्वा
चीनभर कोरोना भाइरसविरुद्ध दुर्ई अर्ब ३३ करोड ८० लाख डोज खोप लगाइएको यहाँको ‘नेशनल हेल्थ कमिशन’ले मङ्गलवार जानकारी दिएको छ। चीन विश्वको तुलनामा सबभन्दा बढी कोरोनाविरुद्ध खोप लगाउने देशको रूपमा परेको छ।
सन् २०१९ को डिसेम्बरदेखि चीनको हुबे प्रान्तको वुहान शहरबाट कोरोना भाइरसको महामारी शुरू भएको थियो। विश्वभरि सो बेलादेखि २५ करोड ११ लाखभन्दा बढी व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने ५० लाख ७३ हजारभन्दा बढी व्यक्तिको यसको सङ्क्रमणका कारण मृत्यु भएको छ।
यद्यपि २२ करोड ७४ लाख छ हजारभन्दा बढी व्यक्ति कोरोनामुक्त भएका छन्। रासस