२२ गते प्रतीकमा अनन्तकुमार लाल दासको लेख ‘पर्यावरणमा चाडपर्वको प्रभाव’ पढें। वास्तवमा जब गाउँकी गोरी शहरकी अप्सरा बन्छे अनि सबै उपद्रो शुरू हुन्छ। हाम्रा चाडपर्व पनि पहिले गाउँकी गोरी समान थिए, अहिले शहरकी अप्सरा बनेका छन्। के तपाईंले कहिले ध्यान दिनु भएको छ, गाउँले केटी जब डेली र खुरपी लिएर कुनै गोरेटो वा पहाडमा डोको बोकेर उकालो–ओरालो हिंड्छन् तब कति नैसर्गिक सौन्दर्य हुन्छ उसको ? त्यो सौन्दर्य शीतल, शान्तिदायक र मनमा अनिवर्चनीय आनन्द प्रदान गर्ने खालको हुन्छ। त्यसले आल्हाद, वैभवपूर्ण शुद्ध आकर्षण पैदा गर्छ। त्यस आकर्षणमा प्रदूषण होइन, एउटा विचित्रको उत्कण्ठा हुन्छ। त्यसविपरीत शहरकी अप्सरा बनावटी मेकअपमा वातावरणमा अमर्यादित चञ्चलता छर्दै हिंड्छन्। त्यो चञ्चलता कामोत्तेजक र विद्रप हुन्छ। त्यसले मनलाई प्रदूषित गर्छ। ठीक त्यस्तै हाम्रा चाडपर्वहरू पनि भएका छन्। केटाकेटी छँदा सरस्वती पूजामा मैले सरस्वतीको मूर्ति विसर्जन गरेको देखेको छैन। आज त्यो स्निग्ध सरस्वती पूजा शहरकी अप्सरा बनेको छ। प्रदूषण त शहरीकरणले भएको हो। दुर्गापूजा त गहवामाईको दर्शन र वीरगंजको मेलामा घुमाइबाहेक केही हुन्छ भन्ने मलाई थाहै थिएन। अब त चोकचोकमा दुर्गा शहरकी अप्सरा बनेर स्थापित हुन्छन्। प्रदूषण त हुन्छ नै। त्यस्तै छ गणेशपूजा। त्यो त पहिले केही पनि थिएन। बाल गङ्गाधर तिलकले त्यसलाई यसरी अप्सरा बनाइदिए कि त्यसले नदी, पोखरी त के मुम्बईको समुद्र नै प्रदूषित पार्ने गरेको छ। अरू त अरू अष्टजाम पनि शुद्धरूपमा आयोजना गरिंदैन। अब परिक्रमा गरेर होइन, लाउड स्पीकर प्रयोग गरेर छिमेकी गाउँसम्म ध्वनि प्रदूषण छर्छौं। होलीबारे केही भन्नु नै बेकार छ, जुन स्वयंमा उच्छृङ्खलता र अति स्वतन्त्रताको पर्व हो। गङ्गा गङ्गोत्रीबाट निस्कँदा त पवित्र नै हुन्छ। मलमूत्र मिसाउन थालेपछि त्यो कसरी पवित्र रहन सक्छ ? मतलब यो कि कुनै पनि पर्वको उद्गमरूप पवित्र नै थियो। त्यसमा आधुनिकताको विषाक्तता मिसिएपछि मात्र विद्रुप बनेको हो। त्यसको मूलतिर पर्कनु अपरिहार्य छ। जमीन पनि हाम्रो हो, घर पनि हाम्रो हो तर घडी हाम्रो होइन। घण्टाघरमा गडबडी भएको त्यही हो। कुनै पनि ग्लास्गो सम्मेलनले केही गर्न सक्दैन। कम्तिमा म त यही विचारको मान्छे हुँ ः गाँधी गाँधी, नथिंग बिसाइड गाँधी।

डा.शिवशङ्कर यादव, छपकैया वीरगंज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here