प्रस, वीरगंज, २२ कात्तिक/

जसपाका नेता जितेन्द्र सोनलले समाज नेतृत्वविहीन बनेपछि अफगानिस्तानजस्तै हाल हुने बताएका छन्। हरेक वर्षझैं परवानीपुरमा छठकोे अवसर पारी आयोजना भएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्।

प्रदेश २ को पूर्व भौतिक पूर्वाधार विकासमन्त्रीसमेत रहेका सोनलले समाजलाई नेतृत्वदायी दिशामा अगाडि बढाउन अपील गरे। उनले नेतृत्व गर्नेलाई नै समाजले सघाउने धारणा राखे।

ठाकुर राम बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख उमेश चौरसियाले आगामी दिनमा राजनीतिक दलहरूले समाजलाई तोडेर राजनीतिक गर्नुको साटो समाजलाई जोडेर लैजाने नेताको आवश्यकता भएको बताए। उनले नेता (लिडर) बन्न समाज पढ्ने (रिडर) बन्नुपर्ने आवश्यक रहेको पनि धारणा व्यक्त गरे।

अधिवक्ता रामचन्द्र सिंहले समाजलाई नवीन सोचका साथ अघि बढाउन सबै पार्टीले चाडबाड मनाउनु भनेको निकै खुशीको कुरा भएको बताए। जसपा बाराका अध्यक्ष सीताराम गुप्ताले चियापान कार्यक्रममा बारा, पर्साका विभिन्न राजनीतिक दलहरूलाई बोलाएर कार्यक्रम गर्नु मन्त्री सोनलको लागि निकै सराहनीय कार्य भएको जिकिर गरे।

नेकपा एमालेका प्रदेश २ कमिटी सदस्य रामपाल यादवले नेपालको विभिन्न क्रान्तिमा परवानीपुरको इतिहास कायम रहेकोले परवानीपुरमा राजनीतिक दलहरूबीच भाइचारा कहिल्यै कम नहुने धारणा राखे। माओवादी केन्द्रका नेता लालबहादुर पटेलले केही राजनीतिक दलका नेताहरूको स्वार्थको कारण वीरगंज चिनी कारखाना र कृषि औजार बन्द भएको र त्यसको सञ्चालनमा नेतृत्ववर्गले ध्यान दिनुपर्ने धारणा राखे। नेपाली काङ्ग्रेसका नेता शिवशङ्कर पटेलले पछिल्लो समय तराई–मधेसमा दाइजोको रकममा अस्वाभाविक बढोत्तरी भएको र छेका (टीकाटालो)को बहानामा पचासदेखि दुईसयजना केटीको घरमा एक दिन खानपिन गर्न जाने परिपाटी विकसित भएकोले यसबारे समाज सचेत भई यस्तो फिजुल खर्च निरूत्साहित गर्नुपर्ने सुझाव दिए। कार्यक्रममा सङ्घीय सांसद एवं पूर्वमन्त्री एकबाल मियाँ, परवानीपुर गापाका अध्यक्ष हरिनारायण साह, अधिवक्ता जितेन्द्रप्रसाद कुर्मी, अजय पटेल, अजय स्वर्णकार, वडाध्यक्ष मिश्री साहलगायतको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here