आन्तरिक तथा बाह्य पर्यटकहरूको पर्खाइमा पर्सा राष्ट्रिय निकुञ्ज

0

प्रस, निजगढ, २२ कात्तिक/

विश्वव्यापी महामारी कोरोनाले थलिएको संसारका थुप्रै मुलुकसँगै नेपालका अधिकांश क्षेत्र प्रभावित हुन पुग्यो। अहिले महामारीले सामान्य रूप लिएसँगै अन्य क्षेत्रका साथै पर्यटक नेपाल भित्रन थालेका छन्। यससँगै पर्सा राष्ट्रिय निकुञ्ज आन्तरिक तथा बाह्य पर्यटकहरूलाई घुमाउन आतुर छ। पर्सा वन्यजन्तु आरक्षबाट निकुञ्जमा परिणत भएसँगै यहा अन्य भौतिक संरचना निर्माणले गति लिइरहेको छ।

यहाँ पर्यटकीय सम्भावना प्रचुर रहेपनि वर्षौंसम्म आरक्ष रहँदा पर्यटकीय सम्भावना उजागर गर्न नसकिएको देखिएको छ। अब हामी सबै मिलेर यसको विकाससँगै पर्यटकका निम्ति उपयुक्त गन्तव्य बनाउनुपर्ने पर्सा राष्ट्रिय निकुञ्ज, आधाभार बाराका प्रमुख संरक्षण अधिकृत मनोजकुमार साहले बताए।

यसै निकुञ्जको क्षेत्रमा जोडिएको चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकहरूको आवागमन अत्यधिक छ। पर्सा निकुञ्जको विगतको रेर्कड हेर्दा वार्षिक बढीमा ५०० देखि ७०० सम्म पर्यटक आउने गरेको देखिएको छ। अब निकुञ्ज, पर्यटन होटल व्यवसायी, स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकार सबै मिलेर यसको प्रचारप्रसारमा लाग्नुपर्ने प्रमुख संरक्षण अधिकृत साहको भनाइ छ।

यसमा सञ्चारकर्मीहरूको सकारात्मक भूमिका रहने बताउँदै आवश्यकता अनुसार भौतिक संरचना निर्माणमा समेत निकुञ्जले जोड दिइरहेको उनले बताए।                     

यस निकुञ्जमा पर्यटकहरूका लागि ऐतिहासिक हलखोरिया दह, कामिनी दह, घाँसे मैदानलगायत दुई दर्जनभन्दा बढी रमणीय स्थान छन्। यहा संरक्षित गौरीगाई, बाघ, गैंडा, सालकलगायत वन्यजन्तु छन्। त्यसैगरी संरक्षित पक्षीहरूमा राज धनेश, कालो स्टर्क, सेतो स्टर्क, खर मुजुर, सानो खर मुजुर, सारस तथा अजिङ्गर, सुन गोहोरो छन्। यो निकुञ्ज रैथाने जङ्गली हात्तीको प्रमुख वासस्थान मानिन्छ।

उत्तरमा विश्वको कान्छो पहाड चुरे शृङ्खला, पूर्वमा निजगढ नगरपालिका, पश्चिममा चितवन राष्ट्रिय निकुञ्ज, दक्षिणमा पूर्व—पश्चिम राजमार्ग गरी यसको क्षेत्रफल हाल ६२७.३९ वर्ग किमि फैलिएको छ।

यस निकुञ्जको चुरे पहाडमा प्रसिद्ध महादेव मन्दिर पनि रहेको छ। जहाँ शिवरात्रि र साउन महीनाभर स्थानीय स्वदेशी तथा भारतीय दर्शनार्थीहरूको समेत भीड लाग्ने गरेको छ।

अब निकुञ्ज भित्रका वन्यजन्तु देखाउन भित्री मार्ग तयार गर्नुपर्ने, पर्यटक घुमाउन सकिने र उनीहरूका लागि सुरक्षित खान बस्नको व्यवस्थामा विगत भन्दा धेरै अघि बढिसकेको छ। अब बढीभन्दा बढी पर्यटकको आवागमनको पखाईमा होटल व्यवसायीहरू रहेको पर्यटन अभियन्ता एवं जीतपुर—सिमरा नगर उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष मोहन शर्माले बताए।

“हामीले अन्य पर्यटनसँगै औद्योगिक पर्यटनको विकासमा समेत जोड दिनुपर्छ”—उनले भने। पछिल्लोपटक पर्यटनलाई लक्षित गरी अमलेखगंजमा एक दर्जनभन्दा बढी होटल सञ्चालनमा आएका छन्।

गुरुयोजनासहित निकुञ्जको विकासमा निकुञ्ज, स्थानीय तह, प्रदेश सरकार, सङ्घीय सरकार र सरोकारवाला पक्ष एकजुट भई अघि बढ्न ढिलाइ गर्न नहुने पर्यटन विकासमा चासो राख्नेहरू बताउँछन्।

बारा, पर्सा, रौतहट, सर्लाही, मकवानपुरलगायत अन्य जिल्लाका विद्यालयहरूसँग समन्वय गरी विद्यार्थीहरूलाई पनि निकुञ्ज घुमाउन पहल गर्नुपर्ने देखिन्छ।

विगतभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन निकुञ्ज लागिपरेको छ। हात्तीको दरबन्दी सङ्ख्या पुरानै अवस्थामा छ। १० वटा हात्ती गस्तीलगायत पर्यटकलाई निकुञ्जमा घुमाउन प्रयोग हुँदै आएका छन्। बिहान र साँझ मात्र पर्यटक घुमाउन हात्ती उपलब्ध हुने भएपनि दिनभर यो उपलब्धता गराइनुपर्ने देखिन्छ।

आन्तरिक पर्यटकका रूपमा मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषालगायत जिल्ला हुन् भने बाह्य पर्यटकका लागि छिमेकी देशमध्ये भारत नजीक छ। आरक्षबाट निकुञ्जमा स्तरोन्नति भए पनि त्यस रूपमा प्रचार प्रसार नहुँदा निकुञ्ज ओझेलमा पर्दै आएको छ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here