प्रस, सेढवा २१ कात्तिक/
भूजलको सतह बढेका कारण अहिलेसम्म पानी जमेर किसानहरूले हिउँदे बाली रोप्न सकेका छैनन्।
ठोरी गाउँपालिका–५ स्थित क्षत्रीलाइन, छिरिङलाइन, जीराभवानी गापा–१ शान्तिनगरको सयौ बिघा जमीनमा पानी जमेको कारण हिउँदे बाली रोप्न नसकिएको किसानहरूले बताए। ठोरी गापा–५ गडुवालाइनका किसान बलराम कोर्माेचाका अनुसार अत्यधिक पानीका कारण चिस्यान बढेका हुँदा जोताइ गर्न नसकी तोरी र सुर्तीबालीलगायत रोप्न सकिएको छैन।
उच्च सतहमा भने पानीबाट दुःख नपाएको कारण खेती गर्न सो ठाउँमा पनि ढिला भएको उनले बताए। पानी जमेको कारण हिउँदे बाली लगाउन ढिला हुँदा उत्पादन घट्ने आशङ्काले किसानहरू चिन्तित छन्।
जीराभवानी गापा–१ शान्तिनगरका किसान चक्रबहादुर श्रेष्ठले भदै मन्सुली र सारो धान भित्र्याएको डेढ महीना बितिसक्दा पनि खेतको पानी नसुकेको बताए। पानीका कारण खेत जोताइ गर्न नसकिएको श्रेष्ठको भनाइ छ। गत वर्ष यो समयमा तोरी फुल्ने बेला भइसके पनि यसपटक त्यसो हुन सकेको छैन।
पटेर्वासुगौली गापा–१, २ र ३ को अवस्था पनि उस्तै छ। खेतमा पानी जमेको कारण यहाँका किसानहरूले पनि हिउँदे बाली लगाउन सकेका छैनन्। पटेर्वासुगौली गापा– १ का वडाध्यक्ष फरमान मियाँले आफ्नो वडाका खेतीयोग्य जमीनको ८० प्रतिशत जग्गामा पानी जमेको कारण नयाँ बाली रोप्न नसकेको र खेत बाझो भएको बताए। अत्यधिक चिस्यानका कारण किसानहरूले अहिलेसम्म आलुसमेत रोप्न नसकेको उनले बताए। सोही गापाको वडा नं ३ मा ५० प्रतिशत मात्र जग्गामा तोरी, मुसुरो, सुर्तीलगायत बाली लगाइएको छ र बाँकी ५० प्रतिशत जग्गा पानीकै कारण बाझो रहेको वडाध्यक्ष मियाँले बताए।