प्रस, वीरगंज, २१ कात्तिक/
दशैं, दीपावली सकिएलगत्तै वीरगंजमा छठपर्वको भीड बढेको छ। वीरगंज बजारमा छठका सामानहरू खरीद गर्न मानिसहरूको आइतवारदेखि नै भीड बढेको छ।
सोमवारदेखि छठ पर्व विधिवत् शुरू हुन्छ र बिहीवार बिहानीपखको सूर्यलाई अघ्र्य दिएर समाप्त हुन्छ। सोमवार नहाय खाने (शुद्ध खाने), मङ्गलवार दिनभरि निर्जल व्रत बसेर साँझ खीर–पुरी खाएर व्रत तोडिन्छ भने बुधवार दिनभर निर्जल व्रत बसी साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिने र पूजा गर्ने तथा बिहीवार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर पूजा गरी छठ पर्व सम्पन्न हुन्छ।
छठ पर्वमा नयाँ लुगा लगाउने चलन भएकोले बजारमा भीड बढेको छ। यसैगरी पूजन सामग्री खरीद गर्न पनि मानिसहरूको भीड बढ्दो छ। यसपटक महानगरले छठ सामग्रीहरूको बिक्रीका लागि विपी उद्यानमा व्यवस्था गरेको छ जसले गर्दा पहिलेदेखि लाग्ने माईस्थान, घण्टाघर सडकखण्डमा अन्य वर्षको तुलना यस वर्ष कम भीड छ। तर पनि व्यापारीहरूले फूटपाथमा छिटपुट सामान बिक्री गर्ने कार्य जारी राखेका छन्। नगरप्रहरी र प्रहरीले तोकेको ठाउँभन्दा बाहिर बिक्री गरेको सामग्री कब्जामा लिने कार्य पनि गरिरहेको छ।
छठमा नयाँ कपडा खरीद गर्नको लागि रक्सौलका मानिस वीरगंज आउँछन्। खासगरी जिन्सका कपडाहरू रक्सौलभन्दा वीरगंजमा सस्तो हुने भएकोले विपी उद्यान अगाडि रहेको फूटपाथे पसल, हड्ढङ बजारमा मानिसहरूको भीड बढेको हो। सवारी चापको कारण केही वर्षदेखि रक्सौलमा दशैं, दीपावली र छठमा मानिसहरू कपडा, सामान खरीद गर्ने क्रम पातलिएको छ।
गत वर्ष कोरोना सङ्क्रमण र यस वर्षपनि सोको पूर्ण असरबाट मानिसहरू मुक्त नभएकाले रक्सौल जाने क्रम पातलिएको हो। वीरगंजभन्दा लत्ताकपडा रक्सौलमा सस्तो भएकोले वीरगंजलगायत विभिन्न स्थानबाट मानिसहरू रक्सौल गएर सामान खरीद गर्दै आएका थिए। कोरोना सङ्क्रमणमा यो क्रममा केही कमी आएको छ।
प्रमोद यादव, पचगावाँ/
पर्सा जिल्लाको सीमावर्ती क्षेत्रको भारतीय बजारमा दशैं, दीपावलीसरह छठमा पनि सामान खरीद गर्नेहरूको भीड बढेको छ। मैनाटार, इनर्वा, सिक्टा, भेलाही बजारमा नेपालीहरूको भीड बढेको छ।
दशैंंदेखि नै नेपाली ग्राहक भारतीय बजारमा जाने हुनाले यसपटक भारतीय रुपियाँको सटही दर पनि बढेको छ। रु २ सम्म पुगेको सटही अहिले रु ५ देखि ६ सम्म लिने गरेको बताइएको छ। भारु एक सयको नेरु १६० दर भए पनि रु ५ थप गरेर व्यापारीहरूले बट्टा लिने गरेका छन्।
सखुवापरसौनी गाउँपालिका–५ महुवनका धु्रव यादवले नेपाली ग्राहकहरूसँग व्यापारीहरूले अनधिकृत बट्टा लिने गरेको बताए। आवश्यकताको सामान नेपाली बजारभन्दा भारतीय बजारमा सस्तो भएकोले नेपाली ग्राहकहरू त्यहाँ जाने, तर भारतीय व्यापारीहरूले मनपर्दो बट्टा काट्दा ठगिने गरेको उनले बताए।