सुक्खा बन्दरगाहमा पुनः आइपुग्यो टर्कीबाट ३ करोड मूल्य बराबरको पोस्तादाना

0

राधेश्याम पटेल, वीरगंज, २१ कात्तिक/

पोस्तादाना फेरि नेपाल आइपुगेको छ। टर्कीबाट विशाखापट्टनम हुँदै वीरगंजस्थित सिर्सिया सुक्खा बन्दरगाह सम्म रेलमार्गबाट आइपुगेको हो। कुबेर एक्जिम प्रालि काठमाडौंले आयात गरेको दोस्रो खेपको ५४ टन पोस्ता दाना वीरगंज आइपुगेको सिर्सिया सुक्खा बन्दरगाहका भन्सार अधिकृत उद्धव ढुङ्गानाले जानकारी दिए। उनका अनुसार ५ दिन अघि २० फुटे दुईवटा कन्टेनर आइपुगेको हो।

यस अघि कुबेरले भदौको पहिलो सातातिर आयात भएको एक खेप, ५४ टन पोस्ता दाना भन्सार कार्यालयबाट जाँचपास गराई लगिसकेको छ। अहिले आएको पोस्ता दाना किलोको ३.६ अमेरिकी डलर दरमा खरीद गरिएको हो। १२० डलरको भाउले जोडने हो भने करीब २ करोड ३३ लाख ३२ हजारको ५४ टन पोस्ता दाना वीरगंज आइपुगेको हो। तर आयातकर्ताले आवश्यक कागज पेश नगर्दा गोदाममैं होल्ड भएको र जाँचपास नभएको उनले जानकारी दिए।

हामीले कुन समान कति मात्रामा कसले ल्याउने, आयात गर्ने सामानको इजाजत कहिलेदेखि कहिलेसम्म हो, सबैको कागज मागेका छौं, आयातकर्ताले ल्याउँदै छौं भनेको छ, कागज आएपछि जाँचपास हुन्छ–उनले भने।

पोस्तादानामा १० प्रतिशत भन्सार महसुल र १३ प्रतिशत मात्र भ्याट लाग्छ। यसरी ५४ टनमा करीब ५३ लाख भन्सार लाग्ने देखिन्छ। त्यसपछि जहाजको ढुवानी, भन्सार दस्तुर तथा अन्य खर्च जोड्दा करीब किलोमा १२ देखि १५ रुपियाँ बढ्ने देखिन्छ। यसरी किलोमा साढे ५ सयको भाउमा वीरगंजसम्म आइपुग्ने पोस्तादाना नेपालमा बजारको माग र पसलेको भाउ अनुसार कारोबार हुने गर्दछ।

वीरगंजमा पोस्तादानाको भाउ २२ सय देखि २५ सयको हाराहारीमा रहेको वीरगंज आदर्शनगरको सिटीमार्टकी सञ्चालिका निशा श्रेष्ठ बताउँछिन्। त्यही पोस्तादाना भारत पुगेपछि किलोमा २–३ सय थप महँगोमा बिक्री हुन्छ। अर्थात् साढे ५ सयको सामान तस्करीबाट भारत पठाउँदा किलोमैं २ हजारभन्दा बढीको भाउ पाइने भएकोले नेपाली आयातकर्ता पोस्तादाना आयात गरी सीमा नाकाका व्यवसायीसँग साठगाँठ गरी तस्करीको माध्यमले भारत पठाउने गर्छन्। पोके तस्करबाट पोस्तादाना भारत पठाइन्छ। रक्सौलमा २४ सयदेखि ३ हजारसम्म बजारको माग अनुसार पोस्तादाना बिक्री हुने गरेको छ।

नेपालमा कहिलेकाहीं र अपवादको रूपमा भित्रिने पोस्तादानाको आयात अनुमति पूर्व उद्योगमन्त्री लेखराज भट्टको पालामा दिइएको थियो। मन्त्रीबाट हट्ने बेला उनले आसेपासेलाई आर्थिक प्रलोभनमा परेर गत आवको लागि २ हजार टन पोस्तादाना आयातको अनुमति दिएका थिए।

के हो पोस्तादाना ?

पोस्ता दाना भनेको अफिमको बिरूवामा लाग्ने दाना हो। तर अफिम नारकोटिक अर्थात् लागू पदार्थ भएजस्तो पोस्ता दाना फलअन्तर्गत लिइन्छ। प्रायः होटल, विवाह आदिमा गरिने भोजमा पकाइने तरकारी (करी आइटम)मा प्रयोग गरिने लदबद झोल पदार्थ (ग्रेभी) बनाउँदा मुख्यतया पोस्तादाना प्रयोग गरिन्छ। होटलमा पनीर बटर मसला, मटर पनीर, चिकन करी, मिक्स भेजकरी लगायत सबैजसो करी र झोलिलो आइटममा कूकले प्रयोग गर्ने ग्रेभीमा अधिकांश भाग पोस्तादानाकै हुन्छ। यसबाहेक नेपाली महिलाले सेल रोटी र अनरसामा पनि पोस्तादाना प्रयोग गर्दै आएका छन्।

पहिले यसरी भएको थियो पोस्ता दानामा अवरोध

नेपालमा यस अघि बहुदलको पुनः स्थापनापश्चात् शुरू भएको खुला बजार र उदारीकरणपछि नेपालले अपनाएको खुला आयात प्रणाली

(ओजिएल)अन्तर्गत २०४८ देखि २०५० सालसम्म व्यवसायीले प्रशस्त पोस्ता दाना पैठारी गरे। तर भारतले २०५० सालमा नेपाली व्यवसायीले ल्याएको त्यस बेलाको १५ करोड बराबरको पोस्तादाना नेपाल छिर्न नदिएर कोलकाता बन्दरगाहमैं सडाइदियो। त्यसबेला नेपाली व्यवसायीले कोलकाता हाईकोर्टमा मुद्दा लडेर जिते पनि बन्दरगाहले भने पोस्तादाना छाडेन।

यसपछि २०५५ मा फेरि पोस्ता दाना ल्याउने प्रयास भयो। यसपटक पनि भारतले करीब ५ करोड

बराबरको पोस्तादाना कोलकाताबाट नेपाल आउन दिएन। यसपछि २०६६ मा विराटनगरका शङ्करलाल अग्रवालले ल्याएको ७ करोड बराबरको पोस्तादाना पनि भारतले नेपाल छिर्न दिएन। यसरी यस अघि तीन पटकसम्म भारतले पोस्तादाना नेपाल छिर्न नदिनुको कारण उक्त मालवस्तु पाकिस्तानबाट ल्याइएको थियो। त्यसपछि पाकिस्तानबाट कहिल्यै पोस्तादाना मगाउने काम भएन। तर त्यस बेला कोलाकातास्थित भन्सार कार्यालयले पोस्तादाना नारकोटिक समूहमा परेको भन्दै रोक लगाएको समाचार सार्वजनिक गरेको थियो। यसपालि पनि टर्कीबाट आयात गर्ने पोस्तादानालाई भारत वा कोलकाता बन्दरगाहले रोक लगाउँँछ भन्ने सूचना पाएसँगै कुबेरले विशाखापट्टनमबाट सोझै वीरगंज मगाएको हो।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here