पर्यावरणमा चाडपर्वहरूको प्रभाव

0
  • अनन्तकुमार लाल दास

हाम्रो देश नेपाल विश्वकै एउटा अनौठो देश हो जहाँ कैयन प्रकारका संस्कृति छन्। नेपालमा मनाइने हरेक चाडपर्वको हाम्रो जीवनमा बेग्लै र विशेष महत्व छ। हामी जुनसुकै धर्म मान्ने भए तापनि सबै नेपाली भएकोमा गर्वको अनुभूति गर्छौं र सबैखाले चाडपर्वलाई एक आपसमा मिलेर हर्षोल्लासका साथ मनाउने गर्दछौं। यी सबैखाले धर्मका सम्बन्धमा महत्वपूर्ण कुरो के हो भने यसले गर्दा नै हामीलाई यति धेरै चाडपर्व मनाउने अवसर प्राप्त हुन्छ। प्रत्येक चाडपर्वको बेग्लै विशेषता र मनाउने तरीका हुन्छ। तर दुःखद वास्तविकता के हो भने हाम्रा कैयन चाडपर्व हावा, पानी, ध्वनि प्रदूषणजस्ता धेरै प्रकारका प्रदूषणहरूको कारण बन्दछ।

चाडपर्वले प्रतिदिनको व्यस्तताबाट नीरस हुँदै गइरहेको जीवनलाई सरस बनाउने काम गर्दछ। यस बेला सानादेखि ठूलासम्म सबै प्रसन्न र उत्साहले भरिएका हुन्छन्। यसले पहिलेदेखि चलिआएको परम्परा र संस्कृतिलाई भावी पुस्तालाई हस्तान्तरण गर्ने काम पनि गर्छ। चाडपर्व हाम्रो संस्कृतिलाई जीवित राख्ने कार्य पनि हो। सँगसँगै यी चाडपर्वले हाम्रो पर्यावरणलाई हानि पु–याउने काम पनि गर्दछन् किनभने प्रत्येक चाड खासखास तरीकाले मनाइन्छ र त्यसमा केही अन्य तरीकाहरू पनि सामेल हुन्छ। यसखाले विभिन्न तरीकाले हाम्रो संसाधनलाई बढी मात्रामा हानि पु–याउँछ। जस्तै पानीको स्रोत दूषित हुनु, त्यसमा पाइने जलचर प्रभावित हुनु, तेज ध्वनिले गर्दा तनावसम्बन्धी समस्या उत्पन्न हुनु। यसबाहेक चाडपर्वमा निस्कने अत्यधिक फोहरमैलाले पनि वातावरणलाई प्रभावित गर्दछ। आधुनिकीकरणले चाडपर्वको पनि व्यवसायीकरण गरिदिएको छ जसले गर्दा उपभोक्तावादले चाडपर्वको वास्तविक स्वरूप हरण भएको छ। यसले गर्दा पर्यावरणमा हुने प्रदूषणको मात्रा दिनानुदिन बढ्दै गएको छ। सही भन्ने हो भने प्रकृतिका सबै पक्ष चाडपर्वबाट प्रभावित हुने गरेको छ।

चाडपर्वका कारण हुने प्रदूषणहरू

१) वायु प्रदूषण ः भर्खरै सकिएको तिहार देशमा वायु प्रदूषण बढाउने एउटा प्रमुख कारण हो। तिहारको दिन देशभरि र खासगरी तराईमा धेरै पटका जलाइन्छ। तिहारको पहिलो दिनदेखि नै पटका जलाइने चलनले गर्दा वायु प्रदूषणको स्तरमा वृद्धि हुन्छ। यसबाहेक अन्य चाडपर्वमा पनि आतिशबाजी गर्ने चलन छ। नेपाल सरकारले पटकामाथि लगाएको प्रतिबन्ध र पटका भित्र्याउँदा समातेर जब्त गर्दा पनि खुला सीमाका कारण पटका भित्रने क्रममा पूर्णतया रोक लगाउन सकेको छैन। आधुनिकताले गर्दा सदरमुकाम वा शहरको वायुको गुणस्तर पहिलेदेखि नै खतराको स्तर सम्म पुग्न लागेको बेला तिहार र अन्य चाडपर्वमा जलाइने पटकाले यसमा वृद्धि नै गर्दछ। चाडपर्वको बेला वायु प्रदूषणको अर्को कारण सडकमा बढी मात्रामा वाहन दगुर्नु पनि हो। यस बेला मानिसहरू आआफ्ना सम्बन्धी र इष्टमित्रलाई भेट्न पनि जान्छन्। यसो गर्नको लागि उनीहरू आफ्नो वाहन वा अन्य वाहनको प्रयोग गर्ने गर्छन् जसबाट वायु प्रदूषणको मात्रामा वृद्धि हुन्छ।

२) जल प्रदूषण ः चाडपर्वको बेला जल प्रदूषणको प्रमुख कारण नदी वा पोखरीमा मूर्ति विसर्जन र पूजामा भक्ति देखाउनको लागि विभिन्न पदार्थ पानीमा विसर्जन गर्नु हो। भगवानको रूपमा सम्मानस्वरूप स्थापित गरिएको मूर्ति पानीमा विसर्जन गर्दा जल प्रदूषणको मात्रामा वृद्धि हुन्छ भने अर्कोतर्फ जलीय जीवनलाई पनि धेरै हानि पु–याउँछ। उदाहरणका लागि गणेश चतुर्थी, सरस्वती पूजा र दुर्गा पूजा सकिएपछि धुमधामका साथ प्रतिमालाई नदी वा पोखरीमा विसर्जन गरिन्छ। यी देवी–देउताको प्रतिमा आकर्षक बनाउन विभिन्न हानिकारक सिन्थेटिक रङ्ग लगाइन्छ जसले पानीको सतहमा एउटा तह बनाउँछ जसले पानीमा अक्सीजनको प्रवाह अवरुद्ध हुन्छ। यसबाट जलीय जीवनमाथि गम्भीर सङ्कट उत्पन्न हुन्छ। यसैगरी जल प्रदूषणको अर्को कारण चाडपर्वमा धेरै श्रद्धालुद्वारा त्यहाँ नुहाउनु हो। धेरै मानिस जुन नदीमा नुहाउँछन् त्यसले नदीलाई प्रदूषित गर्छ। यसैगरी छठ पूजामा विभिन्न प्रकारका सामग्री पानीमा बगाइन्छ। हिजो आज छठी मैयाको प्रतिमा पनि कहीं–कहीं बनाइएको हुन्छ जो अर्कोदिन त्यसै नदी वा पोखरीमा विसर्जन गरिन्छ। यी सबैले जल प्रदूषणलाई बढाउने काम गर्छ।

३) ध्वनि प्रदूषण ः तीव्र ध्वनि वा कोलाहलले हाम्रो सुन्ने क्षमतामा –हास ल्याउनुका साथै गम्भीर शारीरिक रोगको कारण पनि बन्न पुग्छ। चाडपर्वको बेला भारी मात्रामा प्रयोग गरिने लाउडस्पीकर र ठूल्ठूला साउन्ड बक्स ध्वनि प्रदूषणको प्रमुख कारण हो। चाडपर्वको बेला तीव्र गतिमा गीत वा प्रवचन बजाइन्छ त्यो स्वास्थ्यको लागि खतरनाक हुन्छ। अन्य चाडपर्वको बेला पनि जुन कार्य गरिन्छ त्यसले पनि बढी मात्रामा ध्वनि प्रदूषण उत्पन्न गर्दछ। नेपाल धर्मनिरपेक्ष राष्ट्र भएकोले पनि यहाँ सबै धर्मलाई समान अवसर प्रदान गरिएको छ। प्रत्येक धर्मका आआफ्ना संस्थापक वा गुरु छन्। उनीहरूको जन्म दिवस वा उनका नाउँमा गरिने धार्मिक कार्यक्रम, कैयन प्रकारका सत्सङ्ग, प्रार्थना वा समारोहको आयोजन गरिन्छ। यस्ता कार्यक्रमहरूमा पनि तीव्र ध्वनि उत्पन्न गर्ने लाउडस्पीकर प्रयोग गरिन्छ जसले ध्वनि प्रदूषण बढाउने काम गर्दछ।

यसबाहेक हिन्दूहरूको फागुमा रङ्ग र अबीर खेलिन्छ त्यसमा सबैभन्दा बढी पानीको बर्बादी हुन्छ। एउटा तथ्याङ्कले सन् २०६० पछि पानीको लागि युद्ध हुने सङ्केत गरेको छ। हिजोआज हरेक चाडपर्वको व्यवसायीकरण भएको हुनाले फागु पनि पानीको बर्बादी, कोलाहल र रासायनिक तथा विषाक्त तत्व एक अर्कामाथि फ्याँक्नुभन्दा बढी केही हैन। प्राकृतिक रङ्गको ठाउँमा अब रासायनिक रङ्ग प्रयोग हुन थालेको छ। यसबाट भूमि प्रदूषणमा वृद्धि हुन्छ। प्रदूषणको गम्भीर असर पर्यावरण सँगसँगै मानिसमाथि पनि पर्दछ। मानिसलाई खोकी, हलुका ज्वरो, टाउको दुख्ने, घाँटी खसखसाउने, अस्थमाका रोगीहरूको समस्या वृद्धि हुने, आँखा पोल्ने, नाक र आँखाबाट पानी बग्ने, श्वास–प्रश्वासमा गा–हो हुने जस्ता समस्याको सामना गर्नुपर्ने हुन्छ। कोभिड–१९ को अन्त नभएकोले चाडपर्वको बेला लगायत जुनसुकै बेला घर बाहिर निस्कँदा मास्क लगाएर निस्कने सल्लाह डाक्टरहरूले दिएका छन्। 

चाडपर्व खुशी साटासाट गर्ने समय हो। हामीलाई एक सूत्रमा गाँस्ने बन्धन हो। यसले हाम्रो जीवनमा खुशी र उमङ्ग लिएर आउँछ। यो मानिसमा एकता र सम्प्रभुता लिएर आउँछ। एकातिर जहाँ यो खुशीको कारण हो त्यहीं अर्कोतिर यसले पर्यावरणलाई प्रदूषित गर्ने कार्य पनि गरिरहेको छ। जे भए पनि हामी चाडपर्व मनाउन बन्द गर्न सक्दैनौं तर यदि हामी चाहन्छौं भने केही सरल उपाय अँगालेर प्रदूषणको स्तर कम अवश्य गर्न सक्छौं। यस्ता उपाय सजिलै प्रयोग गर्न सकिन्छ। हामी सबै, देशका जिम्मेवार नागरिक हौं। प्राकृतिक संसाधन हाम्रो सम्पत्ति र धरोहर हो। प्रकृति जोगाउन सरकार र नागरिक दुवैले पर्यावरण रक्षाको लागि स्वस्फूर्त पाइला चाल्नुपर्छ। प्रकृतिलाई प्रदूषित गर्नुको साटो चाडपर्व प्रकृतिको सुन्दरता बढाउने कारण हुनुपर्छ। यसर्थ हामी सबैले चाडपर्वलाई पर्यावरण प्रदूषित पार्ने होइन, त्यसको सौन्दर्य बढाउनको लागि मनाउनुपर्छ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here